बागलुङ– पश्चिम तमानखोला गाउँपालिका भौगोलिक हिसाबले विकट छ। त्यस क्षेत्रमा गएर जनतालाई सेवा दिनका लागि कर्मचारी र स्वास्थ्यकर्मीलाई निकै कठिन छ। तर यही विकट क्षेत्रमा केही राष्ट्रसेवक भने गाउँलेको प्यारो बनेका छन्।
बोङ्गादोभान स्वास्थ्य चौकीका अहेब राजनकुमार थापाले तमानखोला गाउँपालिकामा स्वास्थ्य सेवा दिँदै आएको चार पुगेको छ। काम गरेर धेरै गाउँलेको प्यारो बनेका छन् उनी। त्यहाँका स्थानीय उनलाई भगवान् झैं मान्छन्।
अहेब थापा गाउँका हरेक समुदायका व्यक्तिसँग उत्तिकै घुलमिल गर्छन्। पदले अहेब भए पनि उनले धेरै किसिमका तालिम लिएका छन्। नेपालगञ्जमा स्थायी घर भएका थापाले लामो समयसम्म स्वास्थ्य संस्थाको प्रमुखको रुपमा नै काम गरे।
सरकारी सेवामा प्रवेश गर्नुभन्दा पहिलेदेखिकै अनुभव छ उनमा। परिआएको खन्डमा जस्तोसुकै काम पनि आँट्ने थापालाई गाउँका मानिसहरु ‘डाक्टर साब’ भनेर बोलाउँछन्।
२०७१ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थापा अहिले तमानखोलाबासीको मन मनमा छाएका छन। गाउँमा कोही बिरामी भयो भने उनलाई नै बोलाउँछन्। कार्यालय समय बाहेक उनले घरमै गएर पनि आवश्यक उपचार र सहयोग गर्दै आएका छन्।
आफूले सकेको उपचार गाउँमै गर्ने थापा जटिल समस्या भएका बिरामीलाई तुरुन्त अन्यत्र जान सल्लाह दिन्छन्। बिरामीसँग उपचार गर्ने पैसा छैन भने थापा आफैंले सहयोग गरेर अन्य अस्पतालमा पठाउने व्यवस्था गरिदिन्छन्। खोप क्लिनिक र गाउँघर क्लिनिक सञ्चालनका लागि घन्टौं हिंडेर गाउँगाउँसम्म पुग्छन् अहेब थापा।
‘डाक्टर साब त हाम्रा लागि भगवान् नै हो’, स्वास्थ्य संस्थामा जाँच गर्न आएका सेवाग्राही तोपमाया घर्तीले भनिन्, ‘हामी स्वास्थ्य चौकी आउनेबित्तिकै के भएर आउनुभयो, कस्तो छ भन्दै सोध्नुहुन्छ। उहाँको सेवाले गाउँका कति बिरामीको अकालमा ज्यान जानबाट जोगिएको छ।’ नजिकै स्वास्थ्य चौकी र असल डाक्टरसाब हुँदा धेरै सजिलो भएको उनले बताइन्।
पछिल्लो समयमा बोङ्गादोभानमा स्वास्थ्यका हरेक सूचकमा पनि सुधार आएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए। ‘यस क्षेत्र स्वास्थ्य–शिक्षामा निकै कमजोर थियो,’ बुढाले भने, ‘राजन सरले समुदायमा गएर स्वास्थ्य शिक्षा दिँदै आउनुभएको छ। यहाँका स्थानीयले सरसफाइ र खानपानमा ध्यान दिन थालेका छन्। गाउँलेहरु सामान्य रुघाखोकी लागे पनि अहिले स्वास्थ्य संस्थामा आउने परिपाटी बढेको छ।’
सेवा लिन जाँदा नङ काट्नैपर्ने
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र ल्याब पनि सञ्चालन गरिएको छ। संस्थामा कार्यरत अन्य कर्मचारी पनि निकै उत्साहित भएर सेवामा खटिइरहेका हुन्छन्। स्वास्थ्य चौकीकी अनमी गायत्री राम्जाली भन्छिन्, ‘अहेब थापा अरु साथीहरुलाई हौसला दिनुहुन्छ। जनतालाई सेवा दिने हाम्रो दायित्व हो भन्ने भावना छ राजन सरमा।’ थापाको हौसला र प्रेरणाले आफूहरुलाई पनि काम गर्न सहज भएको राम्जालीले बताइन्।
स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिनुपहिले हातको नङ हेर्ने गरिन्छ। जसले नङ काटेको छैन, उसलाई पहिले नङ काट्न लगाएर मात्र नाम दर्ता गर्ने स्वास्थ्य संस्थाको नियम छ। ‘स्वस्थ्य हुनका लागि आफू स्वच्छ हुनु जरुरी छ, त्यसैले हामीले यो अभियान चलाएका छौं,’ अहेब थापाले भने, ‘पहिलेको तुलनामा स्वास्थ्य संस्थामा जाँच गर्न आउनेको संख्यामा बृद्धि भएको छ। समयमै स्वास्थ्य संस्थामा आउँदा जटिल खालका केस भए रेफर गर्न पनि सजिलो हुन्छ।’
थापाले स्वास्थ्य संस्थाको कामको अलावा समयसमयमा हुने परिवार नियोजनका शिविरहरुमा पनि सघाउँदै आएका छन्। त्यस क्षेत्रमा इम्प्लान्ट राख्ने काम पनि थापाले नै गर्ने गर्छन्। ‘गाउँमा सेवा दिने स्वास्थ्यकर्मीले विभिन्न कठिनाइ झेल्नुपरेको थापाले बताए। ‘कतिपय ठाउँमा बसोबासको व्यवस्था छैन भने कतै उपकरण अभाव छ।’
तमानखोलालाई स्वच्छ र समृद्ध बनाउने लक्ष्यमा आफूहरु रहेको थापाको भनाइ छ। ‘गाउँपालिकाले नीति बनाइदियो भने स्वास्थ्य संस्थामा नै फार्मेसी स्थापना गर्ने हाम्रो सोच छ,’ उनले भने, यो क्षेत्रमा ल्याबको खाँचो थियो, गाउँपालिकासँग अनुरोध गरेर ल्याब स्थापना गरेका छौं। अब सामान्य रगत, पिसाब जाँच गर्न बुर्तिबाङ धाइरहनुपर्दैन।’