काठमाडौं– प्रशासनिक संरचनाको हिसाबले देश संघीयताको अभ्यासमा छ। तर, औषधोपचारका लागि काठमाडौं वा केही ठूला सहर ताक्नुपर्ने बाध्यता अझै केही वर्ष यथावत् रहने छ। देशको कठिन भूगोल छिचोल्दै बिरामी पश्चिम–उत्तर मुगुदेखि पूर्व–उत्तर खोटाङबाट बिरामी काठमाडौं आइपुगेका छन्।
राजधानीसँग अपरिचित उनीहरु उपचारका लागि सिधै अस्पताल पुगे। तर, अस्पतालका ओपिडीहरुमा ताला देखेपछि उनीहरु रनभुल्लमा परेका छन्। कर्णाली प्रदेशको मुगुबाट श्रीमान्को उपचारका लागि वीर अस्पताल आइपुगेकी सुनकोशा शाही निन्याउरो अनुहार लगाएर जनरल मेडिसिनको ओपिडिअघि उभिरहेकी थिइन्। सँगै उनका श्रीमान् राजकृष्ण र सानो छोरा थिए। स्थानीय अस्पतालले ठूला अस्पतालमा उपचार गराउनुपर्ने बताएपछि उनीहरु यहाँ आइपुगेका हुन्।
उपचारकै लागि कर्णालीदेखि काठमाडौं पुगेको उनको परिवार दुई हप्तादेखि अस्पताल धाइरहेको छ। ‘ढाड दुख्ने, पेट दुख्ने, पिसाबमा रगत देखिने समस्या छ,’ कर्णालीमा बोलिने खस भाषाको लवज मिसाउँदै उनले भनिन्, ‘पिसाब गर्न गाह्रो हुने र केही काम गर्न नसक्ने भएको पाँच–छ महिना भइसक्यो।’
उनलाई डाक्टरले सोमबार २ बजे बोलाएका थिए। उनीहरु १२ बजे नै अस्पताल पुगेर पालो कुरिरहेका थिए। तर, अस्पताल सुनसान देखियो। कुर्दा पनि डाक्टर नआएपछि सोधीखोजी गरे। त्यसपछि थाहा पाए, डाक्टरको त हड्ताल रहेछ। उनीहरुलाई लाग्छ, ‘डाक्टरका आफ्नै समस्या होलान्। तर, हाम्रा जस्ता दुःख छैनन् होला। उपचार चाहिँ नछाडेको भए हुन्थ्यो।’
कहिले हड्ताल सकिएला, कहिले फेरि पालो आउला र कहिले उपचार होला भन्ने अनगिन्ती जिज्ञासाले उनीहरुलाई बेचैन बनाएको थियो। त्यसैमाथि महँगो काठमाडौं बसाइका दिन बढ्दै जाँदा थपिने आर्थिक भारको पीर थपिएको छ उनीहरुलाई।
हड्डीको क्यान्सर भएका २० वर्षीय आनन्द चौधरी ज्यान जोगिने झिनो आशा बोकेर वीर अस्पताल आइपुगेका छन्। ह्विलचियरमा बसिरहेका थिए उनी। उनीसँग आएका पिता भने उपचार गराउने उपाय खोज्दै कति भौंतारिरहेका थिए सायद। केही समयअघि भरतपुर क्यान्सर अस्पतालमा हड्डीको क्यान्सरको अपरेसन भएको थियो। तर, अपरेसन सफल नभएपछि वीर अस्पताल रिफर गरिएको उनी बताउँछन्। उनले भने, ‘उहाँले वीर अस्पताल जानु भनेर पठाउनुभयो, यहाँ आएको बन्द रहेछ।’
जसोतसो ६ लाख रुपैयाँको जोहो गरेर अपरेसन गराए पनि सफल नभएपछि उनलाई आर्थिक पिरलो पनि छ। उनी भावुक भए, ‘एकपल्ट डाक्टरलाई देखाउन पाए हुन्थ्यो। हामीजस्ता गरिबले कसरी उपचार गर्ने ?’
१० कक्षामा पढ्दै गर्दा बिरामी परेपछि उनले एसइई पनि दिन पाएनन्। दुई दिनदेखि वीर अस्पताल धाइरहेका उनी आफूलाई खानबस्न समेत समस्या भएको बताउँछन्। आँसु झार्दै भन्छन्, ‘आफू यसरी थलिएको छु। बुवाको अनुहारमा चिन्तैचिन्ता छ। उहाँका दुःख देखेर साह्रै चित्त दुख्छ।’
शिक्षण अस्पतालमा उपचार गराइरहेका खोटाङका पूर्णबहादुर निरौलालाई सोमबार २ बजे वीर अस्पतालमा चेकजाँचका लागि जान भनिएको थियो। एक महिनाअघि मात्रै छातीमा पलाएको मासुको शिक्षण अस्पतालले शल्यक्रिया गरेको हो। भनेकै समयमा अस्पताल आइपुगे पनि त्यहाँ डाक्टर नदेख्दा निराश भए।
एक महिनादेखि काठमाडौंमै उपचार गराइरहेका उनी सकेसम्म चाँडो गाउँ फर्किन पाए हुन्थ्यो भन्छन्। त्यसैले उनी जसरी पनि सोमबार जाँच गरेरै फर्किने योजनामा आएका थिए। उनले भने, ‘बिहानै आएको हुँ। अहिलेसम्म डाक्टर आएका छैनन्।’ हड्ताल भएकाले डाक्टर नआउने बताएपछि उनी निरास भए। भन्दै थिए, ‘श्रीमती गाउँमै छ। मलाई डाक्टरले ६ महिनादेखि एक वर्षसम्म काम नगर्न भनेको छ। निको भएर गाउँ फर्किन पाए हुन्थ्यो।’
गौशाला बस्ने कुसुम मगर श्रीमान् सञ्जय मगरको उपचारका लागि वीर अस्पताल आएकी रहिछन्। साथीहरुले खुकुरी हानेर घाइते बनाएपछि सुरुमा काठमाडौं मेडिकल कलेजको अस्पतालमा उपचार गराइन्। त्यसपछि एकपल्ट वीर अस्पतालका डाक्टरलाई देखाउन ल्याएकी रहिछन्। तर, यहाँ हड्तालका कारण समस्या भोगेकी छिन्। त्यससँगै अस्पतालमा टिकट मात्रै होइन, निःशुल्क भनिएका औषधि समेत नपाइने गरेको गुनासो उनले गरिन्।
डाक्टरको हड्तालबारे थाहा नपाई आइपुगेका बिरामीहरु अस्पतालमै यताउति चहारिरहेका थिए। डाक्टर आउने नआउनेबारे बुझ्दै निरास हुँदै फर्किदै थिए।