विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मँदाको उचाई कम्तीमा ४५ देखि ५० सेमीको हुनुुपर्दछ। त्यसैगरी सो शिशुको उमेर १ वर्ष पुग्दा २५ सेमी थप हुनुपर्दछ । दोस्रो वर्षमा १२. ५ सेमी थप हुनुपर्छ भने तेस्रो, चौथो र पाँचौ वर्षमा ७ देखि ९ सेमीका दरले वृद्धि हुँदै जानुपर्छ।
यसरी वयस्क अवस्थासम्म आइपुग्दा महिलाको औसत उचाई १६३ सेमी अर्थात ५ फिट ३ हुनुपर्दछ र पुरुषको औसत उचाइ १७६ सेमी अर्थात ५ फिट ७ इन्च भएको हुुनुपर्दछ । यो मापदण्ड अनुसार उचाइ वृद्धि हुन नसकेको बालबालिका तथा वस्यकलाई पुड्के भनिन्छ। यस्तो खालको न्युन कुपोषणलाई दीर्घ कुपोषण पनि भनिन्छ। पुड्के बाबुआमाबाट जन्मेको छोराछोरी पनि पुड्को हुने सम्भावना धेरै हुने अध्ययनले देखाएको छ। एक पटक भइसकेको पुड्कोपनालाई कुनै पनि उपचार पद्धति वा सन्तुलित आहारले अग्लो बनाउन सक्दैन।
उमेर अनुसारको तौल नभएको अवस्थालाई कम तौल भनिन्छ। यसको मापन उमेर र उक्त उमेर अनुसार हुनु पर्ने तौलकोे आधारमा गरिन्छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जन्मदा शिशुको तौल २.५ देखि ३.४ केजी हुनुपर्छ , पहिलो ५ महिनामा जन्मदाको भनदा दोब्बर हुनुपर्दछ भने १ वर्षमा तेब्बर हुुनुपर्दछ । त्यसैगरी दोस्रो वर्षमा २.५ केजी थप हुनुपर्दछ भने तेस्रो, चौथो र पाँचौ वर्षमा २–२ केजीका दरले थप हुँदै जानु पर्दछ।
त्यसैले ५ वर्ष भन्दा अगावै बालबालिकाहरुलाई पोषणयुक्त खाना खुवाएमा मात्र यी समस्याको समाधान गर्न सकिन्छ ।
कस्तो खानेकुरा खुवाउनुपर्छ?
शरीरलाई पौष्टिक तत्व प्रदान गर्ने बोटबिरुवा तथा पशुजन्य श्रोतबाट प्राप्त हुन्छ। खानाले आवश्यक पर्ने शक्ति दिनुका साथै यसले न्यानो राख्छ त्यति मात्र होइन शरीरका मांसपेशीहरुलाई पनि बलियो बनाउँछ। यी तल दिइएका ७ प्रकारका खानेकुराको समूहमध्ये कम्तिमा ४ खानाको समेटिने गरी खानुपर्दछ।
१. अन्न, जरा र कन्दमूल
२. गेडागुडी, दलहन, तेलहन
३. दुधजन्य पदार्थहरु( दुध, दही, पनीर, चिज)
४. अण्डा
५. मासुजन्य(माछा,मासु, पन्छी, कलेजो आदि)
६. पर्याप्त मात्रामा भिटामिन ए पाइने फलफूल तथा सागसब्जी
७. अन्य फलफूल र तरकारी तथा सागसब्जी
खानेकुरामा पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज, भिटामिन, रेसा आदि पुगेको हुुनुपर्दछ।