काठमाडौं – स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले १९ वर्षपछि राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति परिमार्जन गरेको छ।
महाशाखाले मंगलबार एक कार्यक्रम गरी परिमार्जित रणनीति सार्वजनिक गरेको हो।
महाशाखाका निर्देशक डा आरपी बिच्छाले २०५७ सालमा बनाइएको रणनीति समय सापेक्ष नभएका कारण त्यसलाई पुनरावलोकन गर्दै नयाँ बनाइएको बताए।
रणनीतिको उद्देश्य किशोर किशोरीका स्वभावजन्य, जनसांख्यिक, शैक्षिक, जातीय तथा भौगोलिक विविधताको दृष्टिकोणबाट वर्तमान आवश्यकताहरूलाई सम्बोधन गरेर तिनको स्वास्थ्य तथा विकासमा सुधार ल्याउनु रहेको महाशाखाले जनाएको छ।
कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाहरूले किशोरकशोरीको उमेरका कारण पनि विभिन्न परिवर्तन आउने हुँदा यो समयमा परिवारले समाज र सरोकारवाला सबै जनाले आफ्नो तरीकाले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
राष्ट्रिय किशोरकिशोरीको स्वास्थ्य तथा विकास सम्बन्धी रणनीति (२०७५) नेपालको दिगो विकासको (२०१६–२०३०) लक्ष्य कार्यान्वयन गर्ने दिशामा कोसेढुङ्गा सावित हुने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले बताए।
यस्ता छन् रणनीति तथा मार्गचित्र
– किशोरकिशोरीको सहभागिता र नेतृत्व
– समता र समावेशीकरण
– जिम्मेवारीलाई महसुस गर्ने अधिकारमुखी पद्धती
– रणनीतिक साझेदारी
– सहकारी, गैरसरकारी तथा निजी क्षेत्रको साझेदार मार्फत किशोरकिशोरी कार्यक्रमको बिस्तार
– नेपालको संघीय संरचनामा भुमिका
प्राथमिकताको मुख्य कदमहरु
– सहयोगी र सुरक्षित वातावरणको निर्माण
– यौन तथा प्रजनन स्वास्थ्य सुधार
– पोषण अवस्थामा सुधार
– यौन तथा एच.आइ.भी संक्रमणको नियन्त्रण
– दुर्घटना, चोपटपक, प्राकृतिक प्रकोप र हिंसाबाट सुरक्षा
– लागु पदार्थको दुव्र्यसनको रोकथाम
– मनोसामाजिक, भावनात्मक र मानसिक स्वास्थ्यको विकास तथा प्रवद्र्धन
– नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण लागि स्वास्थ्य प्रर्बधन
चुनौतीहरु
– समाज विद्यमान रहेका कुरीति,कुसंस्कारका कारण किशोरकिशोरीमा सेवा लिनमा,बाल बिबाह रोक्नमा कठिनाई
– सामाजिक संजालहरुको प्रयोग बढ्दो मात्रामा छ यसको गलत प्रयोगको कारणबाट किशोरकिशोरी खराब क्रियाकलाप तर्फ आकर्षित हुन सक्ने खतरा
– नीतिगत रुपमा किशोरकिशोरीलाई स्थानीय स्तरमा स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिमा अनिवार्य रुपमा समावेश गरिएको छैन, यसबाट स्वास्थ्य संस्थाबाट दिईंने सेवा तथा परामर्शमा उनीहरुको अपन्वत्वको भावना कम हुने
– यस कार्यक्रमका लागि बहुपक्षिय तथा बहुक्षेत्रियको आवश्यकता पर्छ, यसको लागि सम्बन्धित सबै मन्त्रालय, विभाग तथा निकाय र अन्य संघहरुसंग प्रभावकारी समन्वय गरेर कार्यक्रम संचालन गर्न कठिनाई हुने सक्छ
– कार्यक्रमको प्रभावकारिता मापन गर्नको लागि स्वास्थ्य ब्यवस्थापन तथा सुचना प्रणालीमा समावेश भएका सुचांकहरुले मात्रै कार्यक्रमको सम्पुर्ण प्रभावकारिता मापन हुन नसक्ने
– किशोरकिशोरी मैत्री सेवा प्रमाणित भएका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय सेवाको निरन्तरता