त्रिभुवन विमानस्थलको प्रवेशद्वारबाट हरेक दिन सयौं नेपाली विदेशिन्छन्। तीमध्ये केही राम्रो भविष्य खोजीमा युरोप अमेरिकातिर लाग्ने हुन्छन्। रोजीरोटीका लागि खाडी मुलुकमा गएकाहरु त फर्किने अपेक्षा हुन्छ। तर, युरोप–अमेरिका पुगेकाहरु मनखुस भएर देश फर्किने परिकल्पना गर्न अहिलेकै अवस्थामा मुश्किल छ।
चिकित्सा क्षेत्रमा रहेको वर्तमान वातावरणमा अमेरिकामा राम्रै नामदाम कमाइरहेको चिकित्सक नेपाल फर्किनु कत्तिको स्वभाविक होला? यसै पनि त्यहाँ जमेका डाक्टर नेपाल फर्र्किएका बिरलै घटना छन्। यस्तो अवस्थामा नेपालमा उपलब्ध नभएको चिकित्सकीय सेवा दिलाउन अमेरिकाको मोहजालबाट फुत्केर आइपुगेका छन्, डा सत्यदीप भट्टाचार्य।
अमेरिकामा कमाइरहेको नाम र दामको मोहबाट फुत्किएर आफ्नै देशमा केही गर्ने ऊर्जासहित नेपाल आइपुगेको केही महिना मात्रै भयो। ‘ब्रेन ड्रेन’ समस्या भोगिरहेको देशमा डा भट्टाचार्यको आगमनसँगै एउटा नयाँ चिकित्सकीय सेवा (कोलोरेक्टल सर्जरी) नेपालमै प्राप्त हुने भएको छ। अमेरिकामै जनरल र कोलोरेक्टल सर्जरीमा विशेषज्ञता हासिल गरेका उनी केही वर्षको अनुभवपछि मात्रै देशमै सेवाको सुरुवात गर्न आइपुगेका हुन्। नर्भिक इन्टरनेसनल अस्पताल, निदान अस्पताल र नेपाल क्यान्सर अस्पतालमार्फत आफ्नो सेवा प्रारम्भसमेत गरिसकेका छन्।
कोलोरेक्टल सर्जरी सामान्यतयाः ठूलो आन्द्रा, मलासय र मलद्वारमा हुने समस्याको उपचार हो। त्यससँग सम्बन्धित सानो आन्द्राको उपचार पनि डा भट्टाचार्यले गर्ने गर्छन्। चिकित्सकहरुका आइडल डाक्टरमध्येमा पर्ने डा एसके भट्टाचार्यका सुपुत्र उनलाई भेट्नेबित्तिकै पहिलो जिज्ञासा राखिएको थियो, ‘नेपाल फर्किन के कुराले प्रेरित गर्यो ?’
उनको उत्तर थियो– म अमेरिकामै बस्न गएको थिइनँ। उनकी आमा नूपुर भट्टाचार्यका अनुसार अमेरिका बस्दा पनि उनको सबैभन्दा प्रिय गीत ‘यो मन त मेरो नेपाली हो’ थियो। उनी अमेरिकामा रहँदा त्यहाँ हुने विभिन्न कार्यक्रममा उक्त गीत गाउँथे। यहीँनेर जोडिहालौं, उनी त्यस्ता व्यक्ति हुन्, जसले बुबाआमा दुवैको बिँडो थामिरहेका छन्। डाक्टर पिताका छोरा उनी डाक्टरै बने। गायिका आमाको बाटो पनि छाडेनन्, केही समयअघि गीत गाएर रेकर्डसमेत गराए। उनका गीतमध्ये एउटा त हिट्स अवार्डमा उत्कृष्ट गीत बनेको थियो। चिकित्सासँगै गायनलाई समेत अघि बढाउने सोच उनमा छ।
विदेशमा पढेर स्वदेशमै सेवा गर्ने पुरानै योजनालाई डा भट्टाचार्यले यतिबेला मूर्त रुप दिएका हुन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबिबिएस गरेपछि उनले विशेषज्ञता हासिल गर्ने विषयमा सोचे। एमबिबिएसको इन्टर्नसिप गर्ने समयमै आफूलाई सर्जरीमा बढी रुचि रहेको महसुस उनलाई भइसकेको थियो। त्यसैले पढ्ने सर्जरी नै थियो, जाने चाहिँ कहाँ भन्ने प्रश्न बाँकी थियो। विशेषज्ञता पढ्न जानुअघि एक वर्ष उनले वीर अस्पतालमा उपचार सेवा दिने आफ्नो बाल्यकालको सपना पूरा गरे।
त्यसपछि दुई वटा विचार आयो उनमा। एक, आफ्ना पिता (डा एसके भट्टाचार्य) ले पढेको इंग्ल्यान्ड जाने। दोस्रो, अमेरिका पुगेर सर्जरीमै विशेषज्ञता गर्ने। उनले दोस्रो विकल्प रोजे। ‘अमेरिकामा सर्जरी विषयमा चान्स पाउन मुश्किल छ,’ धेरैले उनलाई तर्साए। उनले चाहिँ जसरी पनि सर्जरीमै विशेषज्ञता हासिल गर्नका लागि मिहिनेतको रफ्तार बढाए। हिम्मत हारेनन्। लाग्यो– एकपल्ट प्रयास गरौँ। जनरल सर्जरीमा रेजिडेन्सीका लागि उनको अन्तवार्ता लिइयो। उनको सपना साकार भयो अर्थात् अमेरिका टफ्ट्स युनिभर्सिटीमा उनले जनरल सर्जरीमा अध्ययन गर्ने मौका पाए। काम भने उक्त युनिभर्सिटीको अस्पताल सेन्ट एलिजावेथ मेडिकल सेन्टरमा गरे। अमेरिकामा जनरल सर्जरी कोर्स नै पाँच वर्षको हुन्छ। उनको पाँच वर्ष त्यहीँ बित्यो।
जनरल सर्जन भएरै अमेरिकामा कमाइधमाइ राम्रै हुनसक्थ्यो। तर, डा भट्टाचार्य कमाइमा चित्त बुझाउन सक्दैनथे। किनकि पढेर फर्किनु नेपालमै थियो। त्यसैले सर्जरीमा पनि कुनै एक विषयमा विशेषज्ञता हासिल गर्ने बाटो खोजे। ‘त्यसमा पनि कुन विषयमा गर्दा आफूलाई बढी सन्तुष्टि महसुस हुन्छ भन्नेमा गमेँ,’ उनी सुनाउँछन्, ‘मलाई पेटको र आन्द्राको अपरेसन गर्न रुचि जाग्थ्यो, त्यसैले कोलेक्ट्रोल सर्जरी छानेँ।’
उक्त विषयको अध्ययन उनले ब्राउन युनिभर्सिटीमा गरेका हुन्। जनरल सर्जरी गर्दा राम्रै वातावरण प्राप्त भएको महसुस गरेका उनले यहाँ प्रोफेसर र सिक्ने वातावरण उस्तै राम्रो पाए। उनलाई लाग्छ, ‘एक कुशल चिकित्सक बन्न चिकित्सकीय ज्ञान–सिप मात्रै काफी हुँदैन। हरेक बिरामीको अवस्था मूल्यांकन गरेर त्योअनुसार व्यवहार गर्न पनि जान्नुपर्छ।’ उनले त्यो विश्वविद्यालयमा सिक्न पाएको थप कुरा भनेकै बिरामीसँग डाक्टरले गर्नुपर्ने व्यवहार हो। उनलाई यही महसुस भयो, ‘बिरामीलाई चिकित्सकका तरिकाले मानवीय व्यवहार गर्नुपर्छ।’
त्यसपछि उनी अमेरिकामै रहेको कार्बन्डेल भन्ने ठाउँमा पुगे। जहाँ कोलेरेक्ट्रोल सर्जन त्यसअघि पुगेका थिएनन्। यस विषयको सर्जनले गर्ने उपचारका लागि केही घन्टाको दूरी नाप्नुपथ्र्यो। उनी गएपछि नयाँ बिरामीका लागि मात्रै होइन, पुराना बिरामीलाई फलोअपमा रहन सजिलो भयो। त्यहाँ जनरल सर्जरीसमेत गरे। यसरी पाँच वर्ष बिताए त्यहाँ। ‘त्यहाँ मैले राम्रो टिम पाएँ। कोलोरेक्टल सर्जन म मात्रै थिएँ। त्यहाँ मैले अझै धेरै अनुभव हासिल गरेँ। आफैंले नेतृत्व गर्दा फरक हुँदो रहेछ,’ उनी भन्छन्।
त्यहाँ काम गरिरहेको समयमा क्यानडाकी डा निसा जोसनसँग उनको भेट भयो। विवाहको कुरा चल्नुअघि नै सचेत गराए, ‘म नेपाल फर्किन्छु। नेपाल जाने मनसाय छैन भने यस विषयमा अघि नबढौँ।’
काइरोप्य्राक्टिक (मसल दुखाइसम्बन्धी) चिकित्सक उनी तयार भइन्। उनकै घर क्यानडामा विवाह गरे। डा भट्टाचार्य आफूले मात्रै नयाँ विषय पढेर नेपाल फर्केनन्, उनकी जीवनसंगिनी जोसनले अध्ययन गरेको काइरोप्य्राक्टिक पनि नेपालका लागि नौलो विषय हो। उनले पनि नर्भिक इन्टरनेसनल अस्पतालमै सेवा दिन थालिसकेकी छिन्।
नेपाल फर्केपछि उनलाई छुट्टै खालको आनन्द महसुस भएको छ। वर्षाैंदेखिको सपना साकार भएजस्तो लागेको उनी बताउँछन्। चिकित्सकीय जीवनमा पैसा र आफ्नै आरामदायी जीवन ठूलो कुरा नभएको उनको बुझाइ छ। चिकित्सा अध्ययन गर्नुअघि नै पिता डा एसके भट्टाचार्यले उनलाई यस विषयमा महसुस गराइसेकका रहेछन्। उनी सम्झिन्छन्, ‘म कक्षा १२ कक्षामा हुँदा बुबाले बसाएर विस्तृतमा कुरा गर्नुभयो। कुनै भ्रममा परेर चिकित्सा क्षेत्रमा नजानू। डाक्टर बन्न कति मिहिनेत चाहिन्छ, कति उत्तरदायित्व हुन्छ बुझ्नू। सजिलो जीवनका लागि अरु धेरै बाटा छन्। डाक्टर बन्नु र काम गर्नु गाह्रो छ। ग्ल्यामरस छ भनेर लहलहैमा नलाग।’ त्यो समयका चर्चित चिकित्सक डा एसकेले अर्को महत्वपूर्ण कुरा पनि सम्झाएका थिए, ‘मेरो जीवनशैली हेरेर तिम्रो जीवनशैली त्यस्तै हुन्छ भन्ने नसोच्नु। म यहाँ आइपुग्न कति मिहिनेत र त्याग गरेको छु, त्यो मलाई मात्रै थाहा छ।’
अमेरिकाको सरल जीवनबाट नेपालको जटिल जीवन रोज्ने सामथ्र्य पनि पिताको सही मार्गनिर्देशनले दिएको उनको बुझाइ छ। उनलाई लाग्छ, ‘बिरामीका लागि एक चिकित्सकले जति उत्तरदायित्व बहन गर्नुपर्छ, त्यो पैसाका लागि हुनै सक्दैन। एक चिकित्सक विशेषज्ञ बन्न १५ वर्ष खर्च गर्छ भने त्यो कमाउनका लागि होइन। कमाइ त अरु पेसामा चाँडै हुन्छ।’
डा भट्टाचार्यको बाल मस्तिष्कले चिकित्सा रोजिसकेको थियो। त्यसैले कक्षा १२ मा आएर पिताले यसरी सम्झाउँदा चिकित्सा छाड्ने अवस्थामा थिएनन्। सकेसम्म छात्रवृत्तिमै नाम निकालेर पढ्ने उनको योजना थियो। त्यो समय कम्प्युटर प्रविधिको विकासक्रम बढेको थियो। चिकित्साको विकल्प उनलाई यही सुझाइएको थियो।
परिवारमा बुबा मात्रै होइन, काका, मामा, हजुरबुबा, आमा तर्फका दुवै हजुरबुबा–हजुरआमा, दिदी र भिनाजुहरु डाक्टर थिए। यसले एक हदसम्म प्रभाव पारेको उनी महसुस गर्छन्। यसबाहेक बुबासँगै अस्पताल जाँदा बिरामीहरु देख्थे। बुबासँग उनीहरुको हार्दिकताको अपेक्षा भेट्थे। दयालु स्वभावका उनलाई यसले मनको भित्री तह छोएको थियो।
ललितपुरको कुपन्डोलमा जन्मेहुर्केका उनले कान्तिश्वरी शिशु विद्यालयमा कक्षा ३ सम्म पढेका हुन्। ४ देखि १० कक्षामा बुढानिलकण्ठ स्कुलमा पढे। ११ र १२ भारतीय राजदूताबासभित्र रहेको केन्द्रीय विद्यालयमा अध्ययन गरे।
एमबिबिएसमा उनले नेपालकै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भारतमा समेत छात्रवृत्तिमा नाम निकालेका थिए। धरानले एमबिबिएस पढाउन थालेको धेरै नभइसकेको अवस्थामा उनलाई दोधार भने भएको थियो। तर, पाठ्यक्रम राम्रो, नेपाली परिवेश र भारतका टप मेडिकल कलेजका प्रोफेसर आउने गरेको थाहा पाएपछि उनले धरान रोजे। उनी यहाँको चिकित्सा अध्यापनसँग अनुग्रहित छन्। उनलाई धेरै राम्रो शिक्षा प्राप्त गरेँ जस्तो महसुस हुन्छ। इन्टर्नसिपका बेला समाज पठाउने प्रचलनअनुसार विभिन्न जिल्लामा गरेको कामले उनलाई समाजसँग नजिकबाट साक्षात्कार गरायो।
नेपाल फर्केको ६ महिना उनलाई कस्ता लाग्दा रहेछन्। कहीँ यहाँको परिवेश र प्रणालीले निरुत्साहित गरिरहेको त छैन ? हामीले उनीसँग बुझ्ने प्रयास गर्यौं। तर, उनी खुसी देखिए। भने, ‘केही समस्या भए पनि देश र देशबासीको सेवा गर्न पाउँदा अर्कैै प्रकारको सन्तुष्टि मिल्दोरहेछ। मैले गर्दा कोलोरेक्टल सर्जन चाहिने बिरामी विदेश जानुपरेन भन्ने कुराले आनन्द मिल्छ। बुबाआमासँग बस्न पाउनुको रमाइलो त छँदैछ।’
उनलाई चित्त दुखेको एउटा कुरा छ। त्यो हो, एक वर्गले नेपालमै राम्रो उपचार हुन्छ भनेर विश्वास नगर्ने। नेपालमै राम्रा चिकित्सक भएकाले उनीहरुलाई विश्वास गर्न डा भट्टाचार्य आग्रह गर्छन्। उनलाई लाग्छ, ‘आफूसामु यो एउटा चुनौती पनि छ। यहीँ राम्रो गर्न सकिन्छ भन्ने विश्वास दिलाउने।’