डडेल्धुरा– सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले डडेल्धुरा जिल्ला सदरमुकाममा २०७० सालमा उपक्षेत्रीय अस्पताल स्थापना भयो।
यो अस्पताल उपक्षेत्रीय हुनु अगाडि मानव विकास तथा सामुदायिक सेवाद्वारा टिम अस्पतालले लामो समयसम्म सेवा दियो। यो अवधिमा अमेरिकी विशेषज्ञ चिकित्सकहरु कार्यरत थिए।
हालको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ २०२२ सालमा टिम अस्पतालको नाममा स्थापना गरिएको हो।
यहाँका स्थानीय, राजनीतिक दलका नेताहरुको लामो लडार्इं तथा पहलमा त्यतिबेलाको टिम अस्पताललाई सरकारले उपक्षेत्रीय अस्पताल घोषण ग¥यो। तत्कालीन उपक्षेत्रीय अस्पताल सय शय्याको हो।
त्यतिबेला अस्पतालमा १०९ जना कर्मचारी रहनेगरी दरबन्दी स्वीकृत भयो। जसमा २० जना मेडिकल अफिसर हुन् भने १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी हो यहाँ। दुर्भाग्य, कहिल्यै आवश्यकता अनुसारका चिकित्सक अस्पतालले पाएन।
संघ, प्रदेश सरकार र फेरि संघ मातहत पुग्दा अलमल
तत्कालीन उपक्षेत्रीय अस्पताल संघीय सरकार मातहतमा रहेको थियो। देश संघीय संरचनामा गएसँगै यो अस्पताल पनि प्रदेश मातहतमा आयो।
६ वर्षअघि उपक्षेत्रीयका रुपमा स्थापना भएको यो अस्पताल गत असारमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने भनेर परिपत्र आयो। त्यहीअनुसार यो अस्पताल प्रदेश मातहतमा रह्यो।
अहिलेसम्म प्रदेश सरकारले दिएको रकमले अस्पताल चलिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताए। गत फागुनयता केन्द्र सरकारले थप सेवा विस्तार र मेसिन औजार खरिदका लागि पनि बजेट नपठाएको उनले बताए।
‘विशिष्ट विशेषज्ञ अस्पताल’मा स्तरोन्नति कहिले ?
फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नति गर्ने निर्णय गर्यो।
योसँगै मोरङको कोषी अञ्चल अस्पताल, पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रुपमा स्तरोन्नति गर्ने निर्णय सरकारले गरेको हो।
स्तरोन्नति भएपछि अब सबै ५ वटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा संघीय सरकारले उपलब्ध गराउने छ। केन्द्रीय सरकारबाटै सबै अस्पतालमा ५ सय शय्याको सेवासुविधा प्राप्त हुने जनाइएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालको नाम परिवर्तन गरी ‘डडेल्धुरा अस्पताल, डडेल्धुरा’ बनाइएको छ।
दरबन्दी १९, विशेषज्ञ चिकित्सक ३ जना मात्रै
यो अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहने व्यवस्था छ। तर यहाँ तीन जना मात्रै विशेषज्ञ चिकित्सक रहेको डा कँडेलले जानकारी दिए।
‘यहाँ अहिले मलगायत तीन जना विशेषज्ञ चिकित्सक छौँ। एक जना सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पठाइएको छ,’ उनले भने, ‘असार मसान्तसम्मका लागि एक जना पठाएको हो मन्त्रालयले। हाल अस्पतालमा मेडिकल अफिसर लगायत १३ जना छौँ।’
३० स्टाफ नर्समध्ये १३ जना मात्र कार्यरत अस्पतालमा पछिल्लो समय ४ जना पनि छैनन्। अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनको भनाइ छ। ‘यहाँ भएको जनशक्ति गएको ६ महिनाभन्दा बढी भइसकेको छ। मन्त्रालय वा विभागबाट थप जनशक्ति पठाइएको छैन,’ उनले भने। जनशक्ति अभाव भए पनि सेवा भने आफूहरुले दिइरहेको उनले जानकारी दिए।
कर्मचारी समायोजन गर्दा यहाँका चिकित्सकहरुको सरुवा गरेको तर माथिबाट आवश्यक कर्मचारी नपठाएको कँडलले बताए। ‘न लोकसेवा खुलेको छ, न प्रदेशले पठाउँछ न विभागले।’ उनले भने, ‘यहाँका १४ जना कर्मचारी सरुवा गर्दा एक जना मात्रै पठायो, त्यसमै पनि विभेद भयो।’
एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा गरिएका डा कँडेलले विभिन्न समस्याका बाबजुद पनि अस्पतालले सेवा प्रदान गरिरहेको जानकारी दिए। कर्मचारी समायोजना गर्दा सरकारले आफूले दिने सेवाबाट समेत बञ्चित गराएको आरोप उनको छ।
‘एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा गएर मैले के सेवा दिने? त्यहाँ ओटीसमेत व्यवस्था छैन,’ उनले प्रश्ने गरे, ‘यो कुरामा सरकारले सोचिदिएको भए हुन्थ्यो।’
हात नै बाँधिदिने गरी गरिएको समायोजनले आफूलाई अप्ठ्यारो महसुस भएको उनको भनाइ छ। उनले अहिलेसम्म आफूलाई समायोजनको पत्र आइनसकेको बताए। उनले भने, ‘सरुवा पत्र आउनेबित्तिकै हिँड्नुपर्ने भए पनि अस्पतालमा छँदासम्म सेवा भने दिइरहने छौँ।’
तल्कालीन उपक्षेत्रीय अस्पतालले जति सेवासुविधा दिनुपर्ने हो त्यति दिन सकिरहेको छैन। यहाँको सेवा पछिल्लो समयमा खस्कँदै गएको छ। कार्मचारी र भौतिक संरचनाको अभावले गर्दा दिनुपर्ने जति सेवा दिन नसकिरहेको हो।
कहिले प्रदेश सरकार त कहिले संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा सेवासुविधा र गुणस्तर खस्किँदै जाँदा बिरामी हैरान बनेका छन्।
संघीयता लागू भएलगत्तै प्रदेश मातहत राखिएको अस्पताललाई अहिले संघीय सरकारको मातहतमा राखिएको छ।
अहिले झन् अस्पताल अस्तव्यस्त बनेको सेवाग्राही पार्वती भुसालको गुनासो छ। ‘यहाँको सेवा खकिँदै गएको छ,’ उनले भनिन्, ‘प्रदेश, संघ मातहतमा गइरहँदा सेवा खस्केको जस्तो लाग्छ।’
जस्ताका छानोमुनि सेवा
उपक्षेत्रीय अस्पताल घोषण गरेको ६ वर्ष पुग्दा समेत अस्पतालसँग राम्रो स्तरीय भवन छैन। अहिले पनि भवन अभाव नै रहेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।
‘यो अस्पताल सय शय्याको भइसके पनि हालसम्म पनि सय शय्याको भवन यहाँ छैनन्।’ सूचना अधिकारी पन्तले भने, ‘पुरानै भवनबाट सेवा दिइरहेका छौँ।’