राष्ट्रिय ट्रमा सेन्टरका एनेस्थेसिया सहयोगी कृष्णनन्द चौधरी सानैदेखि डाक्टर बन्न चाहन्थे। तर डाक्टर बन्न नसकेपछि २५ वर्ष अगाडि सिएमए भएर स्वास्थ्य क्षेत्रमा प्रवेश गरे उनी। चौधरीले देशका विभिन्न स्वास्थ्य संस्थामा सामान्य उपचार नपाएर टाढाको अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य गर्न भूमिका खेले। यतिमात्र होइन, उनले चेतनाको कमीले बढी सन्तान जन्माउने समस्याको समाधान गर्न गाउँमा इम्पलान्ट सेवा विस्तार गरेर स्वास्थ्य क्षेत्रमा योगदान दिएका छन्। चौधरीले सिएमएदेखि एनेस्थेसिया सहयोगीको भूमिका निर्वाह गर्दासम्मका आफ्ना भोगाइ स्वास्थ्यखबरकी सिर्जना खत्रीलाई यसरी सुनाए :
मेरो घर रौतहट, रघुनाथपुर हो। विकट गाउँ भए पनि परिवारमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना थियो। त्यसैले बुबाले हामीलाई स्कुल पठाउनुभयो। सानैदेखि म पढाइमा तेज थिएँ। पढाइ राम्रो भएकै कारण ठूलो भएर डाक्टर बन्छु भन्ने सोच पलाएको थियो ममा। मलाई पढाउने शिक्षक पनि ठूलो भएपछि यो केटाले केही गर्छ भन्नुहुन्थ्यो। २०५० सालमा एसएलसी दिइसकेपछि भने विभिन्न कारणले गर्दा डाक्टर बन्ने सपना पूरा हुन सकेन।
२०४८ सालदेखि प्रत्येक गाउँमा एउटा स्वास्थ्य चौकी हुनुपर्ने अवधारणा अगाडि आएको थियो। त्यो बेला अहेबको माग पनि बढी नै थियो। डाक्टर बन्ने सपना पूरा नभए पनि अहेब भएर बिरामीको सेवा गर्छु भन्ने अठोटले मैले सिएमए पढेँ।
२०५१ सालमा सिएमए पास गरेपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा काम गर्ने मौका मिल्यो। सरकारी जागिर भएकोले त्यहाँ दुई वर्ष काम गरिसकेपछि मेरो पोस्टिङ आफ्नै गाउँको सन्तपुर स्वास्थ्य चौकीमा भयो। त्यहाँ ११ वर्ष काम गरेपछि भरतपुरको स्कुल अफ हेल्थ कलेजबाट २०६८ मा एचए पास गरेँ।
एचए भएर दोलाखाका स्वास्थ्य चौकीमा काम गर्ने मौका मिल्यो। २०७१ देखि भने काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा इमर्जेन्सी विभाग हुँदै एनेस्थेसिया एसिस्टेन्सको रुपमा कार्यरत छु।
गाउँका स्वास्थ्य चौकी सुविधासम्पन्न हँुदैनन्। स्रोत–साधनको कमीले आफूले जाने कुराहरु व्यवहारमा लागू गर्न नपाउँदा निकै दुःख लाग्छ। कुनै बेला सानोतिनो अपरेसन गर्नुपर्दा पनि स्वास्थ्य संस्थामा सामान नहुँदा अन्य ठाउँमा पठाउनुपर्ने बाध्यता हुन्छ। सानो घाउको शल्यक्रिया गर्दा पनि संक्रमण नियन्त्रण गर्ने सामग्री नहँुदा घाउले ठूलो रुप लिन्छ र समस्या बढ्दै जान्छ।
भुल्न नसकेका घटना
स्वास्थ्यकर्मी भएर काम गर्दा भुल्नै नसकिने थुप्रै घटना भएका छन्। केही घटना मेरो मानसपटलमा अझै ताजा छन्।
म दोलाखाको सुन्तवती स्वास्थ्य चौकीमा कार्यरत थिएँ। धामी परिवारकी एक महिला घरैमा सुत्केरी भएकी थिइन्। बच्चा जन्मिसकेपछि उनको स्तनमा घाउ भएको रहेछ। हामीहरु गाउँ डुल्न गएको बेलामा उनको समस्या थाहा भयो। उनको आर्थिक स्थिति निकै नाजुक थियो, अस्पताल जानसक्ने अवस्था थिएन। मैले उनको उपचार गरिदिएँ। उनलाई निको भयो। त्यसपछि कहिल्यै स्वास्थ्यचौकी नआउने गाउँलेहरु पनि उपचारका लागि स्वास्थ्य चौकी आउन थाले।
000
म दोलाखाको प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्थें। दसैंको बेला थियो त्यो। मेरो बिदा थिएन त्यसैले स्वास्थ्य चौकीमा नै थिएँ। खुकुरीले हात काटेका १२/१३ वर्षको बच्चा हेल्थ पोस्ट आइपुगे।
उनको हातबाट निकै रगत बगेको थियो। उनको बुबा घाउ ठूलो छ, यहाँ उपचार हुँदैन, रगत बन्द हुने औषधि लगाइदिनुस्, अस्पताल लैजान्छौँ भन्दै थिए। मैले घाउ ठूलै भए पनि सफा गरेर टाँका लगाइदिएँ, औषधि दिएँ। केही दिनपछि घाउ निको भयो। त्यसपछि मलाई गाउँलेहरुले स्याबासी दिए।
दोलखामा धेरै विकट गाउँ छन्। त्यहाँका महिलाले धेरै वटा सन्तान जन्माउने गर्थे। म त्यहाँको हेल्थ पोस्टमा गएपछि मेरै नेतृत्वमा धेरै बच्चा जन्माउनु हुँदैन भनेर गाउँमा चेतना फैलाउनुका साथै इम्पलान्ट सेवा विस्तार गरियो। सुरुमा खुलेर कुरा गर्न नचाहने धेरै महिलाले यो सेवाबाट लाभ लिए।
000
ट्रमा सेन्टरको शल्याक्रिया वार्डमा काम गर्ने बेलामा एक जना बिरामी पिसाब थैली र आन्द्रा फुटेर इमर्जेन्सीमा आउनुभएको थियो। त्यो दिन मेरो रातिको ड्युटी थियो।
एनेस्थेसिया सहयोगी भएको नाताले म र सिनियर एनेस्थेसिया बिरामीलाई बेहोस् गर्न भनेर शल्यक्रिया गर्ने कोठामा औषधि तयार गर्दै थियौँ। बेहोस् नबनाउँदै एक्कासि बिरामीको मुटुको गति बन्द भयो। एकछिन त खुब डर लाग्यो। ढिला नगरी तुरुन्त सिपिआर दियौँ र विस्तारै बिरामीको मुटु चल्न थाल्यो।
मुटु चलेपछि बेहोस् बनाउने औषधि दियौँ र उनको सफलतापूर्वक शल्यक्रिया भयो। कुनै बेला यस्ता घटना घट्ने गर्छन् तर यस्ता घटनालाई व्यवस्थापन गर्न सक्नुपर्छ।