आज विश्व पाचन प्रणाली दिवस हो। विश्व ग्यास्ट्रो अग्रनाइजेसनल पाचन प्रणाली अन्तर्गत खाने नली, पेट, सानो आन्द्रा, ठूलो आन्द्रा लगायत यससँग जोडिने अंगहरुहरूका स्वास्थ्यका विषयमा जनचेतना फैलाउन मे २९ का दिन विश्वभर यो दिवस मनाउने गरेको छ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ। यो वर्ष ‘ग्यास्ट्रोइन्टेस्टाइन क्यान्सरको समयमै पहिचान र उपचार’ भन्ने नारा रहेको छ।
मानव शरीर विभिन्न प्रणाली मिलेर बनेको हुन्छ। जसरी हड्डीका, रगतका नसाको छुट्टै प्रणाली हुन्छ। त्यसैगरी पाचन प्रणाली पनि एक हो। पाचन प्रणाली अन्तर्गत मुखबाट तलको खाने नली, पेट, सानो आन्द्रा, ठूलो आन्द्रादेखि मलद्वारसम्म पर्छ। यसमा प्यानक्रियाज र कलेजा पनि जोडिन्छ।
खानेकुरा खाएपछि शरीरले चाहिने पोषक तत्व लिन्छ अनि शरीरलाई नचाहिने कुराहरू पाचन प्रक्रियाबाट बाहिर निस्कन्छ।
पाचन प्रणाली अन्तर्गत विभिन्न प्रकारका क्यान्सर हुन्छ। त्यो क्यान्सरलाई सुरुमा पहिचान गरी उपचार गर्दा बिरामीको जीवन बच्नुका साथै बिरामीको र देशको आर्थिक अवस्थामा पनि फाइदा पुग्छ।
मृत्युको दोस्रो कारण क्यान्सर
संसारमा रोगका कारण जति मानिसको मृत्यु भएको छ ती मध्ये क्यान्सर दोस्रो नम्बरमा पर्छ। पहिलो नम्बरमा भने मुटु रोग पर्छ। विश्वभर क्यान्सरका कारण हुने मृत्युमध्ये ७ वटा क्यान्सर अत्यधिक धेरै रहेका छन्। तीमध्ये ४ वटा क्यान्सर त पाचन प्रणाली अन्तर्गत नै पर्छ। पाचन प्रणालीका क्यान्सरमध्ये सबैभन्दा बढी ठूलो आन्द्राको क्यान्सर हुने गर्छ। त्यसपछि क्रमशः आमाशय, कलेजो र खाना निल्ने नली पर्छ।
नेपालमा यी क्यान्सरका कति बिरामी छन् भन्ने यकिन तथ्यांक त छैन। सन् २०१८ मा विश्वभर सात वटा क्यान्सरका कारण झन्डै एक करोडको मृत्यु भएको छ। तीमध्ये १८ लाखको ठूलो आन्द्राको क्यान्सरले १० लाखको आमाशय, ८ लाखको कलेजो र ६ लाखको खाना नलीको क्यान्सरले मृत्यु भएको छ।
अस्वस्थ खानपान र जीवनशैलीले रोग बढाउँदै
नेपालमा मानिसहरूको खानपानमा आएको अस्वस्थ परिवर्तन र जीवनशैलीका कारण यी अंगका क्यान्सरका बिरामीको संख्या बढिरहेको छ। स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकका लागि उपलब्ध गराउँदै आएको आर्थिक सहायताको तथ्यांक हेर्दा पनि नेपालमा क्यान्सरका बिरामीको संख्या बढेको पाइन्छ। पछिल्लो ४ वर्षको अवधिमा क्यान्सर उपचारको सेवा लिने बिरामीको संख्या १० गुणाले बढेको छ।
पाचन प्रणलीको क्यान्सर खाने बानीसँग पनि सम्बन्धित छ। जस्तैः खाना निल्ने नलीको क्यान्सर धूमपान÷मध्यपान गर्ने मानिसलाई धेरै हुन्छ। आमाशयको क्यान्सर पनि धेरै मानिसलाई हुन्छ। यो क्यान्सर पनि खानासँग र संक्रमणसँग सम्बन्धित छ।
यो क्यान्सर हेलिकोब्याक्टर पाइलेरी नामक ब्याक्टेरियाको कारण पनि हुन्छ। धेरै तारेको, भुटेको खानेकुरा, ढुसी परेका चामल, लामो समय बट्टामा राखेका अचार तथा मासुसँगै पछिल्लो समयमा विषादी मिसाइएका खानेकुराका कारणले पनि यो क्यान्सर बढाइरहेको छ।
धेरैजसो कलेजको क्यान्सर हेपाटाइटिस भाइरसका कारण हुन्छ।
पहिलाको जीवनशैली नै फरक थियो। सागसब्जी, फलफूल धेरै खाइन्थ्यो। क्यान्सर हुने सम्भावना कम हुन्थ्यो। अहिले जीवनशैली परिवर्तन भयो। रिफाइन खानेकुरा, चिल्लो धेरै भएका, रातो मासु जस्ता अस्वस्थकर खानेकुरा बढी खान थालिएको छ। यसले गर्दा नेपालमा ठूलो आन्द्रको क्यान्सर बढेको अवस्था छ।
यस्ता क्यान्सरबाट जोगिन खानपान र जीवनशैली परिवर्तन गर्नैपर्छ। नियमित स्वास्थ्य जाँच गर्नुपर्छ। फलफूल तथा तरकारी धेरै मात्रामा खाने, धूमपान÷मदिरा सेवन गर्नु हुँदैन। मोटोपनलाई नियन्त्रण गर्ने नियमित व्यायाम गर्ने गर्नुपर्छ।
यदि, समयमा नै पहिचान गर्न सकियो भने ३० देखि ४० प्रतिशत क्यान्सरलाई निको बनाउन सकिन्छ। क्यान्सर हुने रिक्स फ्याटर अस्वस्थ खानपान र जीवनशैलाई व्यवस्थित बनायौं भने धेरै क्यान्सरबाट जोगिन सकिन्छ।
पहिचान कसरी गर्ने ?
पाचन प्राणालीको क्यान्सरको पहिचानका लागि इन्डोस्कोपी र कोलोनोस्कोपी गर्ने गरिन्छ। इन्डोस्कोपी मुखबाट मुलायम पाइप हालेर खाना नली, पेट हुँदै डुडेनमसम्म हेर्ने प्रविधि हो। कोलोनोस्कोपी भनेको मलद्वारबाट ठूलो आन्द्रा जाँच गर्ने प्रविधि हो। अल्ट्रासाउन्ड गर्दा कलेजोमा हुने क्यान्सर पहिचान गर्न सकिन्छ।
नेपालमा धेरै बिरामी समयमा नै अस्पताल तथा जाँचका लागि पुग्दैनन्। जसका कारण रोगले गाँजेर अन्तिम अवस्थामा मात्र रोगको पहिचान हुन्छ। यसले गर्दा मृत्युदर बढी छ। तर, समयमा नै पहिचान भयो भने रोगबाट जोगिन सकिन्छ।
५५ वर्षभन्दा माथिका मानिसमा पेट फुल्ने समस्या छ भने अनिवार्य रुपमा इन्डोस्कोपी गर्नुपर्छ। त्यो भन्दा तलको उमेरकामा ग्यास्ट्रिकको समस्या छ। शरीरमा रगतको मात्रा कम भयो, तौल घट्दै गयो, कालो दिसा हुन थाल्यो, रगत वान्ता भयो भने तुरुन्तै चिकित्सक कहाँ पुगेर आवश्यक उपचार प्रक्रिया अगागि बढाउनु पर्छ।
यस्तो अवस्थामा इन्डोस्कोपी र कोलोनोस्कोपी अनिवार्य गर्नुपर्छ।
सामान्य अवस्थामा पनि ५० वर्षभन्दा माथिका मान्छेले हरेक १० वर्षमा एक पटक कोलोनोस्कोपी गर्नुपर्छ। घर परिवारमा यदि कसैलाई यस्तो क्यान्सर छ भने त अरु सदस्यले त्यो भन्दा चाँडै पनि गर्नुपर्छ।
इन्डोस्कोपी तथा कालोनोस्कोपीमा अहिले नयाँ नयाँ प्रविधि आइसकेको छ। विश्वमा आइसकेको नयाँ प्रविधि नेपालमा आउन बाँकी नै छ। जति नयाँ र आधुनिक उपकरण भयो त्यति रोगको पहिचानमा सहज हुन्छ। आधुनिक इन्डोस्कोपीले त रोगको पहिचानसँगै उक्त क्षेत्रका क्यान्सर काटेर फाल्न सक्ने प्रविधि समेत भित्रिसकेको छ। त्यसकारण सरकारले क्यान्सर भइसकेको उपचारमा सहयोग गर्ने मात्र नभई आधुनिक उपकरण भित्र्याएर समयमा नै रोगको पहिचान तथा उपचार गर्नका लागि पनि लगानी बढाउनु पर्ने अवस्था छ।
पेटरोग विशेषज्ञ डा बस्नेत वीर अस्पतालमा कार्यरत छन्।
विस्तृत जानकारी भिडियोमा :