डडेल्धुरा– महाकाली नदीको किनारमा ७० वर्षीय बृद्ध रक्ताम्य हात लिएर उभिइरहेका थिए। नदी किनारमा उस्तै उमेर खाएको जस्तो देखिने काठे डुंगा थियो। ठूलो महाकालीको भेल छिचोल्न हम्मे पर्लाजस्तो त्यही डुंगामा बसेर उपचार गर्न सीमापार भारत जाँदै थिए, डडेलधुराका करी साउँद।
हातबाट निरन्तर रगत बगिरहेको थियो। पहाडको बाटोमा हात आकाशमा फर्काउँदै जसोतसो नदी किनारमा पुगेका थिए उनी। उपचारका लागि भौंतारिइरहेका उनको एक मात्र विकल्प भारत थियो। भारतको सीमासम्म पार गरिदिने विकल्प थियो, पुरानो डुंगा।
डडेलधुराको पर्शुराम नगरपालिका वडा नं ७ सादनी गाउँका साउँद काठको काम गर्छन्। काठकै काममा गर्दा बिहानै उनको हात आराले काट्यो। साउँद हात काटिए लगत्तै नजिकैको स्वास्थ्य चौकी पुगे। तर, गहिरो घाउ भएकाले स्वास्थ्य चौकीले उपचार गर्न ठूलो स्वास्थ्य संस्था पुग्नुपर्ने बतायो। त्यसपछि उनी सादनी गाउँ छेउको महाकाली नदीको किनारमा पुगे।
महाकाली नदीको बहावलाई पुरानो डुंगाले झेल्न सक्ला कि नसक्ला भन्ने डर यात्रुलाई सधैं रहन्छ। उनलाई पनि थियो। गहिरो घाउ रहेको हातको पीडाले छटपटिरहेका साउँदले नजिकै अस्पताल नहुँदाको दुःख समेत मनमा बोकिरहेका थिए। स्थानीय लवजमा उनले भने, ‘हात त दुखेकै छ, त्यो भन्दा बढी मन दुखेको छ।’
ज्यानलाई जोखिममा राखेर उपचार गर्न भारत जानुपर्ने बाध्यता सम्झेर उनको मन दुखेको रहेछ। नेपाल सरकारले आफ्ना दुःख सम्झिदिएको भए भारत जानुपर्ने बाध्यताको अन्त्य हुने उनलाई लागेको थियो। तर, उनीहरुले आफ्ना मर्का वर्षौंदेखि सरकारका प्रतिनिधिलाई सुनाइरहेका छन्। तर, सुनुवाइ भएको छैन।
नजिकै राम्रो अस्पताल नरहेको बताउँदै उनी भन्छन्, ‘धनगढी जाँदा ढिला भइसक्छ। नदी तरेरै भए पनि भारत जान चाँडो हुन्छ।’
डडेलधुराको पर्शुराम नगरपालिकाको वडा नं ७ को भूभाग समथल छ। तर, जीवन सरल छैन। राम्रो सडक समेत छैन। सडकको पहुँच नभएका कारण पनि राति बिरामी पर्दा वा सुत्केरी व्यथाले च्यापेकी महिलालाई समेत यही डुंगा तारेर भारतको टनकपुर पु¥याउनुपर्ने बाध्यता छ।
सामान्य औषधि उपचार गर्न पनि भारत जानुपर्ने बाध्यताका कारण कतिपयले ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ।
सादनीकी महिला स्वास्थ्य स्वयंसेविका भगिरथी धानुक बिरामीका भरोसा हुन्। सामान्य जानकारी भएकी उनी स्वास्थ्य संस्था जान सुझाव बाहेक अरु दिन सक्दिनन्। भन्छिन्, ‘मैले चाँडो उपचार गराउन सल्लाह दिन्छु। उपचार गराउन त टनकपुर जानु बाहेक विकल्प नै छैन।’
राम्रो बाटोघाटो, पुलपुलेसा, उपचार गराउने अस्पताल र स्वास्थ्यकर्मीको अभावका विषयमा उनीहरुले धेरै गुनोसो गरे। तर, सुदूरको यो सुदूर गाउँमा सरकारी कर्मचारी समेत आउन नमान्ने रहेछन्। त्यसैले नजिकको स्वास्थ्य चौकी पनि कार्यालय सहयोगीका भरमा चलेको धानुक बताउँछिन्।
सादनीबाट नगरपालिकाको कार्यालय पुग्न समेत सानाठूला गरी तीन वटा खोला तर्नुपर्ने बाध्यता छ। दिनमा एउटा मात्रै गाडी नगरपालिकासम्म पुग्छ। खोलाकै बाटो भएर चल्ने गाडी वर्षायाममा भने बन्द हुन्छ साउँद भन्छन्, ‘हिउँदमा मात्रै हो गाडी चढेर नगरपालिका हुँदै सदरमुकाम जाने। वर्षायाममा त झन् मुश्किल पर्छ।’