डा पबन शर्मा स्त्रीरोग विशेषज्ञ हुन्। पाटन हस्पिटलमा कार्यरत ५८ वर्षका शर्मा साइकलप्रेमी पनि हुन्। स्वास्थ्यखबरको शनिबारीय स्तम्भ जीवनशैलीका लागि बुनु थारुले उनीसँग गरेको वार्ताः
कहिलेदेखि साइकल चलाउन सुरु गर्नुभएको?
म ८ वर्षको हुँदा पहिलो पटक साइकल चलाएको होला। म सातदोबाटोमा जन्मिएँ। लगनखेलको एउटा पसलमा साइकल भाडामा पाइन्थ्यो, सायद घन्टाको १५ पैसामा पाइन्थ्यो जस्तो लाग्छ। त्यहाँ एउटा स्कुलको वरिपरि साइकल दौडाइन्थ्यो। त्यसरी नै मैले साइकल चलाउन सिकेको हुँ।
त्यो कस्तो साइकल थियो?
बच्चाहरुको साइकल थियो। त्यतिबेला चेनवाला साइकल चलाइन्थ्यो। अलि ठूलो भएपछि ठूलो साइकल पाएँ। घरमा पानीको समस्या। साइकलको दुवै कुनामा राखेर मैले गाग्रीबाट पानी खुब ओसारेँ। बटुकभैरव इनारबाट पानी ओसारेर ल्याउँथे। १५–१६ वर्षको हुँदा भने मैले ठूलो साइकल चढ्न पाएँ। चाइनिज फोनिक्स साइकल थियो। म क्याम्पस जाँदा पनि साइकल चलाएर नै जान्थेँ। पछि गियरवाला साइकलको नसा लाग्यो। त्यसपछि हिरो साइकल किनेँ।
अहिलसम्म कति वटा साइकल परिवर्तन गरिसक्नुभयो?
अहिलेसम्म ५ वटा साइकल परिवर्तन गरेँ होला। साइकल अपग्रेड गर्दे जान मन लाग्छ। अहिले त साइकल पसलेसँग पनि मज्जाको दोस्ती बनिसकेको छ। अपग्रेड गर्दिराखेको हुन्छ। पुरानो साइकल साटेर नयाँ किन्छु।
अहिले कुन साइकल छ? त्यसको मूल्य कति पर्यो?
अहिले मसँग ट्वीटर भन्ने साइकल छ। त्यसको मूल्य ५० हजार हाराहारी होला।
दैनिक कति घन्टा चलाउनुहुन्छ साइकल?
म दैनिक सामान्यतया एक घन्टा साइकल चलाउँछु। अफिस पनि साइकल लिएर नै जाने गरेको छु। अरु नजिकका ठाउँमा पनि साइकलमै यात्रा गर्छु। हामीले अस्पतालमा साइक्लिङ क्लब पनि गठन गरेका छौं। शनिबार समय मिलेको खण्डमा साइकल लिएर विभिन्न ठाउँमा पुग्छौं। ३–४ घन्टा साइक्लिङ गर्छौं। साइकल र्याली पनि जाने गरेको छु कहिलेकाहीँ।
घरका अरु सदस्यले पनि चलाउँछन् साइकल?
चलाउँछन्। छोरा र भाञ्जाले साइकल चलाउँछन्। भान्जाको अफिस नजिक छ, उनी पनि साइकल चढेर नै अफिस पुग्छन्।
साइकल चलाएर कहाँकहाँ पुग्नुभएको छ?
म साइकल चलाएर आफूलाई मन परेका ठाउँहरु घुमेको छु। म लाकुरी भञ्ज्याङ, कोटडाँडा, काठमाडौं तथा पाटनका गल्ली सबैतिर साइकलबाट चहारेको छु। अनि अरु विभिन्न ठाउँहरु पनि घुमेको छु।
साइकल चलाउन किन मन पर्छ?
म आनन्दका लागि साइकल चलाउछु। म ठूलो बाटोमा हिँड्दिन। सानोसानो गल्ली हुँदै हिँड्छु। गाडी पनि धेरै गुड्दैन। घर जाँदा गाडीभन्दा छिटो पुगेको पनि महसुस हुन्छ। सरर गयो भने समय धेरै लाग्दैन। म लामो रुट बनाएर जान्छु अनि कतै केही देखेँ भने रोकिएर हेर्दे जान्छु। ट्राफिक पनि धेरै मान्नुपर्दैन। घुम्दैघुम्दै घर पुग्दा अर्कै आनन्दको भान हुन्छ। व्यायाम पनि हुन्छ। फूलबारीमा गोडमेल गर्न मन पराउँछु। साइकल चलाएपछि मलाई अरु व्यायाम आवश्यकता परेको छैन।
साइकलयात्रीको लागि सडक कत्तिको सुरक्षित छ?
चलाइराखेकोलाई आत्मविश्वास हुन्छ चलाउन डर लाग्दैन तर बाटो सुरक्षित छैन। साइकलयात्रीलाई हेप्छन्। बाहिर देशमा साइकल आएपछि बाटो छोडिदिएर सम्मान प्रकट गर्ने संस्कृति देख्दिन म यहाँ। कुकुरलाई बाटो छोड्लान् तर साइकलयात्रीका लागि बाटो छोड्न हिचकिचाउँछन्। जेब्रा क्रसिङ गर्दा पनि हुत्याएर लिएर आएको पाएको छु मैले। मलाई लाग्छ, बाटो सुरक्षित भयो भने धेरै मानिस साइकल चढ्न लालायित हुनेछन्।
कति वर्ष भयो लगातार साइकल चलाएको?
साइकल म पहिलेदेखि नै चलाउँथे। तर पछि गाडी, मोटरसाइकलले अलि विस्थापित गरिदिए जस्तो भएको थियो। तर २०७२ को भूकम्पपछि पनि म लगातार साइकलमै यात्रा गर्छु। त्यतिबेला गाडी पनि कम चले। कहिँ जानुपर्यो भने मात्र हो अरु साधन प्रयोग गर्ने। परिवार लिएर गयो भने गाडी चलाउँछु। तर साइकल नै मन पर्छ।
साइकल चढ्नुका फाइदा के छन्?
साइकलले वातावरण प्रदूषित नहुन मद्दत गर्छ। त्यसैगरी व्यायाम त हुने नै भयो। तरकारी किन्न जाँदा या छोटो दुरीका कतै हिँड्दा साइकल लिएर जानु राम्रो। अहिलेका मानिसहरु वातावरण बिगार्नतिर लागेका छन्। रुखहरु काटिएका छन्। सडक धुलाम्ये छन्। वातावरणलाई हरियाली बनाउनुपर्यो। प्रदूषणरहित बनाउनुपर्यो। तब साइकल चढ्नुको पनि सार्थकता हुन्छ।