भरखरै एसएसली पास गरेको एक युवा, जो गाउँबाट प्राविधिक विषय पढ्नका निम्ति राजधानी छिर्छन्। र, ओभरसियरमा भर्ना हुन्छन्।
आफूले सोचेजस्तो ओभरसियरमा उनी रमाउन सक्दैनन्।
किनकि ओभरसियर पढाइका क्रममा हरेक शुक्रबार चाइनिज इँटाको गारो लगाउनुपर्ने। दुई वटा औंलाले दुईतिर इँटा समाएर राख्नुपर्दाको पीडा निकै असह्य हुन्थ्यो। दुब्लो र कमजोर शरीरले इँटा उचालेर खान सक्दिनँ भन्ने लाग्यो उनलाई।
त्यही समयमा उनले महाराजगन्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा हेल्थ असिस्टेन्ट (एचए) का लागि पनि आवेदन दिन्छन्। खुसीको खबर, त्यहाँ उनको नाम निस्कन्छ।
मन त ओभरसियर पढ्ने थियो। तर, दुब्लो ज्यानले इँटाको गारो लगाउन सक्दिन भन्ने सोचपछि उनले जीवनको गन्तव्य नै मोड्ने संकल्प गरे।
‘इँटा उचालेर खान सक्दिनँ, बरु सुई नै उचाल्छु’ भन्ने सोच उनको मनमा पलायो। त्यसपछि उनले छाडे, ओभरसियरको पढाइ। सुरु भयो, हेल्थ असिस्टेन्टको कक्षा।
पढाई सकेलगत्तै उनले स्वास्थ्य सेवा अन्तर्गत हेल्थ असिस्टेन्टको जागिर पाउँछन्। स्वास्थ्य सेवामा स्वास्थ्य सहायक हुँदै सबैभन्दा माथिल्लो तह सचिवसम्म भएर उनी रिटायर्ड हुन्छन्।
उनी हुन्, डा सेनेन्द्रराज उप्रेती।
काभ्रे स्थायी घर भएका डा सेनेन्द्रले स्वास्थ्य क्षेत्रमा ३८ वर्ष सेवा गरे। इँटा उचाल्न नसकेर स्वास्थ्य सेवामा छिरेका उनले यस अवधिमा स्वास्थ्य क्षेत्रका विकास र विस्तारमा ठूलो योगदान गरे। स्वास्थ्यका सूचक माथि उठाउन धेरथोर ‘इँटा’ थप्ने काम गरे।
स्वास्थ्य सेवामा रहँदा सधैं ऊर्जावान् डा सेनेन्द्रको अनुहारमा रिटायर्ड भइसकेको दुई वर्षपछि पनि उस्तै ऊर्जा बाँकी छ।
०००
२०१४ बैसाख ३० गते, काभ्रेको भुम्लुटारमा जन्मिए डा सेनेन्द्र। गाउँमै बित्यो बाल्यकाल। शारदा माध्यमिक विद्यालय फलाँटेबाट स्कुले जीवन पार गरे।
त्यतिबेला ५ वर्षसम्म लगातार कसैले पनि एसएलसी पास गरेन भने स्कुल खारेज हुने नियम थियो। एसएलसी दिने हरेक ब्याचको परिणाम शून्य हुन्थ्यो।
२०३२ सालमा उनी सहभागी ब्याचको एसएलसी थियो। जसलाई फलामे ढोका पनि भनिन्थ्यो।
धन्न ! पाँचौं वर्षमा उनले राम्रै नम्बर ल्याएर स्कुलको अस्तित्व जोगाए।
एसएलसीपछि उनी काठमाडौं छिरे।
काठमाडौंमा ओभरसियरमा भर्ना त भए। तर, टिक्न सकेनन्। पछि हेल्थ असिस्टेनतर्फ लागे। ‘इँटाको गारो लगाउन नसकेर बाटो मोडेँ,’ उनी हाँस्दै सुनाउँछन्।
पहिलो पोस्टिङ
हेल्थ असिस्टेन्ट हुँदा उनको पहिलो पोस्टिङ थियो, दाङको सिसन्या स्वास्थ्य चौकी। बाटो निकै अप्ठेरो। भारतको बाटो हुँदै जानुपर्ने बाध्यता।
त्यहाँबाट उनले जीवनको नयाँ अनुभव लिन थाले। जतिबेला उनी १९ वर्षका थिए।
व्यवहार र सेवाबाट सबैलाई प्रभावित पार्न सक्नु उनको विशेषता थियो। दुर्गम गाउँ भए पनि उनलाई मानिसहरूसँग घुलमिल हुन समय लागेन।
‘पहिलो कुरा त म सिस्टमलाई फलो गर्थें। यसकारण सफल हुन्थेँ,’ उनले भने।
त्यहाँ उनले झन्डै डेढ वर्ष सेवा गरे।
त्यसपछि उनको सरुवा सल्यानमा भयो। सल्यानमा केही समय सेवा गरे। सल्यानबाट काभ्रेको दाप्चामा सरुवा भयो। त्यसपछि सुर्खेतमा र नुवाकोट सरुवा भए।
जहाँजहाँ सरुवा हुन्थ्यो, अनुभव र निरन्तरताले उनमा निखारपन आउँथ्यो।
कामसँगै जीवनमा अर्को महत्वपूर्ण पाटो थियो अध्ययन। नुवाकोटको हेल्थपोस्टमा रहँदा उनी काठमाडौं आउनुपर्ने भयो।
त्यसपछि सुरु गरे एमबिबिएसको पढाइ।
डाक्टरी यात्रा
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट एमबिबिएस अध्ययन सकेपछि मेडिकल अधिकृतका रूपमा उनको पोस्टिङ सिन्धुपाल्चोक जिल्ला अस्पतालमा भयो। त्यहाँ केही समय सेवा गरेपछि सरुवा भएर पुगे, बझाङ।
उनी बझाङ पुग्दा त्यहाँको अस्पताल स्वास्थ्य चौकी जस्तो थियो। सुधार्नुपर्ने धेरै कुरा थिए। त्यहाँ उनले एक्सरे मेसिन, ल्याब लगायतका उपकरणको व्यवस्था गरे। अन्य प्रणाली र व्यवस्थापनमा सुधार गरे।
‘बल्ल पो जिल्ला अस्पताल जस्तो भयो त,’ उनले सुधार गरेपछि स्थानीयले प्रतिक्रिया दिन थाले। पहिला उपचार नपाएर फर्किनुपर्ने बिरामीले अस्पतालमा सहजै उपचार सेवा पाउन थाले।
जिल्ला अस्पताललाई राम्रो उपचार गर्ने संस्थाका रुपमा विकास गर्न उनी सफल भए।
अन्जानमै पब्लिक हेल्थ
हुन त डा सेनेन्द्रलाई पब्लिक हेल्थ (जनस्वास्थ्य) विषयमा कुनै रुचि थिएन। अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको उपचारमा सक्रिय हुने गरी ‘क्लिनिसियन’ डाक्टरकै रूपमा करिअर अगाडि बढाउन चाहन्थे उनी।
उनीसँगै पढेका केही साथी आज पनि नाम चलेका ठूला अस्पतालमा बिरामीको उपचारमा सक्रिय छन्।
बझाङमा काम गर्दासम्म उनी एमबिबिएस पास गरेर बिरामीको उपचारमा सक्रिय क्लिनिसयन डाक्टर नै थिए। तर, अचानक उनको बाटो फेरि मोडियो।
बझाङमा काम गर्दै थिए। त्यही बेला स्वास्थ्य मन्त्रालयबाट खबर आयो, ‘तपाईंलाई एउटा तालिममा छानिएको छ, तुरुन्त काठमाडौं आउनुपर्यो।’
दुर्गममा बिरामीको सेवा गरिरहेका डा सेनेन्द्रलाई सरकारले तालिममा छनोट गरेको खबरले निकै हर्षित बनायो।
काठमाडौं आएपछि उनलाई पासपोर्ट बनाउन भनियो। पासपोर्ट बनाए अनि उनी पुगे थाइल्यान्ड।
अनि पो थाहा भयो, उनलाई त एमपिएच अर्थात् मास्टर्स इन पब्लिक हेल्थ पढ्नका लागि पठाइएको रहेछ।
उनले उक्त विषयको अध्ययन सकेर फर्किएपछि ‘सरकारले एक व्यक्तिलाई दुई वटा मास्टर्स गर्न नदिने’ नियम लागू गर्यो। उनीअघिका कर्मचारीले सरकारी कोटामा दुई वटा मास्टर्स गर्न पाउँथे।
सरकारी कोटामा अरू विषयमा मास्टर्स पढ्न नपाउने भएपछि उनले क्लिनिसियन तर्फको मोह पनि त्यागिदिए। भन्छन्, ‘मैले थप पढ्ने अवसर पाएको भए कि बालरोग विशेषज्ञ कि त प्रसूति तथा स्त्रीरोग विशेषज्ञ बन्थेँ होला।’
७५औं नम्बरमा रहेको जिल्ला उत्कृष्ट ५ मा
पब्लिक हेल्थमा मास्टर्स तहको अध्ययन सके पनि उनले जिल्ला अस्पतालमा प्रमुखको जिम्मेवारीसहित चिकित्सकका रूपमा बिरामीको सेवामा सक्रिय हुनुपथ्र्यो।
थाइल्यान्डबाट फर्केपछि उनको पोस्टिङ दोलखा जिल्लामा भयो। त्यहाँ उनले ४ वर्ष सेवा गरे।
त्यतिबेला चरिकोटमा मात्र गाडी जान्थ्यो। तर, जिल्लाका ५२ वटै गाविसमा उनी बिरामीको उपचार र सेवाका लागि पुग्थे।
त्यसबेला उनी दोलखाका चर्चित डाक्टर थिए।
दोलखामा बसेर गरेका काम उनका मस्तिष्कमा अझै ताजा छन्। त्यतिबेला भरखरै क्षेत्रीय स्तरको समीक्षा गर्ने र जिल्लाहरूको रेटिङ गर्ने काम सुरु भएको थियो।
उनी जाँदा दोलखा ७५ नम्बरको सूचीमा थियो। ४ वर्षमा उनले जिल्लालाई उत्कृष्ट ५ मा पुर्याउन सफल भए।
जिल्लाका सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई काममा नियमितता कायम गर्न सफल भए। आकस्मिक बिरामी आउँदा जुनसुकै बेलामा पनि तत्पर रहने र कुनै लोभलालच नराख्ने वातावरण सिर्जना गरे।
काम गर्ने वातावरण र कर्मचारीलाई सुविधाको व्यवस्था तथा सम्मान गर्ने परम्पराको सुरुवात गरे।
दोलखामै रहँदा सुनखानीमा पहिरो गयो। ठूलो धनजनको क्षति भयो। त्यतिबेला उनी नेतृत्वको स्वास्थ्यकर्मी रेस्क्यु अपरेसनमा दिनरात खटिएका थिए।
दोलखामा ४ वर्षको अवधिमा उनी सायदै बिदामा बसे होलान्। ‘४ वटा दसैंमा पनि घर गइएन,’ उनले सम्झन्छन्।
दोलखामा रहँदा उनको योगदान अतुलनीय र अविस्मरणीय थियो। यही योगदानको कदरस्वरूप उनी गोरखा दक्षिणबाहुबाट समेत सम्मानित भए।
मन्त्रालयबाट पनि निकै हौसला पाए। त्यो उनको जीवनकै सबैभन्दा खुसीको क्षण थियो।
दोलखाबाट उनको गुल्मी सरुवा भयो। गुल्मीमा उनी छोटो समयमात्र बस्न पाए। त्यहाँको अघिल्ला व्यवस्थापन टिम कमजोर थिए। स्वास्थ्य क्षेत्रमा राजनीति हाबी थियो।
गुल्मीमा आफूले पनि अपेक्षाअनुरूप काम गर्न नसकेको उनी स्विकार्छन्।
गुल्मीबाट उनको राष्ट्रिय एड्स वा यौन नियन्त्रण केन्द्रमा सरुवा भयो। त्यहाँ एक वर्ष बसेपछि उनी मुस्ताङ गए।
मुस्ताङमा अस्पताल अति जीर्ण अवस्थामा थियो। जिल्ला अस्पतालमा बिरामी भर्ना गरेर उपचार गर्ने व्यवस्था पनि थिएन।
उनी गएपछि अस्पतालको नयाँ भवन बनाउन पहल गरे।
मुस्ताङका महिलाहरू सुत्केरी हुने समयमा उनीहरूलाई डेलिभरी गराउने ठाउँसमेत थिएन। यसो हुँदा अस्पतालप्रति बिरामी र आफन्तको विश्वास गुम्दै गएको थियो।
पैसा हुनेहरूले हेलिकोप्टरमार्फत सहरमा लैजान्थे। आर्थिक अवस्था कमजोर हुनेहरूले ज्यान गुमाउनुपर्ने अवस्था थियो।
त्यतिबेला उनले त्यहाँ रहेको जोमसोम माउन्टेन रिसोर्टसँग सहकार्य गरे। अस्पतालभित्र इन्डोर सञ्चालन हुन थाल्यो।
बिस्तारै अस्पतालभित्रै डेलिभरी गराउने अवस्था निर्माण गरे। त्यसपछि त्यहाँका मानिसमा अस्पतालप्रतिको विश्वास बढ्दै गयो।
त्यतिबेला मुक्तिनाथ जाने विदेशीहरू बिरामी भएर आउँथे। उनीहरू पूरा निको भएर फर्कन सक्थे। साढे तीन वर्ष उनी मुस्ताङ बसे। जिल्ला अस्पतालमा ओपिडी मात्र थियो। त्यसमा थुप्रै संरचनाको व्यवस्था मिलाए। धेरै सुधारका काम उनले मुस्ताङ बसेरै गरे।
उपचार नपाएर पोखरा जाँदाजाँदै बाटोमा नै मर्नुपर्ने अवस्थाका धेरै बिरामीलाई नयाँ जीवन दिए।
मुस्ताङबाट उनको सरुवा धादिङ भयो। धादिङमा केही समय सेवा गरेपछि उनी पुगे सुर्खेत।
८६ वटा ट्रकमा एकैरात अस्पताल सारियो
सुर्खेतमा रहँदाका केही अविस्मरणीय क्षण उनी आजपर्यन्त सम्झन्छन्।
सुर्खेतमा अस्पताल जहाँ थियो, त्यहाँबाट अर्को स्थानमा सार्नुपर्ने थियो। उनी सरुवा भएर सुर्खेत गएकै बेलामा त्यो काम गर्नुपर्ने। त्यो पनि ४ दिनभित्रमा। बजार क्षेत्रमा भएको अस्पताल ३ किलोमिटर पर सार्नुपर्ने भयो।
राजाको प्रत्यक्ष शासनकाल थियो। कतिपयले त उनलाई राजाको एजेन्ट पनि सोच्न थाले। ‘अस्पताल सार्ने स्थिति थिएन। जे, पनि हुन सक्थ्यो,’ उनी सुनाउँछन्।
तर, उनले आँट गरे।
एक रातमा ८६ वटा ट्रकमा सामान लोड गरेर बिरामीसहित बोकेर उनकै नेतृत्वमा अस्पताल सर्यो, सुर्खेतको वीरेन्द्रनगरमा।
‘राति बजारमा सुतेको मान्छे बिहान अर्को ठाउँमा आफूलाई पाउँदा अचम्मित भएका थिए,’ उनले हाँस्दै भने।
नेपाली सेनाको सहयोगमा रातारात अस्पताल सारिएको थियो।
बजारमा रहेको अस्पताल सर्दा नजिकै रहेका क्लिनिक सञ्चालकहरूले विरोध गर्न सक्थे। तर त्यसो भएन।
यहीबीच उनी नवौं तहबाट एकैपटक एघारौं तहमा बढुवा भए।
त्यसपछि भरतपुर अस्पताल सरुवा भएका उनी त्यहाँ मेडिकल सुपरिटेन्डेन्ट बने।
त्यहाँ रहँदाको एउटा क्षण उनी सम्झन्छन्। अस्पतालमा जब मानिसहरू शव लिएर आउँथे। त्यसै लडाइन्थे। त्यो देखेर उनी भावुक भए। सोचे, बाँचेको मान्छेलाई मात्र होइन, मरेको मान्छेलाई पनि त सम्मान गर्नुपर्छ।
त्यो अमानवीय व्यवहार देखेर उनले शव राख्ने फ्रिजहरूको व्यवस्था गरे।
भरतपुर अस्पताल त्यतिबेला एक सय बेडको थियो। तीन सय बेड बनाउन उनको ठूलो योगदान छ।
भरतपुरपछि उनको सरुवा भयो काठमाडौंमा।
स्वास्थ्य सेवा विभाग र मन्त्रालयका महत्वपूर्ण महाशाखा र विभागको जिम्मेवारी सम्हाले। विभाग र महाशाखामा रहँदा स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन उनको महत्वपूर्ण भूमिका रह्यो।
विपत्तिपछिको व्यवस्थापन
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रहेको समयमा कोसी ब्यारेज फुट्यो। जनधनको क्षति भयो। विपत्तिपछि सरुवा रोगको महामारी फैलिने खतरा उत्तिकै थियो। तर, डा सेनेन्द्रको अगुवाइमा काम चुस्त र प्रभावकारी बन्यो।
बाढीले विनाश गरेका क्षेत्रमा स्वास्थ्यका टोली औषधि र अन्य आवश्यक व्यवस्थासहित पुगिहाले।
‘को मान्छे कहाँकहाँ बसेका छन् भनेर हामीले म्यापिङ ग¥यौं,’ त्यसबेलाको काम सम्झँदै उनले भने, ‘अस्थायी शिविर खडा गरेर प्रत्येकलाई निगरानीमा राख्यौं। पीडितहरूले पानी के खान्छन्, कसरी खान्छन्, औषधि पाउँछन् कि पाउँदैन् सबै कुराको डाटा राख्यौं। र, काम अगाडि बढायौं।’ उक्त क्षेत्रका सरकारी, गैरसकारी र अन्य संघसंस्थासँग पनि सहकार्य गरेर काम अगाडि बढाएका कारण व्यवस्थापन सफल भएको उनी बताउँछन्।
उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक भएको समयमा भूकम्प गयो। भूकम्पपछिको स्वास्थ्य व्यवस्थापनमा पनि उनले उत्तिकै सक्रियतासाथ काम गरे।
२०७२ बैसाख १२ को उनको मानसपटलमा अझै ताजा छ। त्यसदिन विश्व मलेरिया दिवस थियो त्यो दिन। उनी मन्त्रीको क्वार्टरमा औलोको विषयमा कुराकानी गर्दै थिए। त्यति नै बेला भूकम्प आयो।
‘भूकम्पले मनमा ठूलो डर त जमायो नै। तर, त्योभन्दा बढी चिन्ता सर्वसाधारणको अवस्थाप्रति थियो,’ उनी भन्छन्, ‘भूकम्प गएलगत्तै धेरैतिर फोन गरेर समन्वयका लागि पहल गरेँ। गृह मन्त्रालयाम गएर योजना बनाएँ।’
नेपाल आर्मी, नेपाल सरकार र मन्त्रालयबीच समन्वय भयो। घाइतेहरूलाई बचाउन कुनै कसर बाँकी राखेनन्। सरुवा रोगको संक्रमण हुन नदिन विभिन्न टिम बनाएर फिल्डमा पठाए।
त्यतिबेला निजी अस्पताल बन्द जस्तै थिए। तर सरकारी अस्पतालले त्यतिबेला निकै राम्रो सेवा दिएको उनी बताउँछन्।
भूकम्पकै समयमा उपचारका लागि आवश्यक पर्ने औषधि तथा अन्य सामग्रीको वीर अस्पतालमा अभाव भयो। अस्पताल नजिकैका पसलमा ती सामग्री थिए। तर, पसल बन्द थिए। उनले प्रहरीको सहयतामा ती पसलबाट आवश्यक सामग्री निकाल्न लगाए। त्यसको दुई महिनापछि ती पसललाई सामग्रीको रकम उपलब्ध गराए।
स्वाइन फ्लुको पहिलो बिरामी भेटिँदा
सन् २००९ मा नेपालमा एक व्यक्तिलाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए भाइरस एच१ एन१को संक्रमण फेला परेको थियो। त्यतीबेला उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुख थिए।
उक्त रोगको संक्रमण अरूमा फैलनबाट रोक्नु ठूलो चुनौती थियो। यसका साथै संक्रमण फेला परेका बिरामीको उपचार पनि गर्नुपर्ने थियो।
यो चुनौतीको सामना उनी लगायतको टिमले गरेरै छाड्यो। ‘त्यस व्यक्तिको परिवारलाई एउटा अपार्टमेन्टमा राखेर त्यहीँ उपचार गर्यौं,’ उनले सुनाए।
एच१ एन१ लाई अहिले मौसमी रुघाखोकीको रूपमा चिनिन्छ।
उक्त नयाँ संक्रमणको व्यवस्थापनमा सफलता हासिल गरेका डा सेनेन्द्रलाई जाजरकोटमा फैलिएको हैजा र झाडापखालाको घटनाले भने आज पनि पीडा दिन्छ।
जाजरकोटमा महामारी फैलिएको समयमा उनी अमेरिकामा थिए। ६ महिनाअघि नै बिदा मिलाएर पुगेका। मन्त्रालयले नियन्त्रणको लागि ठोस काम गर्न सकेको थिएन। त्यसबेला विदेशमा भएको भन्दै उनको आलोचना पनि भएको थियो।
त्यतिबेला मन्त्रालयको सिस्टममा समस्या भएको उनी बताउँछन्। ‘मन्त्रालयले सोच्यो कि मसँग झाडापखाला रोक्न जादुको छडी थियो। त्यसलाई मैले खुसुक्क लिएर गएँ भनेजस्तो भयो,’ उनी भन्छन्।
मन्त्रालयको सिस्टमले हैजा र झाडापखालाको प्रकोप रोक्न नसकेपछि उनी बिदा छोट्याएर नेपाल फर्किए। प्रकोप नियन्त्रणका लागि आवश्यक कदम चाले। पछि प्रकोप नियन्त्रणमा आयो।
रोचक अनुभव
परिवार नियोजनका क्षेत्रमा पनि उनले थुप्रै काम गरेका छन्। आमा स्वास्थ्य कार्यक्रमदेखि परिवार योजनाको माइक्रो प्लानिङको अवधारणा बनाउन पनि उनको सक्रिय सहभागिता रहेको छ। यो क्षेत्रमा केन्द्रमा रहेर नीति, योजना तथा कार्यक्रम बनाउने मात्र नभई उनले जिल्ला अस्पताल तथा दुरदराजका गाउँमा पुगेर प्रत्यक्ष सेवासमेत दिएका छन्।
दोलखामा नै काम गर्ने क्रममा एक पुरुषको स्थायी बन्ध्याकरण गरेका थिए उनले। तर, ती पुरुषकी श्रीमतीले भने हँसिया लिएर आएर उनीसहितको टोलीलाई नै आक्रमण गर्छु भनेर धम्की दिइन्।
डाक्टर सेनेन्द्रले ती महिलालाई सम्झाइबुझाइ गरे। तर, उनले सात दिनपछि फेरि आउने भन्दै धम्क्याएर गइन्। ७ दिनपछि ती महिला पुनः आइन्। तर, उनले आफूले गलत रहेको स्विकारर्दै माफी मागिन्।
‘त्यतिबेलाको समय नै त्यस्तै थियो,’ डा सेनेन्द्रले भने, ‘परिवार नियोजन तथा अस्थायी साधनको कुरा गर्दा मानिसहरू डराउने, लजाउने तथा खुल्न चाहँदैन थिए।’
तर, पछिल्लो समय परिवार व्यवस्थापन तथा योजनाका क्षेत्रमा आएको सुधारलाई उनी राम्रो मान्छन्। ‘यो क्षेत्रमा उपलब्धि हासिल गर्न अझ धेरै बाँकी छ,’ उनले भने, ‘तर, यो अवधिमा भएको सुधार निकै राम्रो हो।’
डा सेनेन्द्रले काम सुरु गर्दाको समयमा नेपालमा सरुवा रोगको प्रकोप निकै थियो। तर, अहिले नसर्ने रोगको प्रकोप बढी भइसकेको छ। यद्यपि, अझै पनि दुर्गम क्षेत्रमा सरुवा रोगको संक्रमण भने कम भएको छैन। ‘एउटाको महामारी कम भएको छैन, अर्को संक्रमणमा हामी गाँजिएका छौं,’ उनी चिन्ता व्यक्त गर्छन्।
धेरै रोगहरू उन्मूलन भएका र केही निर्मूल हुने अवस्थामा रहेकोमा भने उनले खुसी व्यक्त गरे।
मानसिक स्वास्थ्यका रोगीको संख्या पहिलेभन्दा बढेको उनको भनाइ छ। ‘हाम्रो स्वास्थ्य प्रणालीमा यो ठूलो चुनौती हो। यसका लागि कुशल प्रसाशक र नेतृत्वले मात्र सम्बोधन गर्न सक्छ,’ उनी सुझाउँछन्।
सेवामा रहँदा गर्न नसकेको काम
स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा सेनेन्द्रलाई आफ्नो कार्यकालमा केही कुरा गर्न नसकेकोमा अहिले पनि थकथकी लागिरहन्छ।
स्वास्थ्यका कर्मचारीको स्तरोन्नति, बढुवा, सरुवामा अटोमिटक सिस्टम लागू गर्न नसकिएकोमा उनी चिन्तित छन्। यदि, त्यति गर्न सकेको भए आज समायोजनको नाममा कर्मचारीले दुःख भोग्नु नपर्ने उनको विश्लेषण छ।
केही काम चाहेर पनि गर्न नसक्नुमा आफ्नो कार्यकाल निकै कम हुनुको परिणाम भएको उनी स्विकार्छन्।
नेपालमा धेरै विशेषज्ञ अस्पताल छन्। नेपालजस्तो देशमा अत्यधिक विशेषज्ञ अस्पताल हुनु राम्रो ठान्दैनन् उनी।
‘खोल्न नदिनु नै उपयुक्त हुन्थ्यो। सीमित स्रोत र साधन भएको ठाउँमा अंग–अंगका विशेषज्ञ अस्पताल, दाहिने र देब्रे कानको अस्पताल भनेर थरीथरीका विशेषज्ञ अस्पताल खोल्नु नै राम्रो होइन,’ उनी भन्छन्, ‘बरु एउटै अस्पतालमा ती विभाग विकास गरिएको भए निकै राम्रो हुन्थ्यो। अस्पताल राम्रोसँग चलाउन सकिएन, बिरामीलाई राम्रो उपचार दिन सकिएन भने त्यो भोको हात्तीजस्तो हुन्छ।’
स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि निश्चित प्रक्रिया पूरा गरेर मात्र खोल्नुपर्ने उनको मत छ। भन्छन्, ‘मन्त्रीले भनेको भरमा मात्र खोलेर हुँदैन नि।’
प्रक्रिया नपु¥याएर स्थापना गरेकै कारण धेरै प्रतिष्ठानको अवस्था अहिले नाजुक बनेकोमा उनी चिन्तित छन्।
आफ्नो कार्यकालमा टाढाटाढा बस्ने स्वास्थ्य कार्यकर्तालाई सुविधा, क्वार्टर तथा इन्टरनेटको व्यवस्था गर्ने कुरामा आफूले कम सोचेको उनी स्वीकार गर्छन्।
रिटायर्ड जीवन
जागिर अवधिभर डा सेनेन्द्रले ३४ ठाउँमा बसेर काम गरे। हिमाली जिल्लामा मात्रै झन्डै २० वर्ष सेवा पुर्याए।
बरु धेरै समय सरुवा भइरहे, आफूले निवेदन दिएर सरुवाका निम्ति कहिल्यै गुहारेनन्।
दोलखामा रहँदा एक महिनाजति निजी अभ्यास गरेका थिए। त्यस क्रममा १३ जना बिरामी जाँच गर्दा ११ जना निःशुल्क हेर्थे। त्यसपछि उनले जीवनमा कहिले पनि निजी अभ्यास गरेनन्।
३८ वर्षे जागिरे जीवनका क्रममा उनले स्वास्थ्यका धेरै सूचकमा आएको प्रगति देखेका छन्। तर, नयाँ व्यवस्था र संघीय संरचना अनुसार परम्परागत काम गर्ने शैलीमा परिवर्तन ल्याउनुपर्ने उनको सुझाव छ। स्वास्थ्यमा राजनीति मिसिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे।
रिटायर्ड जीवनमा पनि उनी फुर्तिलो र सक्रिय छन्।
बेला–बेलामा पब्लिक हेल्थकै सेवामा रमाइरहेका हुन्छन्, उनी। कहिले गाउँ र कहिले सहर गर्छन्। पत्रपत्रिका तथा लेख पढ्छन्। स्वास्थ्य क्षेत्रका साथीभाइलाई सुझाव तथा सल्लाह दिइरहन्छन्।
रिटायर्ड जीवन बिताइरहँदा उनी बेलाबखत सोच्ने गर्छन् र आफैं अचम्मित हुने गर्छन्– मैले सचिवसम्म हुन्छु भनेर त कहिल्यै सोचिनँ।
उसो त क्लिनिकको मान्छे पब्लिक हेल्थमा आएर पनि निकै राम्रो काम गर्ने मध्येमा पर्छन्, उनी।
‘अचानक पब्लिक हेल्थमा आएर बाटो बिराए जस्तो लाग्दैन,’ बरु मुस्कुराउँदै भन्छन्, ‘उता रोग बुझिन्थ्यो, यता मान्छे बुझियो।’