डा गोपाल रमण शर्मा पेसाले न्युरो सर्जन हुन्। हाल मेडिसिटी अस्पतालमा कार्यरत उनी फुर्सदको समयमा पुस्तक पढ्न रुचाउँछन्। उनीसँग स्वास्थ्यखबरको जीवनशैली स्तम्भका लागि बुनु थारुले गरेको पुस्तक-संवाद :
पढ्न कत्तिको मज्जा लाग्छ?
मलाई पढ्नमा एकदमै रुचि छ। म सानैदेखि पत्रपत्रिका, किताब पढ्न मन पराउँथे। भारतबाट आएका विभिन्न किताब तथा म्यागेजिनहरु पढ्थेँ। नेपालमा प्रकाशित हुने गरिमा, युवामञ्ज, मुना आदि पढ्थेँ। म पढ्न सुरु गरेँ भने नसिध्याएसम्म पढिराख्छु। समय बितेको पत्तो पाउँदिन।
कतिबेला पढ्नुहुन्छ?
म बिहान ७ बजे नै घरबाट निस्किन्छु। कहिलेकाहीँ घर फर्किंदा रातको ९ देखि बिहानको ३ बज्छ। तर फुर्सद पाउनेबित्तिकै आफूसँग भएको पुस्तक पढिहाल्छु। म बाहिर सम्मेलनका लागि गएँ भने किताब साथैमा हुन्छ। प्राय: शनिबार चाहिँ म अध्ययनमै बिताउँछु। पढ्न सहज होओस् भनेर घरमै लाइब्रेरी पनि बनाएको छु। दसैं-तिहारको बेला पनि पढ्छु। त्यतिबेला भने अलि समय मिल्छ।
कस्ता प्रकारका किताब पढ्नुहुन्छ?
म उपन्यास, मेडिकल सम्बन्धी विभिन्न पुस्तक, आत्मकथा, इतिहास, संस्मरण यात्रा, नेपाली तथा अंग्रेजी साहित्यका पुस्तकहरु पढ्न मन पराउँछु। कुनै जटिल केश गर्नुछ भने त्यससम्बन्धी सिनियर डाक्टरको अनुभव पनि पढ्छु। त्यसले काम गर्नमा अझै आत्मविश्वास थप्नुका साथै नयाँ तरिका थाहा पाइन्छ।
कति किताब संकलनमा छन्?
मसँग साढे २ सयजति उपन्यासका किताब होलान्। त्यसबाहेक अरु किसिमका पुस्तकहरु गरी ६ सय चाहिँ संकलनमा होलान्।
सबैभन्दा बढी पढेका पुस्तक?
मलाई सेक्सपियरका पुस्तकहरु औधी मन पर्छन्। त्यसैगरी लियो टोल्सटोयका किताब पनि दोहोर्याइ-तेहर्याइ पढेको छु।
तपाईंका मन पर्ने लेखकहरु?
मलाई बिपी कोइराला, धुव्रचन्द्र गौतम, पारिजात, बैरागी काइँला, भूपि शेरचन, हरिभक्त कटुवाल, जेफ्री आर्चर, केन फोलेट मन पर्छन्।
कसरी किताब छान्नुहुन्छ?
अरुले सिफारिस गरेका र आफूलाई मन परेका लेखकहरुको पुस्तक पढ्छु। म १० वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय मेडिकल जर्नलको ग्राहक पनि हुँ।
किताब किन पढ्नुहुन्छ?
आफ्नै घरको लाइब्रेरीमा पुस्तक पढ्दै डा गोपाल रमण शर्मा। तस्बिर: बुनु थारु
मलाई किताबले शान्तिको महसुस गराउँछ। यसले आफ्नो विषयमा अपडेट हुन पनि सघाउँछ। अरुका अनुभव र सिकाइ पनि किताबबाट थाहा पाइन्छ। त्यसैगरी प्रेरणाका स्रोत पनि हुन् किताबहरु। ज्ञानगुनका कुराहरु पनि सिक्न पाइन्छ।
किताबकै लागि कति खर्च हुन्छ?
बाहिरबाट पनि किताब मगाउनुपर्ने भएकाले मासिक १५ देखि २० हजार खर्च हुन्छ।
आफ्ना शिष्यहरुलाई कस्ता पुस्तक सिफारिस गर्न चाहनुहुन्छ?
न्युरो सर्जरी सम्बन्धी किताब तथा सर्जनहरुले लेखेका आत्मकथा मलाई मन पर्छन्। त्यसमध्ये हेन्री मार्सले लेखेको ‘डु नो हार्म’ सुझाउन चाहन्छु भने पाउल कलानिथीले लेखेको ‘ह्वेन ब्रेथ विकम्स् एयर’ पुस्तक पढ्न पनि सिफारिस गर्छु।
लेख्नु पनि हुन्छ?
म लेख्थेँ पहिला। तर अहिले लेख्ने र सोच्ने धेरै समय हुँदैन। भविष्यमा आफ्नो जीवनी समेटेर आत्मकथा निकाल्ने मन छ।