डा जीवन क्षेत्री प्याथोलोजिस्ट हुन्। चिकित्सा पेसासँगै उनी लेखन र पठनमा पनि उत्तिकै सक्रिय छन्। राष्ट्रिय सञ्चारमाध्यममा लेख लेखिरहने उनले पठन संस्कृतिको विकास होस् भनेर ‘डबली’ नामक क्याफे खोलेका छन्। स्वास्थ्यखबरको जीवनशैली स्तम्भका लागि बुनु थारुले गरेको पुस्तक वार्ताः
अहिले के पढ्दै हुनुहुन्छ?
मैले पठनलाई विविध बनाउन पछिल्लो समय पोड्कास्ट सुनिरहेको छु। म इतिहासविद् माइक डन्कनको ‘रिभोलुसन्स्’को एपिसोडहरु सुनिरहेको छु। त्यसबाहेक अरुन्धती रोयको ‘द मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस्’ पनि पढिरहेको छु। हालसालै श्रद्धा घलेको ‘द वेवार्ड डटर’ पढेर सिध्याएँ।
कस्ता खालका पुस्तकहरु पढ्न रुचाउनुहुन्छ?
म फिक्सन र ननफिक्सन पढ्न रुचाउँछु। पहिलाचाहिँ बढी फिक्सन पढ्थेँ। पछिल्लो समय आफ्नो काम लेखाइ, चासोसँग सम्बन्धित हुने भएकाले ननफिक्सन बढी रुचाउँछु।
कसरी समय निकाल्नुहुन्छ?
म आफ्नो काम हेरेर फुर्सद निकाल्छु। विशेषगरी बिहानको समयमा म फिक्सन पढ्न रुचाउँछु किनकि इतिहासका कुराहरु याद गर्न सजिलो हुन्छ। अलि रातको समयमा ननफिक्सन पढ्छु।
मन पर्ने लेखक?
मन पर्ने लेखकहरु धेरै छन्। तर अहिले दिमागमा आएको नेपाली आख्यानकारमा बिपी कोइराला, समसामयिक आख्यान लेखनमा नयनराज पाण्डे, गैरआख्यानमा विदेशी लेखक माल्कम ग्लाडवेल मन पर्छन्।
मनपर्ने पुस्तक?
‘द ब्रदर्स कारामाजोभ’ मलाई मन पर्ने किताबमध्ये एक हो। किनभने यसले मान्छेको नैतिकता तथा चरित्र, मानसिक पक्षको बारेमा बताउँछ। त्यसैगरी ओह्रान पामुकको ‘स्नो’ पनि मन परेको पुस्तक हो। यसले मानिसको भावना, प्रेम आदिको बारेमा बताएको छ।
लेखनलाई कसरी समय छुट्याउनुभएको छ?
पहिला म हप्ताको ३–४ वटा लेख लेख्थेँ। अहिले महिनाको २ वटा जति लेख्छु। समसमायिक विषयवस्तुमा लेख्न मन लाग्छ।
डबली किन खोल्नुभएको हो?
पछिल्लो समयमा खासगरी सामाजिक सञ्जालमा हुने बहस धेरैजसो विषयवस्तुभन्दा सतहमा बहकिने अनि एक किसिमको ध्रुवीकरण मात्र हुने र गहन बुझाइ नहुने देखिन्छ। किताब पढ्ने, किताबमाथि छलफल गर्ने संस्कृति अलि पछाडि पर्दै गएको हो कि भन्ने महसुस भएको थियो। त्यसपछि किताब पनि पढ्ने, किताब सम्बन्धी तथा समसामयिक विषयवस्तुमा छलफल गर्ने ठाउँको आवश्यकता महसुस भएर डबली खोलिएको हो। सार्थक किसिमको बहसलाई बढावा दिने र पठन संस्कृतिको विकास गर्ने नै लक्ष्य हो।
कस्ता किताबहरु राख्नुभएको छ?
मेरो पर्सनल कलेक्सनका साथसाथै चलेको नचलेको सबै पुस्तकहरु राख्ने गरेका छौँ। समसामयिक किताबहरु नेपाली र अंग्रेजी दुवै खालका छन्। रिडिङ रुम पनि छ। पुस्तक बिक्रीमा पनि राखिएको हुन्छ। त्यसैगरी स्रोत सामग्रीको कलेक्सन पनि छ। रिसर्चका किताबहरु पनि हुन्छन्।
नेपालीमा पठन संस्कृतिको अवस्था कस्तो देख्नुहुन्छ?
पठन संस्कृति म त्यति उत्साहजनक देख्दिनँ। अहिले नयाँ प्रविधि आएर युवा पुस्ता प्रविधिमैत्री पनि हुन पुग्यो। त्यसैको लत बसेको जस्तो देख्छु। इबुक, अडियो बुक जस्तो नयाँ किसिमले किताब पढ्ने चलन आएको छ। अडियो भिजुअलले जति छिटो ध्यान तान्छ, त्यसलाई छोडेर किताब पढ्ने धैर्यचाहिँ मान्छेमा कम हुँदै गएको जस्तो देखिन्छ।