सामान्यतयाः गर्भ रहेको ९ महिना पूरा भएपछि बच्चाको जन्म हुन्छ। तर सबै बच्चा ९ महिना पूरा भएपछि नै जन्मन्छन् भन्ने छैन। कतिपय बच्चा समय नपुग्दै जन्मिन सक्छन्। कहिले सात÷आठ महिनामा त कहिले ६ महिनामै पनि बच्चा जन्मिन्छन्।
समय नपुग्दै जन्मने बच्चाको स्वास्थ्यमा धेरैखाले समस्या हुन्छ। यसरी जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ। उनीहरुको तौल पनि कम हुन्छ। १५ सय ग्राम तौल भएका बच्चालाई ‘हाइ रिक्स बेबिज’ भनिन्छ।
समयअघि जन्मने बच्चालाई बचाउन गाह्रो हुन्छ। किनभने, उनीहरुलाई (नवजात शिशुलाई राख्ने ठाउँ) एनआइसियुमा अक्सिजन दिएर राख्नुपर्ने हुन्छ। सबै अस्पतालमा एनआएसियुको सुविधा हुँदैन। फेरि सबै बच्चाको जन्म अस्पतालमा पनि हुँदैन।
यसै कारण समय नपुग्दै जन्मने धेरै बच्चाको मृत्यु हुन्छ। बाँचेका बच्चामा पनि धेरैमा शारीरिक समस्या देखिन्छ।
समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्या (रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी आरओपी) पनि एक हो। कम तौल भएका, जन्मेपछि अक्सिजन लगाएर राख्नुपर्ने बच्चामा आँखाको पर्दामा समस्या हुन्छ।
यो जन्मजात समस्या भने होइन, बच्चा जन्मेपछि हुने समस्या हो। सामान्यतयाः समय पुगेर जन्मिने बच्चामा पनि आँखाको पर्दा विकास हुन थप एक महिना लाग्छ। समयअगावै जन्मने बच्चाको आँखाको जाँच गरिएन र उपचार भएन भने उनीहरुमा अन्धोपन हुन्छ।
आरओपी भएको बच्चाको जन्म भइसकेपछि प्रसूतिरोग विशेषज्ञ वा नवजात शिशु विशेषज्ञले विशेष ध्यान दिनुपर्ने हुन्छ। विशेषज्ञ डाक्टरले यसरी जन्मिएको बच्चाको आँखा जाँच गराउन सल्लाह दिनुभयो भने समयमै उपचार हुन्छ।
शिक्षण अस्पताल, कान्तिबाल अस्पतालमा यस्तो बच्चाको जन्म भएपछि हामीलाई बोलाउनुहुन्छ। हामी गएर बच्चाको जाँच गर्छौं। बच्चाको आँँखाको पर्दाको समस्या हेरेर इन्जेक्सन लगाउनेदेखि लेजर र शल्यक्रियासम्मको उपचार हुन्छ।
शल्यक्रिया गरी गरिने उपचार धेरै सफल मानिँदैनन्। त्यसले ज्योति फर्काउ सक्ने सम्भावना न्यून हुन्छ।
आरओपी उपचार गरेर निको हुने समस्या हो। तर यो अस्पतालमा सुत्केरी भई जन्मिने बच्चामा मात्र पत्ता लगाउन सजिलो छ। नेपालमा अझै पनि घरमै सुत्केरी हुने चलन छ। त्यसैले घरमा जन्मिने बच्चाको उपचार हुन पाउँदैन। किनभने, घरैमा जन्मिने बच्चाहरुको शारीरिक अवस्थाबारे थाहा पाउन गाह्रो हुन्छ। नेपाली समाजमा अहिले पनि सात महिना नपुगी जन्मेका बच्चा भाग्यमानी हुन्छन् भन्ने गरिन्छ। किनभने यसरी जन्मेका कमै बच्चा मात्र बाँच्न सक्छन्।
उपचार गरिएका बच्चालाई पछिसम्म ख्याल गर्नुपर्छ। आरओपी भई उपचार गरिएका बच्चाहरुमा पछि पनि आँखासम्बन्धी अन्य समस्या छिटो हुनसक्छ। त्यसैले उनीहरुले पछिसम्म आँखाको ख्याल राख्नुपर्ने हुन्छ।
उपचार भएपछि यस्ता बच्चाको आँखामा समस्या हुन्छ। जस्तो कसैलाई जीवनभर हाई पावर भएको चस्मा लगाउनुपर्ने हुनसक्छ। बच्चाको आँखा बांगो वा डेडो देखिन्छ। यस्ता बच्चामा चाँडै मोतिविन्दु, जलविन्दु, अल्छी आँखा हुने सम्भावना धेरै हुन्छ।
उपचार के हो ?
आरओपी भएका बच्चा उपचारका लागि हामीकहाँ आउँदैनन्। हामी नै उनीहरु भएको ठाउँमा पुग्नुपर्छ। किनभने भर्खर जन्मिएको शिशुमा केके समस्या छ भने प्रसूति विशेषज्ञ, बालरोग तथा नवजात शिशु विशेषज्ञले मात्र भन्न सक्नुहुन्छ।
आरओपी भएको बच्चा जन्मिने बित्तिकै आँखा जाँच गर्ने पनि होइन। हामीले केही समयपछि जाँच गर्छौं। समयअघि जन्मिएका कतिपय बच्चाको आँखा सामान्य पनि हुन्छ। कतिलाई उपचारको आवश्यकता नै पर्दैन।
बच्चाहरुलाई सर्जरी गर्नुपर्ने अवस्थासम्म जान नपरोस् भनी इन्जेक्सन लगाएर पनि उपचार हुन्छ। लेजर प्रविधिबाट उपचार हुन्छ। बच्चाको अवस्था हेरी उनीहरुको उपचार गरिन्छ। सर्जरी गरेर पनि आँखाको पर्दालाई ठिक ठाउँमा ल्याउन सकिन्छ। तर सर्जरी गर्दा देख्ने शक्तिमा सुधार हुने सम्भावना धेरै कम हुन्छ।
अतः हरेक अस्पतालमा समय अगावै बच्चा जन्मिएको छ भने उसको आँखामा समस्या छ÷छैन भनेर जाँच हुनुपर्छ। समयमै समस्या पहिचान गरी उपचार गर्न सकिएमा अन्धोपनबाट बचाउन सकिन्छ।
(डा श्रेष्ठ बालनेत्र रोग विशेषज्ञ हुन्)