– २० वर्षीया सोना शाही (नाम परिवर्तन) को दायाँ गालामा ठूलो कालो कोठी थियो। कोठी हटाउन उनले अनेक उपाय अपनाइन्, तर हटेन। एक दिन युट्युबमा चुना र कागती लगाएर कोठी हटाउन सकिन्छ भन्ने भिडियो हेरिन्। भिडियोमा सिकाएअनुरुप उनले कोठी हटाउने कोसिस गरिन्। तर कोठी हट्नु त कता हो कता, उल्टै उनको छाला नै बिग्रियो।
– ३५ वर्ष उमेरकी एक महिलाले अनुहारको चायापोतो हटाउन औषधि पसलबाट क्रिम किनिन्। केही दिन सो क्रिम लगाइन् तर चायापोतो हट्नुभन्दा उनको गालामा झन् ठूला दाग देखिए।
यी दुई उदाहरण गलत औषधिको प्रयोग र देखासिकी गरेर उब्जिएका समस्या हुन्।
छाला सौन्दर्यसँग जोडिन्छ। आकर्षक छालाको चाहना सबैलाई हुन्छ। मानिसले छाला आकर्षक बनाउन विभिन्न उपाय अपनाउने गर्छन्। तर, औषधि प्रयोग गर्नुअगाडि कसैले पनि ध्यान भने पु¥याएको पाइँदैन। त्यसैले बुझेर मात्र अनुहारमा क्रिमहरुको प्रयोग गर्नुपर्छ।
धेरैमा अहिले टिभीमा आउने विज्ञापनको प्रभाव परेको देखिन्छ। कतिपयले गुगल हेरेर अनेक उपाय सिको गर्छन्। तर त्यसले झन् समस्या निम्त्याइदिन्छ। त्यसमाथि साथीहरुले जे क्रिम प्रयोग गरिरहेका छन् त्यही प्रयोग गर्ने देखासिकीले पनि छालाका अनेक समस्या लिएर आउने गरेका छन्, विशेषगरी युवतीहरु।
सबैको छाला एउटै प्रकारको हुँदैन। गुगल तथा युट्युबमा देखाएअनुसार सबै कुराको पछि लाग्दा फाइदा हुनुको साटो हानि हुनसक्छ। छाला राम्रो देखिनु पर्नेमा झन् कुरुप बनाइदिन्छ। त्यसैलै कुनै पनि सौन्दर्य प्रशाधन प्रयोग गर्नुभन्दा पहिले राम्ररी बुझेर वा विशेषज्ञ डाक्टरको परामर्श लिएर मात्र प्रयोग गर्नुपर्छ।
जथाभावी कस्मेटिकको पनि प्रयोग गर्नुहुँदैन। कस्मेटिकको खास अर्थ छालामा नकारात्मक असर नगर्नु हो। कस्मेटिकले छालामा असर ग¥यो भने त्यसलाई कस्मेस्युटिकल्स् भनिन्छ। कस्मेटिक भनेको छालालाई सुन्दर देखाउने प्रशाधन हो। औषधि मिसाएपछि त्यो कस्मेस्युटिकल्स् हुन्छ, त्यसले छालालाई प्रभावित पार्छ। अहिलेको मुख्य समस्या कस्मेस्युटिक्लस्लाई कस्मेटिकको रुपमा प्रयोग गर्नु नै हो।
कालोपोतो, अनुहार सुख्खा भएर आउने दाग, एक्जिमा, डण्डीफोर, छाला चिलाउने आदि समस्या बढिरहेका छन्। यस्तो हुनेबित्तिकै सबैभन्दा पहिले फर्मासिस्ट क्लिनिकमा गएर बुझ्ने, गुगल गर्ने या त साथीहरुसँग बुझ्ने जमात बढेको छ। साथीले आफूले प्रयोग गरिरहेको क्रिम सुझायो भने त्यही किनेर लगाउँछन्, जसले गर्दा अनुहार बिग्रिन पुग्छ।
मुख्य कुरा कस्मेटिकको नाममा स्टेरोइड भन्ने औषधि बिक्री भइरहेको छ। मानिसहरु बिना सुझबुझ यस्तो औषधि किनेर लगाउन पुग्छन्। स्टेरोइड भन्ने औषधिले दाग तथा कालो पोतो नजाने होइन, तर लामो समय लगाउँदा त्यसले छालाका विभिन्न समस्या निम्त्याउन थाल्छ।
छाला पातलो हुने, रातो हुँदै जाने, रौँ आउने, डण्डीफोर जस्तो रातो बिमिरा आउने आदि समस्या देखिन सक्छन्। रियाक्सन भएर मुहारमा दाग धब्बा आउन थालेपछि त्यो औषधि लगाउन छोडिन्छ। तर, औषधि लगाउन छोडे पनि दाग भने बढ्दै जान्छ। त्यसपछि छाला चिलाउने, सुख्खा हुने, फुस्रो हुने र छाला फुल्ने हुन्छ।
कुनैकुनै कस्मेस्युटिक्लस्लाई सन्सस्क्रिन भनेर बेच्ने गरिएको पाइन्छ। सन्सक्रिनमा भएका केही केमिकल्समा पनि घामले गर्दा रियाक्सन भएर चिलाउने हुनसक्छ। त्यसैले सोधेर, बुझेर मात्र प्रयोग गर्नुपर्छ। सम्बन्धित चिकित्सकसँग राय सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ।
यस्ता समस्या लिएर आउने धेरैजसो महिला नै हुन्छन्। विशेषगरी गृहिणी महिलामा धेरै समस्या पाइएको छ। अध्ययनहरुले के देखाएका छन् भने अशिक्षितभन्दा शिक्षित मानिसमा यस प्रकारका छालाका समस्या धेरै पाइएका छन्।
चेकजाँचका लागि आएपछि हामीले दाग अझ नफैलियोस् भनेर रोक्ने औषधि दिन्छौँ। रोकेपछि त्यसले रियाक्सन गर्ने हुन्छ। झन् डाक्टरले दिएको औषधिले बल्झियो भनेर गुनासो गर्छन्। बिगार्न पक्कै सजिलो छ, तर बनाउन समय लाग्छ। छाला राम्रो स्वरुपमा आउन कम्तीमा ६ महिनादेखि १ वर्षसम्म लाग्छ। त्यसैले धैर्यता आवश्यक छ।
छालाको उचित हेरचाहका लागि सन्तुलित भोजन र सही कपडाको छनोट महत्वपूर्ण हुन्छ। यस्तै, घामको नकारात्मक प्रभावबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने तथा सन्सस्क्रिन प्रयोग गर्नु जरुरी छ। विशेषज्ञको सल्लाहमा मात्र स्टेरोइड तथा अन्य औषधिको प्रयोग गरेमा छाला सुन्दर तथा स्वस्थ्य राख्न सकिन्छ।
(डा पराजुली त्रिवि शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ हुन्)