डडेल्धुराको अजयमेरु गाउँपालिका–५ मा पर्ने गालगाउँ वडा कार्यालय रहेको स्थानबाट करिब दुई घन्टाको पैदल दूरीमा पर्छ। गालगाउँका बासिन्दा विशेषज्ञ सेवा त परै जाओस्, न्यूनतम स्वास्थ्य सेवाबाट समेत बञ्चित छन्। स्वस्थ बच्चा जन्माउन गर्भवतीले न्यूनतम चार पटक स्वास्थ्य संस्था गएर चेकजाँच गर्नुपर्ने मान्यता यहाँ लागू हुँदैन। सुत्केरी अवस्थामा दुध, दही, माछामासु मासु खाने त धेरै टाढाको कुरा।
खुसार्नी नहालेको खाना खानुपर्छ भन्ने समुदाय बसोबास गर्ने अजयमेरुको गालगाउँमा चोटपटक लाग्दा माटो दलेपछि सन्चो हुन्छ भन्ने मान्यता अहिले पनि कायम छ। यहाँका बासिन्दा रोगले निकै शिथिल बनाएपछि मात्र स्वास्थ्य संस्था जाने गर्छन्। त्यस क्षेत्रका कार्यरत स्वास्थ्यकर्मीलाई पनि काम गर्न निकै असहज हुने गरेको छ।
ग लाग्दा स्वास्थ्य संस्था जानुपर्छ भन्ने जनचेतनासम्म नभएको क्षेत्रमा स्वास्थ्य स्वयंसेविका भएर काम गर्न कति अप्ठ्यारो पर्ला ? गालगाउँलाई नै मुकाम बनाएर दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य स्वयंसेविका भएर काम गरिरहेकी छिन् ६८ वर्षीया बृद्धा कलुदेवी खड्का।
अजयमेरु गाउँपालिका–५ गाल (साविसको देवलदिव्यपुर गाविस) कि कलुदेवी महिला स्वास्थ्य स्वंयसेविकाको रुपमा कार्यरत छिन्। उनीसँग स्वंयसेविका भएर काम गरेको अनुभव २२–२३ वर्षको छ।
‘घरमा श्रीमान् मात्र छन्। मेरो बुढाको पहिलाकी श्रीमतीले घर छोडेर हिँडेपछि दोस्री श्रीमतीको रुपमा आएकी हुँ म,’ कलुदेवी खुलस्त भइन्, ‘मबाट छोराछोरी छैनन्। जेठीबाट दुई छोरा छन्। तराई बस्छन्। काम परे आउँछन्।’
कलुदेवीका श्रीमान् २२ वर्ष पहिले गाविस अध्यक्ष रहेछन्। ‘त्यही बेला म स्वयंसेविका भएँ,’ उनले आफ्नो परिचय नडराई खुलाइन्।
पढाइलेखाइ नभएकी कलुदेवीले अहिले सामान्य लेखपढ गर्न मात्र सिकेकी छैनन्, बिरामीलाई औषधि सेवन गराउने तरिका, कस्तो बिरामीलाई कहाँ रिफर गर्ने तथा रोग लाग्न नदिने र रोगबाट बच्ने उपायसम्म जानेकी छिन्।
‘पहिले–पहिले औषधिबारे केही आउँदैनथ्यो। २२ वर्षको अनुभवले अहिले समान्य स्वयंसेविकाले जान्नैपर्ने सबै कुरा सिकेकी छु,’ उनले भनिन्, ‘अहिले त मलाई नाम पनि लेख्न आउँछ।’
टोलटोलमा आमा समूह छन्, समूहबाट नै स्वंयसेविका छनोट हुन्छन्। म निस्वार्थ रुपले सेवा गर्छु भन्नेलाई स्वंयसेविका बनाइने उनले बताइन्।
गाउँमा अहिले ८ देखि १२ कक्षासम्म पास गरेका १६ देखि ४० वर्षसम्मका स्वयंसेविका छन्। अजयमेरु गाउँपालिकाका अनुसार स्थानीय स्वास्थ्य संस्थाहरुमा मासिक रुपमा स्वंयसेविकाको बैठक बस्ने गरेको छ। स्वयंसेविकाले वार्षिक रुपमा पोसाक खर्च, प्रोत्साहन भत्ता र रिचार्ज खर्च पाउने गरेका छन्।
कलुदेवी पनि देवल स्वास्थ्य चौकीमा नियमित बैठकमा उपस्थित थिइन्, सबैभन्दा जेष्ठ स्वंयसेविका रुपमा।
नियमित बैठकमा अन्य स्वयंसेविकाले आफूलाई बूढी र असहाय भनेर हेप्नेगरेको गुनासो कलुदेवीले गरिन्। ‘कहिलेकाहिँ त काम नै छोडिदिउँ कि जस्तो लाग्छ,’ उनले गुनासो गरिन्, ‘तर सरकारले सम्मानपूर्वक बिदा गर्ला कि भन्ने आशले छोड्न सकेकी छैन।’
२२ वर्ष सेवा गरिसकेपछि सम्मानपूर्वक बिदा गरिनुपर्ने उनको माग छ। काम गर्ने चाहना हुँदाहुँदै अन्य स्वंमसेविकाको दबाबका कारण छोड्न बाध्य हुनुपरेको कलुदेवीले बताइन्।
गाउँपालिका अध्यक्षलाई कलुदेवीको सिधा प्रश्न
तपाईं द्वन्द्वकालमा मेरो घरमा आउनुहुन्थ्यो, बस्नु हुन्थ्यो, याद छ ? कलुदेवीले सोधेको प्रश्नमा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जवाफ दिए– छ।
द्वन्द्वकालमा मात्रै होइन, निर्वाचनका बेला पनि आएको बताए भट्टले। फेरि कलुदेवीले सिधा प्रश्न गरिन्, ‘जनताको पेट खाली छ, तपाईंको पेट त धेरै ठूलो भएछ, असजिलो हुँदैन?’
यो प्रश्नमा भने गाउँपालिका अध्यक्ष भट्ट नाजवाफ भए। महिला स्वास्थ्य स्वयंसेविका कलुदेवीले सुझाव दिइन्, ‘गाउँगाउँमा सडक पुगे, अब स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्यो।’