पाठेघरको दुवैतिर रहेको डिम्बासय प्रत्येक महिना डिम्बवाहिनी नलीद्वारा पाठेघरसँग जोडिन्छ। हरेक महिना डिम्बासयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ। योनीमा बसेको शुक्रकिट पाठेघर हुँदै डिम्बनलीमा आँउछ र फर्टिलाइजेसन हुन्छ। सामान्य गर्भमा भ्रुणको विकास गर्भासयमा हुन्छ। यदि गर्भासयमा बस्नुपर्ने भ्रुण गर्भासयभन्दा बाहिर बस्यो भने त्यसलाई एक्टोपिक गर्भावस्था भनिन्छ।
एक्टोपिक गर्भावस्था महिलाका लागि निकै खतरनाक पनि हुनसक्छ। गर्भासयभन्दा अन्य ठाउँमा भु्रणकोे विकास भयो भने बढ्दै गएर फुट्ने र रक्तश्राव भई महिलाको मृत्यु समेत हुनसक्छ। यदि भ्रुण गर्भासयभन्दा बाहिर विकास भएको छ भन्ने तुरुन्त उपचार गर्नुपर्छ। नेपालमा एकिन तथ्यांक नभए पनि पाटन अस्पतालमा एक्टोपिक गर्भ रहेर हप्तामा एक/दुई जना महिला आउने गरेका छन्।
एक्टोपिक गर्भ रहनुको मुख्य कारण
एक्टोपिक गर्भ विभिन्न कारणले गर्दा रहन्छ। यदि फर्टिलाइज भएको भ्रुण आउने बाटोमा कुनै अवरोध सिर्जना भयो भने एक्टोपिक हुनेगर्छ। ट्युबमा संक्रमण भएको छ भने पनि यो समस्या आउँछ। कुनै कारणले गर्दा ट्युबमा शल्यक्रिया गरेको छ भने पनि भ्रुण आउने बाटो नपाएर गर्भासयमा गर्भ नरही अन्य ठाउँमा रहन्छ। विभिन्न किसिमका हार्मोनको प्रयोग गर्ने महिलामा एक्टोपिक गर्भ रहनसक्छ।
महिलाले भविष्यमा यस्तो समस्या उत्पन्न हुन्छ भन्ने कुरामा ख्याल नै गरेका हुँदैनन्। भइसकेपछि मात्र पछुताउँछन्। पटक—पटक गर्भपतन गराउने र जहाँ पायो त्यहीँ गर्भपतन गराउँदा पनि ट्युबमा संक्रमण भई एक्टोपिक गर्भ रहने सम्भावना बढ्छ। कृत्रिम गर्भाधारण गर्नेलाई पनि एक्टोपिक हुने सम्भावना बढी हुन्छ।
एक्टोपिक गर्भावस्थाले ज्यान लिनसक्छ
प्राकृतिक रुपमा गर्भासयमा बसेको बच्चा ५ केजीसम्मको हुनसक्छ। किनकि गर्भासयको तन्किने क्षमता हुन्छ। यदि पाठेघरभन्दा अन्य ठाउँमा बच्चा बस्यो भने हुर्किंदै जाँदा त्यो ठाउँको तन्किने क्षमता कम भएर भ्रुण पेटमै फुट्छ र भित्रै रगत बग्छ। यो अवस्था निकै जोखिमपूर्ण हुन्छ। यस्तो अवस्थामा महिलाको ज्यान पनि जानसक्छ।
एक्टोपिक गर्भ रहेको कसरी थाहा पाउने?
बच्चा बस्नेबित्तिकै अस्पतालमा जाँच गराउनुपर्छ। यदि एक्टोपिक भएको शंका लागेमा अल्ट्रासाउन्ड गराउनुपर्छ। यसो गर्दा भ्रुण कहाँ बसेको छ भन्ने थाहा पाउन सकिन्छ।
महिनावारी हुने समय नाघेपछि एक्कासि पेट दुख्यो, चक्कर लाग्यो, अलिअलि रगत बग्यो भने एक्टोपिक हुने सम्भावना धेरै हुने हुँदा तुरुन्तै अस्पताल गई जाँच गराउनुपर्छ। किनभने एक्टोपिक गर्भ भनेको आकस्मिक अवस्था हो।
कस्ता महिलामा एक्टोपिक गर्भ रहन्छ?
कृत्रिम गर्भाधारण गर्ने महिलामा एक्टोपिक गर्भ रहने जोखिम बढी हुन्छ। त्यसबाहेक परिवार नियोजनको साधन कपर–टी लगाउने महिलामा पनि एक्टोपिक गर्भ रहनसक्छ। कपर–टीले पाठेघरमा गर्भ रहन मात्र रोक्छ, पाठेघर बाहेकका अन्य ठाउँमा गर्भ रहनबाट जोगाउन सक्दैन। यौन मार्गको संक्रमण, यौन रोग, फेलोपिन ट्युबको शल्यक्रिया गराएका महिलामा एक्टोपिक गर्भ रहने सम्भावना धेरै हुन्छ।
जाँच
महिनाबारी रोकिइसकेपछि एक्कासि पेट दुख्यो भने अल्ट्रासाउन्ड गरेर बच्चा कहाँ बसेको छ, पत्ता लगाउन सकिन्छ। कुनैकुनै महिलाले जाँच नै नगराई औषधि खाएर गर्भपतन गराउँछन्। जाँच नगराई आफैँ औषधि खाँदा बच्चा कहाँ बसेको छ भन्ने थाहा हुँदैन। यसरी औषधि खाँदा गर्भासयभन्दा बाहिर बसेको भ्रुण फुटेर रक्तश्राव भएको अवस्थामा आकस्मिक रुपमा अस्पताल आउँछन्। यही कारणले गर्दा कतिपयको ज्यान पनि गएको छ।
उपचार
एक्कासि तल्लो पेट दुख्यो र भित्री रुपमा रक्तश्राव भयो भने अवस्था हेरी तुरुन्तै शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ। गर्भमा रहेको शिशुको मुटुको चाल देखिएको छैन तर साइज सानो छ, फुटेर रक्तश्राव भएको छैन भने अस्पतालमा भर्ना गरी औषधि दिएर उपचार गरिन्छ।
बच्ने उपाय
समाज पहिलेजस्तोे छैन। अहिले मानिसको सामाजिक व्यवहार परिवर्तन भएको छ। खुला समाज बढ्दै गएकाले यौन सम्बन्धहरु पनि बढ्दै गएको जस्तो देखिन्छ।
धेरै मानिससँग असुरक्षित यौन सम्बन्ध राख्दा यौनांगमा संक्रमण हुँदा एक्टोपिक गर्भ रहनसक्छ। सरकारले गर्भपतनलाई मान्यता दिए पनि लुकीलुकी गर्भपतन गर्ने चलन पनि बढिरहेको छ।
यसरी गर्भपतन गराउँदा पाठेघरमा संक्रमण हुने सम्भावना हुन्छ। सही तरिकाले परिवार नियोजनका साधन प्रयोग गरियो भने अवैध गर्भ रहँदैन। एक जना व्यक्तिसँग मात्र यौन सम्बन्ध राख्ने, जहाँ पायो त्यहीँ अनि पटकपटक गर्भपतन गराउनुहुँदैन। गर्भ रहनेवित्तिकै बच्चा कहाँ बसेको छ भनेर जाँच गराउनुपर्छ।
(शर्मा वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन्)