छारेरोग मस्तिष्कमा हुने एक प्रकारको रोग हो। यो रोग लागेका व्यक्ति बेलाबेलामा मुर्छा परेर ढल्ने गर्छन्। विश्वमा ५ करोड मानिसमा छारेरोगको समस्या छ भने तीमध्ये ८० प्रतिशत बिरामी नेपाललगायत गरिब देशहरुमा छन्। नेपालमा छारेरोगका बिरामी कति छन् भन्ने यकिन तथ्यांक त छैन तर १ प्रतिशत मानिसमा यो समस्या भएको अनुमान गर्न सकिन्छ।
छारेरोग नसर्ने रोग हो। तर हाम्रो समाजले यो रोग लागेका व्यक्तिलाई पुनर्जन्मको पाप भनेर हेयको दृष्टिले हेर्ने, नराम्रो व्यवहार गर्ने र रोग सर्छ भनेर बिरामीबाट टाढै बस्ने गरेको पाइन्छ। उपचार हुँदैन भनेर गन्हाउने मोजा–जुत्ता सुघाएका घटनासम्म भएको देखिन्छ।
के कारणले हुन्छ छारेरोग ?
छारेरोग दुई प्रकारका हुन्छन्– एउटा कारण पत्ता नलागेको छारेरोग र अर्को कारण पत्ता लागेको छारेरोग। यो रोग लागेका १० जनामध्ये ६ जनामा कारण पत्ता लागेको हुँदैन। चार जना बिरामीमा भने रोग लाग्नुका विभिन्न कारण देखिएका छन्। बच्चा जन्मँदा वा अन्य कारणले टाउकोमा गम्भीर चोट लागको छ भने, विभिन्न इन्फेक्सन, दिमागमा संक्रमण, मेनिजाइटिसका कारण छारेरोग लाग्नसक्छ। फित्ते जुकाका अन्डाहरु दिमागमा जाँदा वा ब्रेन टुमरले गर्दा पनि छारेरोग देखापर्छ।
लक्षण
यो रोग लागेका मानिसहरु सामान्य मानिसजस्तै काम गर्न र हिँडडुल गर्न सक्छन्। बिरामीलाई कुन समयमा लक्षण देखापर्छ भन्ने थाहा हुँदैन। तर विभिन्न रङ देख्दा, बाजाको धुन सुन्दा वा बाटोमा हिँड्दा हिँड्दै रोगी बेहोस् हुने गरेका छन्। छारेरोगका बिरामी रोगले च्यापेपछि केही सेकेन्डदेखि केही मिनेटसम्म मात्र बेहोस् हुन्छन्।
बिरामी बेहोस् हुने प्रकार दुई वटा छन्– एकथरी बिरामी पूरै बेहोस् हुन्छन् भने अर्काथरी बिरामी अर्धबेहोस् हुन्छन्। बिरामीलाई आफू बेहोस् भएको पनि थाहा हुँदैन। बिरामी बेहोस् हुनुका अलावा काम्ने, मुर्छा पर्ने, हातखुट्टा दह्रो बनाउने, मुखबाट फिँज निकाल्ने, आँखा पल्टाउने र एक्कासि लड्ने गर्छन्। कारण पत्ता नलागेको छारेरोगको लक्षण १० वर्षभन्दा मुनिका बच्चामा देखिनेगर्छ। यदि चोटपटक र संक्रमणले गर्दा हुने छारेरोग भने उमेर बढ्दै गएपछि देखापर्छ।
उपचार
७५ प्रतिशत बिरामीले अहिले पनि औषधि पाएका छैनन्। यदि समयमा यो रोगको पहिचान गरेर उपचार गरियो भने ७० प्रतिशत बिरामीलाई निको बनाउन सकिन्छ। आफ्नो परिवारमा कसैलाई छारेरोग लागेको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। औषधि सेवन गरेको २ देखि ५ वर्षभित्र रोग नियन्त्रणमा ल्याई निको बनाउन सकिन्छ।
सरकारले प्राथमिक स्वास्थ्य केन्द्रसम्म छारेरोगको औषधि पठाएको छ। तर औषधि उपचारमा भन्दा धाँमीझाँक्रीमा बढी समय खर्च गर्नाले बेलाबेलामा छारेरोग फर्कन्छ। त्यसैले उपचार नै गर्नुपर्छ। पटकपटक छारेरोग फर्कंदा लडेर चोटपटक लाग्ने, मानसिक र शारीरिक रुपमा कमजोर हुने र जलेर मृत्युसम्म हुनसक्छ। नेपालमा यस्ता थुप्रै उदाहरण छन्।
रोकथाम
यदि छारेरोग वंशाणुगत छ भने त्यसको उपचार गर्नुपर्छ। कारण पत्ता नलागेको छारेरोगलाई उपचारमार्फत निको बनाउनुपर्छ। त्यसैले समयमा नै चिकित्सलाई देखाउनुपर्छ। जन्मँदा टाउकोमा चोट लागेर वा अन्य कारणले चोट लागेर हुने छारेरोगबाट जोगिन भने टाउकोमा चोट लाग्नबाट बचाउनु नै हो। बच्चा सुरक्षित स्थानमा जन्माउनुपर्छ। संक्रमणहरुबाट जोगाउन सकियो भने पनि छारेरोगबाट बच्न सकिन्छ।
चेतनाको कमी
छारेरोग भएर मुर्छा परेका व्यक्तिलाई जुत्ता–मोजा सुँघाएर होस्मा ल्याउने प्रयास गरिन्छ, जुन गलत हो। छारेरोग लागेर मुर्छा परेको व्यक्तिलाई खुला ठाउँमा केहीबेर राखिदियो भने होस्मा आउँछन्।
अर्को, पूर्वजन्मकोे पाप भनेर समाजले घृष्णा गर्ने डरले छारेरोग लागेका मानिस आफैं पनि रोग लुकाएर बसेका छन्। छारेरोग पूर्वजन्मको पाप होइन, उपचार गर्दा निको हुन्छ। नसर्ने रोग भएकोले बिरामीलाई छुँदैमा र सँगै बस्दैमा छारेरोग सर्दैन भन्ने चेतना फैलाउन जरुरी छ।
(मानसिक रोग विशेषज्ञ डा ओझा नेपाल छोरेरोग समाजका अध्यक्ष हुन्)