विश्व हेपाटाइटिस दिवस हरेक वर्षको जुलाई २८ मा मनाइन्छ। हेपटाइटिस 'बी' भाइरसका आविष्कारक ब्लुम्वर्गको जन्मतिथि पारेर सन् २०१० देखि यो दिवश मनाउन थालिएको हो। प्रत्येक वर्ष हेपाटाइटिससम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाइँदै आइएको छ।
पछिल्लो तथ्यांकअनुसार संसारभर करिब ३२ करोड हेपाटाइटिस संक्रमित व्यक्ति छन्। हेपाटाइटिसले वर्षेनी करिब १४ लाखको ज्यान लिने गरेको विभिन्न तथ्यांकले देखाएको छ। हेपाटाइटिस रोगहरुमध्येमा विश्वमा सातौं प्रमुख मृत्युको कारणसमेत हो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हेपाटाइटिस संक्रमित १० जनामध्ये ९ जनालाई यो रोग लागेको समयमै थाहा नहुने गरेको पाइन्छ। संख्यामा हेर्न हो भने करिब ३० करोड जनतालाई हेपाटाइटिस जिवाणुको संक्रमण भएको विषयमा जानकारी नै छैन। यदि यति ठूलो समुदायलाई रोग भए/नभएको जाँच नगर्ने र उपचारमा लैजान सकिएन भने वर्षेनी लाखौँको संख्यामा हेपाटाइटिसको संक्रमणबाट ज्यान जाने सम्भावना रहन्छ।
हरेक वर्ष विश्व स्वास्थ्य संगठन र हेपाटइटिसको क्षेत्रमा काम गर्ने संस्थाले विभिन्न कार्यक्रम गरी यसप्रति जनचेतना जगाउने गर्छन्। यसै परिप्रेक्ष्यमा यस वर्षको नारा 'निदान नभएका लाखौं हेपाटाइटिस संक्रमितको खोजी गरौँ' भन्ने रहेको छ।
संसारभर हेपाटाइटिस सरुवा रोगमध्ये दोस्रो ठूलो मृत्युको कारण हो। यो एचआइभीभन्दा ९ गुणा बढी जनमानसमा फैलिइसकेको छ।
हेपाटाइटिस विभिन्न प्रकारका हुन्छन्। जसमध्ये विज्ञानको प्रगतिसँगै हेपाटाइटिस 'सी' पूरै निको हुन्छ। हेपाटाइटिस 'बी' भने खोपबाट जोगिन सकिन्छ। हेपाटाइटिस 'बी'विरुद्धको खोप पहिलो क्यान्सर विरुद्धको खोप पनि हो।
विश्व हेपाटाइटिस दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले सम्पूर्ण राष्ट्र र यस क्षेत्रमा कार्यरत संघसंस्थालाई हेपाटाइटिस निर्मुल गर्ने पूण्य कार्यक्रममा थप लगानी गर्न आग्रह गरेको छ। यस वर्ष मित्रराष्ट्र पाकिस्तानले विश्व हेपाटाइटिस दिवसको विशेष ग्लोबल इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रम इस्लामाबादमा हुँदैछ।
हेपाटाइटिस 'बी' र 'सी'का कारण लाखौंको मृत्यु भइरहे पनि विश्वभर नै यसलाई गम्भीरताका साथ लिएको देखिँदैन। नीतिगत तहबाट नै यसका लागि आवश्यक कामहरु हुनुपर्ने हो। जनस्वास्थ्यका हिसाबले यो निकै ठूलो समस्या हो। त्यसकारण यस क्षेत्रमा धेरै काम गर्न बाँकी छ। यसको रोकथाम र सुरुमै निदान गर्दै उपचार गर्नेतर्फ आवश्यक कार्य अगाडि बढाउनुपर्छ।
हेपाटाइटिस संक्रमितमध्ये धेरैलाई यो रोगको निदान र उपचारको सहुलियत सुविधा छैन। यसकारण पनि समस्या थपिइरहेको छ। सन् २०१७ मा मात्रै करिब ३० लाख हेपाटाइटिस 'बी' र 'सी'का नयाँ बिरामी थपिए।
यद्यपि विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म संसारबाट हेपाटाइटिस निर्मुल गर्ने महत्वकांक्षी योजना लिएको छ। हेपाटाइटिसलाई जनस्वास्थ्यको समस्याका रुपमा नेहेरसम्म उक्त लक्ष्य पूरा गर्न सम्भव छैन।
यसका लागि हरेक राष्ट्र र यस क्षेत्रमा काम गर्ने संस्थाले स्रोत जुटाउन सहयोग गर्नुपर्दछ। यसलाई राष्ट्रिय स्वास्थ्य नीतिमा नै सामेल गर्नुपर्छ। हरेक राष्ट्रले हेपाटाइटिसको निदान र उपचारमा प्रयोग हुने विभिन्न उपकरण र औषधिलाई सर्वसुलभ र सस्तो बनाउनुपर्छ।
हेपाटाइटिसको क्षेत्रमा लगानी गर्नु बुद्धिमतापूर्ण निर्णय हुन्छ। कलेजो बिग्रिएपछि करोडौं खर्च गर्नुभन्दा समयमा नै रोकथाम र उपचार गरी धेरैको जीवन र अर्थ जोगाउन सकिन्छ। बेलैमा हेपाटाइटिसको निदान र उपचार गरे कलेजोको सिरोसिस, क्यान्सर हुँदैन।
हाम्रो देशमा क्यान्सर भएकालाई १ लाख रुपैयाँ उपचार खर्च दिने नीति छ। यदि यो रकमले हेपाटाइटिस 'सी'को उपचार गर्न सके क्यान्सरमुक्त भएर गुणस्तरीय जीवन बिताउन सकिन्छ। त्यसकारण यतातर्फ पनि सरकारले काम गर्नुपर्ने देखिन्छ।
हामी सबैले संसारभरका ३२ करोड संक्रमितसँगै यिनीहरुको उपचारका साथै जनचेतनामूलक कार्यक्रममा सहभागी हुँदै बढीभन्दा बढी संक्रमितको उपचारमा सहयोग पुर्याउनु मानवीय कार्य हो।
यो पनि :