ल्यानसेट क्वालिटी हेल्थ केयर कमिसनकी अध्यक्ष एवं हार्भर्ड स्कुल अफ पब्लिक हेल्थकी सहप्राध्यापक डा मार्गरेट क्रुक गत महिना नेपाल आएकी थिइन्। ‘हाइक्वालिटी हेल्थ सिस्टम इन एसडिजी इरा’ प्रतिवेदन सार्वजनिकीकरणका लागि उनी नेपाल आएकी हुन्। प्रतिवेदन सार्वजनिक कार्यक्रममा क्रुकसँग गुणस्तरीय स्वास्थ्य सेवा र प्रतिवेदनले औंल्याएका विषयमा स्वास्थ्यखबरका लागि प्रवीण ढकाल र डा सुवास प्याकुरेलले गरेको विशेष कुराकानी :
सबैभन्दा पहिले नेपालको स्वास्थ्य नीति तर्जुमा गर्न महत्वपूर्ण मानिने रिपोर्ट सार्वजनिक गर्नुभएकोमा यहाँलाई धन्यवाद। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न यो संस्थाले विश्वभर भूमिका खेल्दैआएको छ। वास्तवमा गुणस्तरीय स्वास्थ्य सेवा भन्नाले चाँहि के बुझिन्छ ? यसलाई कसरी मापन गर्ने?
पहिलो कुरा त मलाई यहाँ आमन्त्रण गर्नुभएकोमा धन्यवाद। हाम्रो संस्थालाई धेरै योगदान गरेको यो देशमा आउन पाएकोमा मलाई धेरै खुसी लागेको छ। गुणस्तरीय स्वास्थ्य भन्ने विषय परिभाषित गर्न सहज छैन। यसले विस्तृत क्षेत्रका विषय समावेश गरेको हुनाले पनि अलि असहज भएको हो कि भन्ने मलाई लाग्छ। गुणस्तरीय स्वास्थ्य सेवाका कम्तीमा पनि दुई विशेषता हुन्छन्।
पहिलो कुरा त स्वास्थ्य संस्थाका कर्मचारीको योग्यता र उनीहरुले प्रवाह गरेको सेवाले बिरामीको स्वास्थ्यमा पुगेको फाइदा गुणस्तरीय स्वास्थ्य सेवाका विशेषताभित्र पर्छन्। जब मानिस स्वास्थ्य संस्थामा पुग्छन्, उनीहरुले तीन कुरा चाहेका हुन्छन्। उनीहरुले स्वास्थ्य संस्थाका चिकित्सक, नर्सलगायतका कर्मचारी आफ्नो काममा दक्ष होउन् भन्ने चाहेका हुन्छन्। दोस्रो, उनीहरुका स्वास्थ्य समस्या समयमा नै फलोअप होस् र पूर्ण रुपमा ठीक होस् भन्ने चाहेका हुन्छन्। अनि तेस्रो कुरा चाँहि स्वास्थ्य संस्थाका कर्मचारीले राम्रो व्यवहार गरुन् भन्ने चाहेका हुन्छन्। हामी सबैले नै दयाको भावना अपेक्षा गरेकै हुन्छौं। जब हामी बिरामी पर्छौं, त्यसको अपेक्षा झन् बढी हुन्छ। स्वास्थ्य संस्थाका कर्मचारीले पूर्ण रुपमा सहयोग गरुन् भन्ने चाहेका हुन्छन्।
तसर्थ यिनै तीन अपेक्षाका आधारमा गुणस्तरीय स्वास्थ्य सेवा मापन गर्न सकिन्छ। स्वास्थ्य संस्थाका चिकित्सकहरुको दक्षता, बिरामीको उपचार, स्वास्थ्य संस्थाका उपभोक्ता अथवा बिरामीको सन्तुष्टि नै गुणस्तरीय स्वास्थ्य सेवा मापन गर्ने आधारहरु हुन्। समग्रमा भन्नुपर्दा समग्र प्रणाली सुधारिएको हुनुप¥यो र कार्यप्रणाली पनि सुधारिएको हुनुपर्यो। अन्तमा, सबैभन्दा महत्वपूर्ण विषय त मानिसहरुको विश्वास नै हो।
ल्यानसेन्ट प्रतिवेदनले गुणस्तरीय स्वास्थ्य सेवाको पुनर्परिभाषा गर्नुपर्छ भनेको छ। यसले कस्तो परिभाषा संकेत गर्न खोजेको हो?
विगत लामो समयदेखि स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको संख्या र उपकरणको उपलब्धतालाई नै गुणस्तरीय स्वास्थ्य सेवाका रुपमा लिइँदै आइएको थियो। तर गुणस्तरीय स्वास्थ्य सेवाका लागि यति मात्र पर्याप्त हुँदैन भनेर हामीले भन्दै आएका छौं। यी त स्वास्थ्य सेवाका संरचना मात्र हुन्। संरचना मात्र हुँदैमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुँदैन। सेवा प्रवाहमा उपभोक्ताको सन्तुष्टि मुख्य विषय हो। संरचनाका साथै सरोकारवाला निकाय, व्यक्ति र संस्थाले गरेको कामबाट उपभोक्तामा हुने सन्तुष्टिको अनुभव नै गुणस्तरीय स्वास्थ्य सेवा हो।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रणालीगत पुनर्संरचना, कार्यान्यवन र नियमन तीन वटा पक्षले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। नेपालको सन्दर्भमा कुरा गर्नुुपर्र्दा बलियो नियमनकारी निकायको व्यवस्था नगरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह दिगो हुनसक्ला?
तपाईंले वास्तवमैै राम्रो विषय उठान गर्नुभयो। मलाई के लाग्छ भने, प्रभावकारी भूमिका बिनाको नियमनले काम गर्न सक्दैन। बलियो नियमनकारी निकाय बनाउँदा नीतिगत पक्षको कार्यान्वयन गर्न पनि उत्तिकै सहज हुन्छ भन्ने मलाई लाग्छ। यसले समग्र प्रणालीगत रुपान्तरण गर्न पनि सजिलो बनाउँछ। तसर्थ निमयनकारी निकाय बलियो बनाउनुपर्छ। प्रभावकारी नियमन नै गुणस्तरीय स्वास्थ्य सेवाको पहिलो आधार हो। यो नै स्वास्थ्य संस्था पुग्ने मानिसको अपेक्षा पूरा गर्ने माध्यम पनि हो। नियमन बिना गुणस्तरीय सेवा पुर्याउन सकिँदैन।
नियमनकारी निकाय प्रभावकारी र बलियो बनाउन माथिल्लो तहदेखि नै प्रेरणा र सहयोग आवश्यक हुन्छ। व्यवस्थापक, नेतृत्व तह र कार्यान्वयन तहमा बसेका पदाधिकारी कटिबद्ध नभएसम्म नियमन प्रभावकारी बन्न सक्दैन। तसर्थ यी पदाधिकारीलाई प्रोत्साहन गर्न जरुरी हुन्छ।
ल्यानसेन्ट प्रतिवेदनले गुणस्तरीय स्वास्थ्य सेवालाई दिगो विकासका लक्ष्य (एसडिजी) सँग पनि जोडेर हेरेको छ। यसलाई पृथक् रुपमा हेर्नु र एसडिजीसँग जोडेर हेर्नुमा कुनै फरक छ र?
वास्तवमा नै दिगो विकासका लक्ष्यमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि निर्धारण गरिएका सूचक अलि बढी महत्वाकांक्षी छन्। उदाहरणका लागि निकै न्यून मातृ मृत्युदर र न्यून नवजात शिशु मृत्युदरका लक्ष्य निर्धारण गरिएको छ।
आजको समयमा जुन स्थानमा ती सूचक छन्, त्यो स्थानबाट एसडिजीका लक्ष्य प्राप्ति गर्न हामीले धेरै प्रयास गर्नुपर्ने छ। यो लक्ष्य प्राप्ति गर्ने माध्यम भनेको गुणस्तरीय स्वास्थ्य सेवा नै हो भन्ने हामीलाई लागेको छ। गुणस्तरीय स्वास्थ्य सेवामार्फत ती प्रयास सार्थक पार्ने हाम्रो पनि जोड हो। यसैले हाम्रा लक्ष्य एसडिजीसँग जोडिएको हो।
गुणस्तरीय स्वास्थ्यमा नेपालको वर्तमान अवस्थाबारे पनि यहाँहरुले प्रस्तुति गरिसक्नुभएको छ। यो प्रस्तुतिपछि नेपालका नीतिनिर्मातालाई चाँहि कस्तोे सुझाव दिन चाहनुहुन्छ?
स्वास्थ्य सेवाको वर्तमान अवस्था सुधार गर्न नेपालमा धेरै सम्भावना भएको मैले पाएकी छु। नेपालको नेतृत्व यसप्रति प्रतिबद्ध छ। स्वास्थ्य मन्त्रालय, संसद् र स्वास्थ्य सेवा क्षेत्रको नेतृत्व बहुआयामिक, इमान्दार र वर्तमान अवस्थाप्रति जानकार रहेको र अवस्था सुधार गर्न निकै उत्सुक रहेको पाएकी छु। गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि यो निकै महत्वपूर्ण सम्पत्ति हो। अब उनीहरुले गर्नुपर्ने केही पनि छन्।
पहिलो कुरा त, गुणस्तरीय स्वास्थ्य सेवाका लागि एउटै साझा अवधारणा तयार पार्न जरुरी छ। किनभने स्वास्थ्यको साझा भिजन (दूरदृष्टि)ले नै समग्र प्रणालीलाई दिशानिर्देश गरेको हुन्छ। सबैको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुग्नेगरी साझा अवधारणा विकास गर्नुपर्ने देखिन्छ। तर शब्दमा नारा मात्र तयार गरेर पुग्दैन, यसलाई कार्यान्वयन नै गर्नुपर्छ।
दोस्रो चाँहि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न यो क्षेत्रको नेतृत्व बलियो बनाइनुपर्छ। हामीकहाँ स्वास्थ्य मन्त्रालयले मात्र स्वास्थ्य सेवा प्रवाह गर्दैन, निजी क्षेत्र पनि छ। निजी क्षेत्रका स्वास्थ्य संस्थाले जसो मन लाग्यो त्यसै गर्न पाउँदैनन्, सरकारप्रति उत्तरदायी पनि हुनुपर्छ। यसको निमयन पनि सरकारले नै गर्ने हो। सरकारले यसको समीक्षा पनि गर्नुपर्छ। स्वास्थ्य सेवामा जतिसुकै धेरै सेवा प्रदायक भए पनि एउटै नेतृत्व र नियमन एकै प्रकृतिको हुुनुपर्छ।
तेस्रो चाँहि वर्तमान स्वास्थ्य सेवा प्रवाहको अवस्थाको विश्लेषण गरी तत्कालका आवश्यकता के छन् भन्ने पहिल्याएर संरचनागत सुधार गरी काम गर्नुपर्ने देखिन्छ। सेवा प्रवाहपछिका काम पनि हुन्छन्। जतासुकै बिल्डिङ मात्र बनाएर केही हुँदैन। उच्च गुणस्तरीय सेवा प्रवाहपछि मात्र बिल्डिङ महत्वपूर्ण बन्नसक्छ, नत्र त यो तपसिलको विषय मात्र हो।
तसर्थ नेपालभर, सबै स्थानीय तहका सरकारले कहाँ कस्तो स्वास्थ्य सेवा पु¥याउने भनेर यो सेवाको पुनसंरचना गर्नुपर्छ। यो समयलाई स्वास्थ्य सेवाको पुनर्संरचना गर्न प्रयोग गर्नुपर्छ।
यसका साथै अन्य दुई काम गर्ने पनि अवसर छ। हामीकहाँ स्वास्थ्य सेवा लिएका जनशक्ति छन्। तर तिनीहरुको मेडिकल शिक्षा अपडेट गर्नुपर्छ। उनीहरुलाई स्वास्थ्य सेवाका नेतृत्वकर्ता बनाउन जरुरी छ। उनीहरुमा समस्यामा आधारित स्वास्थ्य सेवा प्रवाहका विषयमा पनि दक्ष बनाउन जरुरी छ। उदाहरणका लागि २० वर्ष पहिले नेपालमा एक वा दुई प्रकृतिको मात्र ज्वरोका बिरामी हुने गर्थे तर अहिले धेरैभन्दा धेरै प्रकृतिका ज्वरोका बिरामी आउन थालिसकेका छन्। यस्तो अवस्थामा डाक्टरले कलेजमा पढेको ज्ञान मात्र पर्याप्त हुँदैन। यसलाई अद्यावधिक गर्न जरुरी छ।
र, अन्त्यमा स्वास्थ्य सेवाका उपभोक्ता अथवा समुदायलाई नै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि दबाब दिने शक्तिका रुपमा परिचालन गर्नुपर्छ। उपभोक्तालाई प्रश्न गर्नसक्ने बनाउनु र उनीहरुका प्रश्न सरकार, स्वास्थ्य संस्था वा सम्बन्धित निकायले गम्भीरतापूर्वक लिने अवस्था सिर्जना गर्नुपर्ने छ। अर्को पक्ष के भने सबै प्रक्रियामा उपभोक्ताको सहभागिता सुनिश्चित गनुपर्छ किनभने उनीहरुसँग पनि धेरै अनुभव हुन्छ।
तपाईंले संसारका धेरै राष्ट्रको स्वास्थ्य अवस्था अध्ययन गर्नुभएको छ। गुणस्तरीय स्वास्थ्य सेवाका लागि नेपालको राजनीतिक प्रतिबद्धता कस्तो पाउनुभएको छ? नेपालले स्वास्थ्य क्षेत्रलाई दिएको प्राथमिकता कतिको पर्याप्त छ?
म नेपालमा भर्खरै मात्र आएकी हुँ। यसर्थ राजनीतिक प्रतिबद्धताको स्तर पूरा ठम्याउन र विश्लेषण गर्न मलाई अलि कठिन छ। तर स्वास्थ्य सेवाको पहुँचका विषयमा नेपालका राजनीतिक दलबाट बारम्बार चासो प्रकट हुँदै आएको मैले पाएकी छु। सबै देशमा यस्तो अवस्था छैन। तसर्थ यो विषयमा नेपालका राजनीतिक दलप्रति आभार व्यक्त गर्न चाहन्छु।
हाम्रो कमिसनमा नेपालका पूर्व स्वास्थ्यमन्त्री तथा वर्तमान सांसद गगन थापा पनि हुनुहुन्छ। उहाँका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा स्वास्थ्य क्षेत्रको मात्र एजेन्डा होइन। यो राजनीतिक विषय हो। उहाँको भनाइले हामीलाई प्रभावित बनाएको छ। उहाँजस्ता अरु नेता पनि छन्। राजनीतिक दलबाट स्वास्थ्य क्षेत्रका विषयमा यति गहन विश्लेषण निकै कम मात्र हुनेगर्छ। तर भन्नु मात्र ठूलो कुरा होइन, कार्यान्वयन महत्वपूर्ण पक्ष हो। कार्यान्वयन पनि हुने कुरामा म धेरै आशावादी छु।
स्वास्थ्य सेवाका अन्तिम टार्गेट गु्रप उपभोक्ता नै हुन्। गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न आम उपभोक्ताका धारणा परिवर्तन हुन पनि जरुरी छ?
स्वास्थ्य सेवाका मुख्य सरोकारवाला र संवाहनकर्ता पनि उपभोक्ता वा आममानिस नै हुन जरुरी छ। आफ्नो वा बिरामीको स्वास्थ्यको राम्रो हेरचाह होस् भनेर उपभोक्ता नै सचेत हुनुपर्छ। स्वास्थ्य सेवामा कहाँ समस्या छन् भनेर उपभोक्ताले पहिचान गर्न सक्नुुपर्छ। यसका साथै स्वास्थ्य सेवामा सुधार गर्न आममानिस आफूहरुको अनुभव, ज्ञानलगायतका विषयमा संगठित हुन जरुरी छ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ?
स्वास्थ्य सेवा सुधार होस् र सरकार, निजी क्षेत्र र सरोकारवालासँग काम गर्न नेपालमा हामीले सामाजिक अभियान सञ्चालन गर्ने विषयमा छलफल गरिरहेका छौं। नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा उदाहरणीय देश बनोस्। शुभकामना।
यो पनि :