मानसिक समस्या देखिने विभिन्न कारणमध्ये पारिवारिक वातावरण पनि एक हो। बदलिँदो परिवेशमा संयुक्त परिवारबाट एकल हुन खोज्ने प्रवृत्ति बढ्दै गएको छ। स्वतन्त्रता खोज्ने प्रवृत्तिले पनि पारिवारिक समझदारी कम हुँदै गएको भनिन्छ। संयुक्त परिवारमा हुने साथ र सहयोग एकल परिवारमा कम दखिन्छ। यसले परिवारमा तनावको अवस्था सिर्जना गरेको छ।
वैदेशिक रोजगारीका कारण पनि पारिवारिक सम्बन्धमा दरार पैदा भएको छ। श्रीमानश्रीमतीबीच विभिन्न कारणले तनाव उत्पन्न हुन्छन्। त्यही तनाव बढ्दै जाँदा केही मानिसमा ठूलै मानसिक समस्या सिर्जना हुन सक्छ।
अहिलेको सन्दर्भमा धेरै विवाहित महिला र पुरुष विवाहपछि बाह्य सम्बन्धमा पनि सामेल हुने गरेका छन्। विवाहेतर (श्रीमानश्रीमतीबाहेक अन्यसँग) सम्बन्धका कारण मानसिक तनावको सिकार बनिरहेका छन्।
व्यस्त जीवनशैली, श्रीमानश्रीमतीले एक अर्कालाई समय नदिने, व्यक्तिगत स्वन्त्रताजस्ता कारणले पनि विवाहेतर सम्बन्ध बढ्ने गरेको पाइन्छ। कतिपय सम्बन्ध भावानात्मक रूपमा पनि जोडिएका हुन्छन्। कतिपय दम्पतिमा यौनका कारण मानसिक समस्यामा पुगेको देखिन्छ। सामान्य परामर्शबाट पनि यस्ता समस्या समाधान गर्न सकिन्छ। तर, एक आपसमा शंका गर्ने तथा समय र संवादको कमीले पनि धेरैमा समस्या बढ्दै गएको देखिन्छ।
आफ्नो श्रीमान या श्रीमतीसँग आत्मीयता कम भएर या उनीहरुले गर्ने केयरमा कमी महसुस भएर पनि बाहिर सम्बन्ध विस्तार गरेको हुन सक्छ। धेरैजसो श्रीमान या श्रीमतीसँग यौन सन्तुष्टि नभएर पनि बाह्य सम्बन्धलाई प्रथामिकतामा राखेको पाइन्छ।
श्रीमान र श्रीमती फरक पृष्ठभूमिबाट आएका छन् भने उनीहरूको सोचाइ नमिल्न सक्छ। सोचाइको स्तरमा हुने फरकले पारिवारिक सम्बन्धलाई नकारात्मक असर पारेको हुन्छ।
श्रीमानश्रीमतीसँगको बढ्दो अपेक्षाको पूर्ति नहुँदा पनि सम्बन्धमा ह्रास आउँछ। भावनात्मक, शारीरिक र आध्यात्मिक रुपले नजिकिएपछि मानिसले पहिलेको सम्बन्ध तोडेर अर्को विवाहका लागि राजी हुन सक्छ। यसरी विवाहपछि हुने बाह्य सम्बन्धले मानसिक तनाव सिर्जना गर्ने भएकाले डिप्रेसनका सिकार बनिरहेका छन्।
मानिसका बाह्य सम्बन्धका कारण सम्रग परिवार नै तनावमा पर्ने जोखिम बढिरहेको देखिन्छ। बाह्य सम्बन्ध र पारिवारिक सम्बन्धलाई सन्तुलनमा राख्न नसक्दा व्यक्ति आफैं पनि तनावमा रहन्छ।
यौन स्वतन्त्रता र बदलिँदो यौन जीवनबारे सबैको बुझाइ फरक छ। व्यक्तिको यौन इच्छा, स्वतन्त्रता र हाम्रो समाजका मूल्यमान्यता सबै आफ्नो ठाँउमा उत्तिकै सशक्त छन्।
पारिवारिक जीवनशैली बलियो बनाउन बनाउन आफु र परिवारलाई समय दिनुपर्छ। काम मात्रै प्राथामिकतामा पर्दा पारिवारमा असन्तुष्टि पैदा हुन्छ। फुर्सद निकालेर परिवारलाई समय दिनुपर्नेमा हामी फुर्सदमा परिवारलाई समय दिन्छौं। फुर्सद निकालेर गरिएको माया र फुर्दसमा गरिएको मायामा धेरै फरक पर्छ। यसो हुदा परिवार तनावको वातावरण सिर्जना हुन्छ।
मानसिक शान्तिका लागि हप्तौं/महिनै ध्यान र योगतिर तानिएका मानिसको संख्या बढ्दै गएको छ। यसले केही हदसम्म त शान्ति मिल्छ तर परिवारसँगको मायाममता उनीहरुलाई दिने समय र उनिहरूसँगको निकटताले नै मानिसलाई मानसिक स्वस्थ बनाउन सहयोग गर्छ। मानसिक स्वस्थ रहन परिवारलाई दिने समय, खानपान र जीवनशैली व्यवस्थित गर्ने कुरामा ध्यान दिन आवश्यक छ। बाँकी भिडियोमा