बच्चाको भाषा विकास मानिसको मानसिक तथा शारीरिक विकास क्रमको एक महत्वपूर्ण पाटो हो। बच्चाको विकास क्रमसँगै बोलीको पनि विकास हुन्छ। बोलीको विकासले बच्चालाई भावना व्यक्त गर्न र बुझ्न मद्दत पुर् याउँछ। यसले सोच र समस्या समाधान गर्नुका साथै सम्बन्ध विकास गर्न सहयोग गर्छ।
बोलीको विकास पनि उमेरअनुसार क्रमबद्ध रुपमा हुन्छ। बच्चाको बोलीको विकास सामान्यतः ६ महिनाको उमेरदेखि हुन थाल्छ। यो उमेरमा बच्चा ‘आ, उ’ जस्ता आवाज निकाल्न थाल्छ। त्यसैगरी करिब ९ महिनाको उमेरमा बाबा, पापा, मामा जस्ता शब्दहरु निकाल्न थाल्छ। त्यस्तै १ वर्षको उमेरमा मामा, पापाबाहेक २÷४ अरु शब्द पनि बोल्ने गर्छ। उमेर बढ्दै गर्दा प्रायःजसो ३ वर्षको उमेरमा बच्चाहरु दैनिक प्रयोगको भाषा बोल्नसक्ने हुन्छन्।
बुबा–आमामा बच्चाको बोलीको विषयमा धेरै प्रश्न हुन सक्छन्। कुनै आमाबुबालाई आफ्नो बच्चाको बोली विकासको विषयमा शंका भएमा सम्बन्धित चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।
बच्चामा बोलीको समस्याको कारण
बच्चामा उमेर अनुसारको बोलीको विकास नभएको भन्ने लाग्छ भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ। कुनैकुनै बच्चाको बोलीमा ढिलाइको मुख्य कारण सुनाइको समस्या हो। सुन्न नसक्ने बच्चाको बोलीको विकास हुँदैन। बोलीको विकासको लागि बच्चाले सुन्न अत्याश्यक हुन्छ। बच्चा जन्मँदा हुने समस्या जस्तैः महिना नपुगी जन्मेको अवस्थामा, नवजात शिशु अवस्थामा हुने संक्रमणका कारण पनि बच्चामा बोलीको समस्या हुनसक्छ। बच्चाको दिमागको संक्रमणले पनि बच्चाको बोलीमा समस्या पार्नसक्छ।
बच्चाको बोलीमा ढिलाइ हुँदा अर्को सोच्नुपर्ने महत्व अवस्था भनेको अटिजम हो। माथि उल्लेखित समय सिमामा बोली विकास भएन भने एक पटक चिकित्सकसँग अटिजमसम्बन्धी जानकारी लिँदा राम्रो हुन्छ। प्रायः अटिजम भएका बच्चामा बोलीको विकासमा ढिलाइ हुन्छ।
भक्भकाउने समस्या
बच्चाहरुको बोली विकास क्रममा आउने अर्को समस्या भनेको भक्भकाउनु हो। यो समस्या हुँदा बच्चाहरु बीचबीचमा अड्किएर बोल्छन्। धेरै बच्चामा यो समस्या २० महिनादेखि देखि ४ वर्षको उमेरमा सुरु हुन्छ र प्रायः ६ वर्ष पुग्दासम्म हराउँछ। धेरै भक्भकाउने बच्चामा जेनेटिकको कारण पहिल्याउन सकिन्छ।
यदि बच्चाको भक्भकाउने बोली ४ हप्ताभन्दा बढी रहेमा वा यसले बच्चाको मानसिकतामा नकारात्मक असर परेमा स्पिच थेरापिस्टको सल्लाह लिनुपर्छ। त्यसबाहेक घरमा बुबाआमाले यस्ता बच्चालाई धैर्यताका साथ सुनिदिने र उचित प्रोत्साहन दिनुपर्छ। यति मात्रले पनि बच्चाको बोलीमा सकारात्मक असर गर्छ।
बच्चाको बोलीमा आमाबुबाको भूमिका
बच्चाको विकास क्रममा उत्सुकता उच्च हुन्छ। बोलीको विकास क्रममा पनि उनीहरु उत्सुकताका साथ अरुको बोली सुन्ने र क्रमशः त्यसै बोली टिपेर बोल्ने गर्छन्। यस्तो अवस्थामा बाबुआमाले बच्चासँग बोल्न कन्जुसी गर्नु हुँदैन। यिनै कुराकानीबाट बच्चाको बोलीको विकासको जग बस्छ। बच्चाले बोल्न थालेपछि उनीहरुको कुरा धैर्यतापूर्वक सुनिदिनु पनि बुबाआमाको कर्तव्य हो, जसले बच्चालाई बोल्न र सिक्न प्रोत्साहन र हौसला दिन्छ।
-(काठमाडौं मेडिकल कलेजमा कार्यरत बालरोग विशेषज्ञ डा भट्टसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)