दीपकप्रसाद दाहाल नेपाल औषधि उत्पादक संघका अध्यक्ष हुन्। आफ्नो जिम्मेवारीका कारण व्यस्त रहे पनि परिवारसँग रहँदा उनी गीतसंगीतमा रमाउँछन्। उनी बाँसुरी र हार्मोनियम पनि बजाउँछन्। स्वास्थ्यखबरको शनिबारीय स्तम्भ 'जीवनशैली'का लागि दाहालसँग बुनु थारुले गरेको ‘संगीत वार्ता’:
संगीतमा कहिल्यैदेखि रुचि बसेको हो?
मलाई सानैदेखि गीत गाउन अनि बजाउन मनपर्थ्यो। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरुमा नियमित भाग लिन्थेँ। संगीत प्रतियोगिता कहिल्यै छुटाउँदिनथेँ। संगीतमा रुचि भएर होला अहिले पनि बाँसुरी, हार्मोनियम बजाइराख्छु। सायद एक कक्षा देखि नै गाउन थालेको हुँ।
अरु कस्ता वाद्यवादनमा रुचि छ?
बाँसुरी तथा हार्मोनियम मात्रै होइन, मादल पनि बजाउँछु। घरमा दुई वटा हार्मोनियम छ। बाँसुरी सानोठूलो गरेर सबै किसिमका छन्।
संगीत कक्षा लिनुभएको छ?
म आएससी पढ्दाताका होला, जनकपुर संगीत विद्यालयमा हार्मोनियमको बेसिक क्लास लिएको थिएँ। बाँसुरी पनि त्यति बेला नै सिकेको हो।
संगीतमा डुब्ने फुर्सदचाहिँ कतिबेला मिल्छ नि...
म फुर्सद भएको बेला बजाउँछु। हप्ताको दुई–तीन दिन रियाज गर्छु। भजनहरु हरेक दिन गाउँछु। बिहान ६ बजेतिर भजन गाउँछु। साथीभाइको जमघटमा उनीहरुको अनुरोधमा मनोरन्जन होओस् भनेर बजाइदिन्छु। साथै कार्यक्रमको अन्तिममा हुने मनोरन्जन कार्यक्रममा पनि हार्मोनिय बजाएर गीत गाएको छु। बाँसुरी बजाएको छु।
बाँसुरीमा कस्तो धुन बजाउन मन लाग्छ?
म सबै प्रकारका बजाउँछु। विशेषगरी शास्त्रीय गीत मलाई मन पर्छ। रागहरुबारे पूर्ण ज्ञान नभए पनि बजाउन सक्छु। फिल्मी संगीतको धुनमा पनि बाँसुरी बजाउन मन पर्छ। नेपाली आधुनिक पनि बजाउँछु।
संगीत तपाईंलाई किन मन पर्छ?
हरेक मान्छेलाई संगीत मन पर्छ। संगीत सिकेर कहिल्यै सकिँदैन। म त सिकारु हो। संगीतबाट आनन्द लिन र दिन सक्नुपर्छ। संगीतको आफ्नै संसार छ। रुचि भएर बजाउँछु। संगीत साधना गर्दागर्दै म ध्यानमा लीन हुन्छु।
भविष्यमा केही एल्बम निकाल्ने मन छ?
मैले आफ्नो आत्मसन्तुष्टिका लागि गाउने हो। बाजा बजाउनु मेरो रुचि हो। हामीभन्दा धेरै जान्ने ,यही पेसा नै अँगालेको मान्छेले एल्बम निकाल्ने हो। एल्बम नै निकाल्ने सोच छैन।