कुनै चिजको लत बसिसकेपछि छुटाउन मुस्किल हुन्छ, तर असम्भव भने हुँदैन। त्यसका लागि सुरुमा दृढ संकल्प चाहिन्छ।
धूमपान छोड्नका लागि सबैभन्दा पहिले दिन तोक्नुपर्ने हुन्छ। कुन दिनबाट छोड्ने? कुनै महत्वपूर्ण मिति जस्तैः आफ्नो जन्मदिन, प्रियजनको जन्मदिन वा कुनै यस्तै अवसर पारेर छोड्न हाम्रो सल्लाह हुन्छ। तोकिएको दिनसम्म हल्का कम गर्दै लैजानाले धूमपान छोड्न सजिलो हुन्छ। मिति तय भइसकेपछि (स्लाप एन्ड कुइट्) थप्पड हान्ने अनि छोडाउनमा प्रेरित गर्छौं।
तनावमा हँुदा धेरै व्यक्तिले धूमपान गरेको पाइएको छ। त्यसकारण पनि व्यक्ति तनावमा हुँदा पनि र नहुँदा पनि यदि कोही धूमपान छोड्ने कोसिसमा छ भने हामीले सहयोग गर्नुपर्छ। डाक्टर मात्रै नभएर सबैले धूमपान छोड्न चाहनेलाई सहयोग गर्न जरुरी छ।
त्यस्तै कतिपय अवस्थामा दम, निमोनियाका बिरामीहरु हामीकहाँ आउने गर्छन्। दम र निमोनियाले च्यापिरहेको अवस्थामा धूमपान सेवनले बिग्रिँदो स्वास्थ्यलाई कस्तो असर गर्छ भन्ने जानकारी सही समयमा दिन सकियो भने पनि बिरामीलाई धूमपान छोड्न सहयोग पुग्छ।
नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा डाक्टरको प्रिस्किप्सन विना एन्टिबायोटिक किन्न पाइँदैन तर १२ वर्षको बच्चा फार्मेसीमा विना प्रिस्किप्सन एन्टिबायोटिक किनिरहेका हुन्छन्। त्यसैले निकोटिन प्याच, निकोटिन गम किनेर सेवन गर्न सकिन्छ, जसले धूमपान तथा सूर्तिजन्य पदार्थ छोड्न सहयोग पुर्याउँछ।
निकोटिन प्याच, निकोटिन गम नेपालमा पाइँदैन। बिडम्वना, धूमपान छोड्छु भनेर कोही व्यक्ति आएमा पनि छिमेकी मुल्ुक भारत वा अन्य ठाँउबाट मगाउनुपर्ने बाध्यता छ।
धूमपान छोड्नका लागि धेरै प्रकारका मेडिसिन पाइन्छन्, तर नेपालमा कुनै एउटा औषधि छैन, जसले धूमपान छोड्न सहयोग गरोस्।
विगतका केही वर्ष अगाडि फर्किएर हेर्ने हो भने, ‘साहसीको एक मात्र चाहना, फलानो चुरोट’ भनेर हेर्डिङ बोर्डमा लगाइन्थ्यो। अहिले त्यस्ता होर्डिङ बोर्ड देखिँदैनन्। हेर्डिङ बोर्ड हटाएर मात्रै केही हुँदैन, जबसम्म धूमपान र सूर्तिजन्य पदार्थमा बनेका नियम–कानुन कार्यान्वयन हुँदैनन्।
नेपालमा जबसम्म नियम–कानुनको कार्यान्वयन कडा रुपमा हुँदैन, तबसम्म धूमपान छोडाउन प्रेरित गर्नका लागि अति चुनौतीपूर्ण छ।
चुरोट सेवन नियन्त्रण गर्न नसक्नेहरुमा क्यान्सर मात्रै नभएर दम पनि उत्तिकै सशक्त हुने गर्छ। सामान्य व्यक्तिलाई भन्दा धूमपान गर्नेहरुलाई टिबी चार गुनाले बढी लाग्ने गर्छ। धूमपान गर्नेहरुमा पछिल्लो समय डिप्रोसनको पनि सिकार बनीरहेको देखिएको छ भने उतिकै मात्रामा उनीहरुमा अल्कोहल एडिक्सन पनि देखिने गरेको छ । मुटु रोग हृदयघात जस्ता रोग पनि धूम्रापानले नै हुने गर्छ ।
चुरोटमा हुने हानिकारक पदार्थले क्यान्सर निम्त्याउँछ। यस कारण धूमपान गर्नेहरुको सर्कलबाट आफूलाई टाढै राख्नुपर्छ।
(छातीरोग विशेषज्ञ डा ढकालसँग बिन्दु शर्माले गरेको कुराकानीमा आधारित)