भौगोलिक हिसाबले विकट नै छ, बाग्लुङको पश्चिम तमानखोला गाउँपालिका। भूगोलले असहज यो ठाउँमा भौतिक रूपमा जान धेरै कर्मचारी र स्वास्थ्यकर्मीहरू कठिन ठान्छन्। तर, तिनै अप्ठ्यारालाई सहज बनाउँदै सेवा दिइरहेका केही राष्ट्रसेवक भने गाउँलेका प्यारा बनेका छन्।
गाउँलेका ती प्यारा व्यक्तिमध्ये एक हुन्, बोङ्गादोभान स्वास्थ्य चौकीका अहेब राजनकुमार थापा।
उनी उक्त क्षेत्रका बासिन्दालाई साढे चार वर्षदेखि सेवा दिइरहेका छन्। उनको सेवाप्रति गाउँले ओतप्रोत छन्। गाउँलेले उनलाई ठूलो सम्मान दिएका छन्। आफ्ना ‘डाक्टर’का रूपमा सत्कार गरिरहेकै छन्।
२०४५ सालमा बाजुरामा पूर्णबहादुर थापा र विष्णु शाही थापाको कोखबाट जन्मेका उनी २०७१ माघ ६ गते नेपाल सरकारको स्वास्थ्य सेवा अन्तर्गत अहेब चौथो तहमा प्रवेश गरेका हुन्।
तत्कालीन जिल्ला स्वास्थ्य कार्यालयले पठाएको बोङ्गादोभान स्वास्थ्य चौकीमा सुरुको नियुक्ति लिए र जनताको स्वास्थ्य उपचारका लागि खटिए। जिल्ला सदरमुकामदेखि झन्डै २८ कोष टाढा रहेको उक्त स्वास्थ्य चौकीमा उनले २०७१ माघ ८ देखि हाजिर भएर काम गर्न सुरु गरे। अधिकांश दलित र जनजातिको बाहुल्य भएको यस क्षेत्रमा सुरु–सुरुमा आम नागरिकलाई सरल, सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गराउन उनलाई निकै कठिन थियो।
तर, उनी आफ्नो कर्मबाट सबैलाई सन्तुष्ट बनाउने दृढ संकल्पका साथ सेवामा समर्पित भए। उनले समाजसँग रहेर त्यसअघि पनि काम गरिसकेका थिए। त्यसैले उनलाई सहज भयो। सरकारी सेवामा प्रवेश गर्नुपूर्व एचआरसी नामक सामाजिक संस्थामा करिब छ वर्ष काम गरे। सल्यान, बर्दिया, बाँके र कैलाली जिल्लाको स्वास्थ्य क्षेत्रमा उनले आफ्नो अनुभव साटिसकेका छन्।
साबिकको बोङ्गादोभान गाविस भवनमा स्वास्थ्य संस्थाको कार्यालय थियो। उक्त स्थानलाई व्यवस्थापन गरेर थापाले सञ्चालन गर्ने तयारी गरे। तर, उपकरणको अभाव र आवश्यक पूर्वाधार नहुँदा जनतालाई सेवा दिन निकै गाह्रो प¥यो। स्वास्थ्य संस्थामा सञ्चालित बर्थिङ सेन्टरमा पर्याप्त र व्यवस्थित उपकरण नहुँदा सुरक्षित प्रसूति सेवा दिन पनि धौधौ थियो।
उक्त स्वास्थ्य संस्था प्रमुखको जिम्मेवारी सम्हालेपछि सेवालाई कसरी प्रभावकारी बनाउने सकिन्छ भन्ने विषयमा उनले छलफल गरे। सुझाव संकलन गरे। तिनै सुझावलाई शिरोपर गरेर काममा लागिपरे। जसले गर्दा उनी गाउँलेका भरोसा बन्न पुगे।
उनी समुदायका व्यक्तिसँग घुलमिल छन्। पदले अहेब भए पनि उनले धेरै किसिमका तालिम लिएका छन्। सरकारी सेवामा प्रवेश गर्नुभन्दा पहिलेको अनुभवले अहिले सहज बनाएको उनको बुझाइ छ।
गाउँमा उनको पहिचान ‘डाक्टर सा’बका रूपमा छ। कतिपय बिरामी स्वास्थ्य संस्था पुग्छन्। कतिपय त्यहाँ आउन नसक्ने हुन्छन्। थापाले बिरामीको समस्या बुझेर घरमै उपचार सेवासमेत दिन्छन्। आफूले गर्न नसक्ने उपचारका लागि तुरुन्त रिफर गर्छन्। सस्तो, सहज र राम्रो उपचारका लागि सल्लाह दिन्छन्।
टाढा जान बिरामीसँग पैसा नभएको अवस्थामा उनी आफैं सहयोगको हात बढाउँछन्। खोप क्लिनिक र गाउँघर क्लिनिक सञ्चालनका लागि घन्टौं हिडेर गाउँ–गाउँमा पुग्ने गरेका छन्।
‘डाक्टर सा’ब त हाम्रा लागि भगवान् नै हो,’ उपचारका लागि स्वास्थ्य चौकी आइपुगेकी तोपमाया घर्तीले भनिन्, ‘हामीलाई उहाँले बिरामीको जस्तो होइन, आफन्तको जस्तो व्यवहार गर्नुहुन्छ। जसले आफूलाई भएको समस्या भन्न सजिलो हुन्छ।’ उनकै कारण ज्यान जोगिएका केही घटना सुनाउँदै उनले थपिन्, ‘नजिकै स्वास्थ्य चौकी र असल डाक्टर सा’ब हुँदा हामी ढुक्क छौं।’
स्वास्थ्य चौकीमा थापा आएपछि सेवा धेरै पाउन थालेका अनुभव उनले सुनाइन्।
बोङ्गादोभानका स्वास्थ्य सूचकमा पनि सुधार आएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। ‘यस क्षेत्रमा स्वास्थ्य शिक्षाको निकै कमी थियो,’ बुढाले भने, ‘राजन सरले समुदायमा गएर स्वास्थ्य शिक्षा दिँदै आउनुभएको छ। यहाँका स्थानीयले सरसफाइ र खानपानमा ध्यान दिने गरेका छन्।’
कुनैबेला थला नपरी स्वास्थ्य संस्था नपुग्ने गाउँलेहरू सामान्य रुघाखोकी लाग्दा पनि स्वास्थ्य चौकी पुग्ने परिपाटी बसेको अध्यक्ष बुढा बताउँछन्। ‘उहाँ यहाँ आउनुअघि परिवार नियोजन र सुरक्षित सुत्केरी सेवा लिनेबारे कैयौं महिलालाई थाहै थिएन,’ उनले सुनाए, ‘उनको नेतृत्वमा हरेक समुदायमा आमा समूहसँगको छलफलपश्चात् अहिले स्वास्थ्य संस्थामा गर्भ जाँच गर्ने र सुत्केरी सेवा लिनेको संख्यामा पनि वृद्धि आएको छ।’
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र ल्याब पनि सञ्चालन गरिएको छ। संस्थामा कार्यरत अन्य कर्मचारीहरू पनि निकै उत्साहित भएर सेवामा खटिरहेका हुन्छन्। उनले सहकर्मीलाई हौसला दिन्छन्। ‘हामी जनताको सेवामा खटिएका हौं। जनतालाई सेवा दिने हाम्रो दायित्व हो भन्ने भावना छ राजन सरमा,’ स्वास्थ्य चौकीकी अनमी गायत्री राम्जाली भन्छिन्, ‘उहाँको हौसला र प्रेरणाले हामीलाई पनि काम गर्न सहज भएको छ।’
स्वास्थ्यका लागि स–साना कुरामा पनि थापाले ध्यान दिने गरेका छन्। संस्थामा आउने सेवाग्राहीलाई सेवा दिनुअघि उनी हातको नङ हेर्छन्। जसले नङ काटेको छैन, उसलाई पहिले नङ काट्न लगाएर नाम दर्ता गर्ने नियम बनाइएको छ। व्यक्तिगत सरसफाइ स्वास्थ्यका लागि महत्वपूर्ण हुने विषयलाई अभियानकै रूपमा अघि बढाएका छन्। जसले स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्या बढेको छ। थापा भन्छन्, ‘स्वास्थ्यमा सामान्य समस्या आए पनि स्वास्थ्य चौकी आउने गरेकाले जटिल केसमा समयमै रिफर गर्न सकिएको छ।’
नियमित कामका साथै उक्त क्षेत्रमा हुने विभिन्न शिविर तथा परिवार नियोजनका शिविरमा उनको सक्रिय सहभागिता हुन्छ। अस्थायी परिवार नियोजनका लागि इम्प्लान्ट राख्ने काम थापाले नै गर्ने गरेका छन्।
औषधि अभाव दुर्गम ठाउँका स्वास्थ्य संस्थाको साझा र सधैंको दुःख हो। यसको दिगो समाधान खोज्न उनी लागिपरेका छन्। गाउँपालिकालाई नीति बनाउन लगाएर स्वास्थ्य संस्थामा फार्मेसीसमेत सञ्चालन गर्ने सोच उनको छ। यसअघि ल्याबको समेत अभाव थियो। उनकै पहलमा गाउँपालिकाको सहयोगमा ल्याब स्थापना गरिएको छ। रगत र पिसाब जाँच गर्न बुर्तिबाङ धाउनुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन्।
अहेब थापाको अबको योजना जिल्लाकै नमुना स्वास्थ्य चौकी बनाउने हो। उनको कार्यशैलीका कारण चाँडै उक्त योजना साकार हुनेमा स्थानीय पनि ढुक्क छन्। किनकि स्थानीयवासी र स्थानीय सरकारको उनलाई पूर्ण सहयोग छ।