धुम्रपान स्वास्थ्यका लागि मात्रै होइन, सामाजिक जीवनकै लागि हानिकारक छ। सरोकारवालाहरूले ‘नजरअन्दाज’ गरेको यो धेरै रोगको कारक पनि हो। समाजको ठूलो हिस्सा धुम्रपान सेवनकर्ता हुने भएकाले यसविरुद्ध जेहाद छेडेर अलोकप्रिय हुने जोखिम निकै कम जनस्वास्थ्यकर्मीले उठाउँछन्। अर्कोतिर यो ‘साइलेन्ट किलर’ भएकाले स्वास्थ्य क्षेत्रको उच्च प्राथमिकतामा पर्दैन। काम देखाएर माथिल्लो निकायलाई रिझाउने मनसाय भएकाहरूले यसलाई वास्ता गर्दैनन्।
तर, वरिष्ठ स्वास्थ्य शिक्षा प्राविधिक वसन्तमान श्रेष्ठले धुम्रपानलाई कहिल्यै नजरअन्दाज गरेनन्। उनलाई धेरै स्वास्थ्य समस्याको कारक सुर्तीजन्य पदार्थको सेवन भन्ने जुन दिनदेखि अवगत भयो, त्यही दिनदेखि यसका विरुद्ध सक्रिय छन्।
संस्थागत र व्यक्तिगत रूपमा निरन्तर सुर्तीजन्य पदार्थ सेवनका विपक्षमा अभियान चलाइरहेका हुन्छन्, उनी। हाल जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको वरिष्ठ स्वास्थ्य शिक्षा प्राविधिकका रूपमा कार्यरत उनी जहाँ पुग्छन्, त्यहाँ धुम्रपान विरुद्धको अभियान सञ्चालन गरेकै हुन्छन्।
‘एक मान्छेको जीवनले सबैतिरको सुधार सम्भव छैन। तर, एक मान्छेले एउटै विषयमा निरन्तर लागिपर्दा परिवर्तन सम्भव छ।’ यही मान्यतामाथि टेकेर उनले आफ्नो जीवनमा धुम्रपान विरुद्धको अभियानलाई अँगालेका हुन्। त्यसको पृष्ठपोषण उनलाई अहिले मिल्न थालेको छ।
उनलाई एकपल्ट ‘फेस’ गरेकाहरू अर्कोपल्ट आफ्नो सुर्तीजन्य पदार्थ सेवन यात्रा टुंगिएपछिका किस्साहरू सुनाउँछन्। बिग्रेको सम्बन्ध यसको त्यागपछि सप्रिएका उदाहरण बताउँछन्। जसले उनलाई यही मार्गमा अघि बढ्न हौस्याइरहन्छ।
एउटा कार्यक्रममा झन्डै १० वर्ष नबोलेका दुई जनासँग उनको भेट भएछ। संयोग कस्तो भने एक जनाले धुम्रपान छाड्ने प्रतिबद्धता जनाएपछि अर्का व्यक्ति त्यस दिन बोल्न पुगे। श्रेष्ठ उनीसँगको संवाद अहिले पनि सम्झिन्छन्। १० वर्षपछि बोल्दै गर्दा ती व्यक्तिले भनेका थिए, ‘उसले चुरोट खान्थ्यो। रक्सी पनि खान्थ्यो। त्यही बेला तथानाम भनेका कारण म ऊबाट टाढिएँ। अब त छाड्ने प्रतिबद्धता जनायो। अब फेरि संगत गर्न लायक बनेको छ।’
निश्चित संस्था, निश्चित कोष वा निश्चित अभियानका पछि लागेर अभियन्ता ठह¥याउनेको भिडमा उनको पहिचान बेग्लै बनेको छ। उनी आफैंले महसुस गरेर धुम्रपानविरोधी अभियन्ता बनेका हुन्।
२०१७ सालमा सल्यानको खलंगामा जन्मिएका उनले २०३३ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको जन–नमुना माध्यमिक विद्यालयबाट एसएलसी गरे। त्यसपछि वीरेन्द्रनगरमै सिएमए पढे। २०३५ सालमा सिएमए पास गरिसकेपछि २०३९ मा उनी जाजरकोटको गोर्खाकोट स्वास्थ्य चौकीको अहेबमा नियुक्त भए। त्यहाँ बस्दा उनले उपचार सेवामात्रै दिएनन्। गाउँलेलाई स्वास्थ्यबारे चेतना पनि फैलाए। उनले सुर्तीजन्य पदार्थको सेवन हानिकारक हुने विषयमा त्यही बेलादेखि सचेत गराउन थालेका थिए।
त्यसपछि रुकुम र सल्यानमा काम गरे। त्यो बेला पनि उनले स्वास्थ्य चेतना फैलाउनु नै महत्वपूर्ण ठाने। सकेसम्म सर्वसाधारणमाझ स्वास्थ्य सचेतना फैलाउन पत्रिकाहरू प्रकाशन गरे। उनले ‘कुराकानी’, ‘पोषण र हाम्रो स्वास्थ्य’ लगायतका स्वास्थ्य सम्बन्धी मासिक र वार्षिक पत्रिका प्रकाशन गरेका थिए।
उनी विद्यार्थीकालदेखि नै मदिरा र सुर्तीजन्य पदार्थको विरोधी थिए। त्यो समय चारपाते युवा क्लबबाट समाजमा धुम्रपान र मद्यपानले गर्ने हानिका विषयमा जनचेतनाका कार्यक्रम चलाउँथे। स्वास्थ्य पढेर यही क्षेत्रका काम गर्न थालेपछि त उनलाई झन् सहज भयो।
जनस्वास्थ्यको महत्वपूर्ण समस्या सुर्तीजन्य पदार्थको सेवनविरुद्ध आफ्नै ढंगले सक्रिय उनलाई नेपाल सरकारले ‘सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन २०६८’ ल्याएपछि सजिलो भयो। उनले आफ्नो क्षेत्रमा सकेसम्म कार्यान्वयन गर्ने प्रयास गरे।
स्वास्थ्य सम्बन्धी जनचेतना र सूचना व्यवस्थापन आफ्नो प्रमुख कार्य भएको महसुस गरेर उनी सधैं सक्रिय थिए। त्यसपछि सुर्खेतका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी, स्रोत व्यक्ति र स्वास्थ्यकर्मीहरूलाई धुम्रपान, सुर्तीजन्य पदार्थ र मद्यपान, लागुपदार्थको सेवनबाट हुने हानिका विषयमा तालिम दिन थाले। अवैध र अव्यवस्थित तरिकाले राखिएका धुम्रपान र सुर्तीजन्य पदार्थलाई जिल्ला प्रशासनको समन्वयमा अनुगमनबाट जफत गरी नष्ट गर्न थाले।
जिल्लाका प्रत्येक गाविस र टोल–टोलमा उनले धुम्रपान र मध्यपानविरुद्ध अनेक कार्यक्रम चलाए। राजनीतिक पार्टीका मात्रै होइन, गाउँका अगुवाले मञ्चबाटै सेवन नगर्ने घोषणा गर्दा समाजमा राम्रो छाप छाड्न थाल्यो। अहिले भेट्दा उनीहरू आफ्नो स्वास्थ्य पहिलेको भन्दा राम्रो भएको भन्दै उनलाई धन्यवाद दिइरहन्छन्। युवा, व्यापारी, शिक्षकलाई पनि मञ्चबाटै कुलत छाड्ने घोषणा गराउने अभियान प्रभावकारी भयो। भाषण गरेरै छाडेपछि उनीहरू लोकलाजले सेवनकर्ता रहेनन्। अरूलाई समेत आफ्नो पथमा हिँड्न प्रेरित गरिरहे। यसको जस श्रेष्ठलाई जान्छ।
उनले साबिकका कतिपय गाविस धुम्रपान निषेधित गाविस घोषणासमेत गरेका थिए। स्कुलदेखि एक सय मिटर नजिकका मदिरा पसललाई अन्यत्र सार्न लगाए। सार्वजनिक स्थानमा धुम्रपान गर्ने सयौंलाई प्रहरीको सहयोगमा कारबाही गर्न लगाए।
सुर्खेत जनस्वास्थ्य कार्यालय स्वास्थ्य मन्त्रालयको मूल्यांकनमा उत्कृष्ट भइरहनुका पछाडि श्रेष्ठ जस्ता मनवचनले काम गर्ने कर्मचारीहरूको योगदान छ। भन्छन्, ‘हामीले आ–आफ्नो क्षेत्रमा डटेर काम गरेका कारण यस्तो नतिजा आएको हो। सामूहिक कर्ममा मेरो विश्वास छ।’
जिल्लामा भएका स्वास्थ्य सम्बन्धी सूचनालाई व्यवस्थित गर्ने काम पनि उनको अगुवाइमा हुन्छ। जिल्लामा रहेका ४७ वटा स्वास्थ्यचौकी, तीन वटा प्राथमिक स्वास्थ्यकेन्द्र, दुई वटा अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा अनलाइन सिस्टमबाट डाटाहरू इन्ट्री गर्ने गरेको श्रेष्ठ बताउँछन्।
‘स्वास्थ्यका कतिपय अधिकारहरू स्थानीय तहमा जाँदा पनि हामीले समन्वय गरेर विभिन्न ठाउँमा जनचेतनामूलक बोर्डहरू राखेर अभियानलाई निरन्तरता दिएका छौं,’ उनले भने, ‘एक जनाले मात्र अभियानलाई सफल पार्न नसकिने हुँदा सबैको सहयोगको आवश्यकता पर्दछ। सहयोग पाइरहेका पनि छौं।’
मनैदेखि गरेको काममा अरूले मनैदेखि सहयोग गर्न चाहने उनले महसुस गरेका छन्। त्यसैले उनलाई अभियानबाट सधैं सकारात्मक नतिजा प्राप्त भइरहेको छ।
- प्रस्तुति: जगतदल जनाला विक