डा उत्तम पच्या ४० वर्षअघि जुन ठाउँमा जन्मेका थिए, अहिले त्यही ठाउँकाे अस्पतालमा सुरक्षित रूपमा बच्चा जन्माउन सहजीकरण गरिरहेका छन्। अर्थात्, गुल्मी अस्पताल तम्घासमा आक्कलझुक्कल हुने सिजेरियन सेक्सन नियमित बनाइदिएका छन्। उनी उक्त अस्पताल जानुअघिको आर्थिक वर्षमा जम्मा १३ वटा सिजेरियन सेक्सन थिए भने २०७४ सालमा उनी पुगेपछि एक वर्षमै ८३ जनाले सिजेरियन सेक्सनबाट प्रसूति सेवा लिए।
उनी अस्पताल जानुअघि प्रसूति हुन गुल्मीका स्थानीयहरू पाल्पा र बुटवल जान्थे। जो त्यहाँ जान सक्दैनथे, उनीहरू अस्पतालमा त आउँथे तर ढुक्क हुने अवस्था थिएन। त्यसबाहेक सानो घाउचोट लाग्दा वा एपेन्डिसाइटिस, हाइड्रोसिल जस्ता अप्रेसन गर्नुपर्दा छिमेकी जिल्लातिर कुद्नुपथ्र्यो। तर, अहिले यी सबै समस्याका लागि गुल्मीवासीको पहिलो गन्तव्य यही अस्पताल हुने गरेको छ। बाहिरका अस्पताल जानुपरेमा पनि उक्त अस्पतालका डा पच्या लगायतसँग परामर्श लिने गरेका छन्।
हाल अस्पतालको नेतृत्व गरिरहेका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पच्याले भइरहेको सेवामा नियमितता, आफूले गर्न सक्ने नयाँ सेवाको विस्तार र छिटोछरितो सेवाका लागि अस्पताललाई चिनाएका छन्। अस्पताल उपचार केन्द्र मात्रै होइन, भरोसाको केन्द्र पनि हो। गुल्मी जिल्ला अस्पतालमा उपलब्ध सेवाका लागि भर पर्न सकिने उनले दुई वर्षमै बनाएका छन्।
गुल्मी अस्पतालको नेतृत्व लिएपछि उनले सुरक्षित मातृत्व तथा नवजात शिशु सेवा, शल्यक्रिया, दीर्घ रोगहरू (उच्च रक्तचाप, मधुमेह, दम, थाइरोइडका समस्या), बालरोग, हाडजोर्नी, अल्ट्रा साउन्ड तथा आकस्मिक सेवा लगायतमा सेवा दिइरहेका छन्। दमका रोगीलाई छुट्टै वार्ड नभए पनि तीन वटा बेड छुट्याएर सेवा दिइरहेका छन् भने अक्सिजन व्यवस्था नभए पनि अक्सिजन कन्सनट्रेटर मेसिनबाट अक्सिजनको सेवा निःशुल्क दिइरहेका छन्।
व्यक्तिगत पहलमा विभिन्न संघसंस्था तथा पालिकाका स्वास्थ्य संयोजकसँग समन्वय गरी स्वास्थ्य सेवा प्रवाहमा समाहित गरेका छन्। उनले विभिन्न ठाउँमा शिविर गर्नुका साथै रेसुंगा नगरपालिका केही वार्डमा ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै सेवा दिने गरी प्यारामेडिक्सलाई खटाएका छन्। जुन अस्पतालको कार्यक्रममा छैन।
जनरल प्राक्टिसमा एमडी गरेका उनले बिरामीलाई अप्ठ्यारो पर्दा विशेषज्ञताभन्दा फरक सेवा दिएका छन्। फोक्सो, दमका बिरामी हर्टअट्याक भएका बिरामीको उनले उपचार गरेका छन्, जोसँग जिल्ला अस्पतालभन्दा पर पुगेर उपचार गराउने आर्थिक अवस्था थिएन। उनीसँग अण्डबाहिनी नलीमा गर्भ बसी फुटेको (रप्चर्ड एक्टपिक प्रेग्नेन्सी), एपेन्डिसाइटिसको अप्रेसन गरी ज्यान बचाएको अनुभव पनि छन्। थाइरोइडका समस्या भएका बिरामीहरू जिल्लाबाहिर जान परेको छैन भने अल्ट्रसाउन्ड सेवा पनि अस्पतालबाटै प्रवाह भइरहेको उनी बताउँछन्।
गुणस्तरीय चिकित्सा सेवामा विश्वास गर्छन्, उनी। सेवालाई प्रभावकारी बनाउन रोग निदानका महत्वपूर्ण ठाउँ ल्याब सेवा तथा एक्सरे सेवा अपग्रेड गरेका छन्।
स्थानीय तहसँग समन्वय गरी विभिन्न सेवा दिएका छन्। त्यसमध्ये प्रदेश अन्तर्गतको अस्पताल भए पनि स्थानीय सरकारसँग समन्वय गरी कम्प्युटेड रेडियोग्राफी खरिद गरिएको छ। चार लाख रुपैयाँ स्थानीय तहकै सहयोगबाट भवन मर्मतसम्भार गर्न सफल भएका छन्। विभिन्न पालिकासँग समन्वयगरी सुरक्षित प्रसूति सेवा, स्त्रीरोग परीक्षण तथा निःशुल्क उपचार शिविर, तालिमप्राप्त नर्सको सहयोगमा गर्भाशयको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रम पनि उनको नेतृत्वमा भएका छन्।
अस्पतालमा यसअघि नभएको सामाजिक सेवा एकाइ स्थापना उनी आएपछि भएको छ। ज्येष्ठ नागरिक, अपांग, गरिब, असहाय, महिला स्वयंसेविका लगायत १२ लक्षित समूहले न्यूनतम शुल्कमा सेवा पाइरहेका छन्। अस्पतालमै थाइरोइडको ल्याब जाँच हुन्छ। कर्मचारी मिलन केन्द्रसँग समन्वय गरी उक्त उपकरण अस्पताललाई दिलाएका हुन्।
अहिले अस्पतालको फार्मेसी चौबीसै घन्टा खुला रहन्छ। यसका लागि प्रदेश सरकारसँग पहल गरी थप दुई जना कर्मचारीको व्यवस्था गरेर फार्मेसमा पाँच जना जनशक्ति पुर्याइएको छ।
स्थानीय सरकार रेसुंगा नगरपालिकाको सहयोगमा कम्प्युटेड रेडियोग्राफी मेसिन अस्पतालले प्राप्त गरेको छ। कुनै बेला बेवारिसे शवका कारण अस्पताल वरिपरि दुर्गन्ध फैलिन्थ्यो। तर, डा पच्याकै नेतृत्वमा यसको समाधान खोजिएको छ। प्रदेश सरकारबाट प्राप्त बजेटबाट मर्चरी फ्रिज मेसिन खरिद गरिएको छ।
सबै उपचार गराउन सक्ने बिरामी मात्रै अस्पतालमा आउँदैनन्। उनीहरूको उपचारका लागि कहिले आफ्नै खल्ती छाम्नुपर्ने हुन्छ भने कहिलेकाहीँ सहयोगका लागि पहल गर्नुपर्छ। डा पच्याले त्यस्ता बिरामीलाई धेरैपल्ट सहयोग गरिसकेका छन्।
अस्पतालमा एक डाक्टरले उपचार सेवा दिएर मात्रै पुग्दैन। यहाँका कर्मचारी र स्थानीयको मन पनि जित्नुपर्छ। जुन डा पच्याले सकेका छन् र अस्पतालको सेवा दिने शैली फेरिएको छ। सेवा पाउनेहरू बढेका छन् र निर्धक्क हुन थालेका छन्।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट २०६२ सालमा एमबिबिएस उत्तीर्ण गरेका उनले २०६३ सालमा धादिङको सामुदायिक अस्पतालबाट चिकित्सकीय सेवा सुरु गरेका हुन्। एक वर्ष त्यहाँ काम गरेपछि केही समय काठमाडौंमा चिकित्सकीय अभ्यास गरे। त्यसपछि मर्लिन अन्तर्राष्ट्रिय संस्थाबाट मेडिकल अधिकृतको रुपमा रोल्पा जिल्लामा काम गर्न पुगे। त्यहाँको जनजीवन र स्वास्थ्य अवस्थालाई नजिकबाट महसुस गर्ने अवसरका रूपमा लिन्छन् उनी। जसले उनलाई आफू जस्ता चिकित्सकहरूको महत्वबोध गराउन सघायो।
एक चिकित्सकको सेवी भावनाले कतिसम्म प्रभाव पार्न सक्छ भन्ने उनले विश्व स्वास्थ्य संगठनको इम्युनाइजेसन प्रिभेन्टेबल डिजिज प्रोग्राम अन्तर्गत सुर्खेत, दैलेखसँगै कर्णालीका तीन जिल्लाहरू कालिकोट, जुम्ला र मुगुमा काम गर्दा थाहा पाए। त्यहाँ उनले खोपले रोक्न सक्ने रोगहरू पोलियो, दादुरा, जापानिज इन्सेफलाइटिस तथा नवजात शिशु धनुष्टंकारको खोजपड्तालमा २० महिना सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा दिए।
त्यही दुर्गममा काम गरिरहँदा उनलाई एक जना चिकित्सकमा बहुक्षमता जरुरी रहेको महसुस भयो। जनरल प्राक्टिसमा एमडी गर्न कहीँ न कहीँ यही भावनाले प्रेरित गरेको छ उनलाई। उनले निक साइमन्स इन्स्टिच्युटको छात्रवृत्तिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट जनरल प्राक्टिसमा स्नातकोत्तर हासिल गरेका हुन्। त्यसपछि उनी पूर्वको दुर्गम जिल्ला ताप्लेजुङ जिल्ला अस्पताल पुगे। त्यहाँ दुई वर्ष सेवा दिए। त्यहाँ उनले सिजेरियन सेक्सनबाट प्रसूति सेवा त दिए नै। एपेन्डिसाइटिस, हाइड्रोसिल र हर्नियाको अप्रेसन ताप्लेजुङ जिल्ला अस्पतालमै पहिलोपल्ट गरे। उनी भन्छन्, ‘त्यसअघि यी अप्रेसन भएका रहेनछन्।’
उनी गुल्मीमा २०७४ देखि सेवा दिइरहेका छन्। अघिल्लो वर्षको साउनमा लोकसेवाको खुल्ला प्रतियोगिताबाट स्वास्थ्य सेवाको मेडिकल जनरलिस्ट समूहको नवौं तहको कन्सल्टेन्ट मेडिकल जनरलिस्टमा नाम निकाले। त्यसको एक महिनापछि २०७५ भदौ ४ देखि गुल्मी अस्पतालको प्रमुखको रूपमा सेवा दिइरहेका छन्। गुल्मी अस्पतालको स्वास्थ्य सेवालाई एक हदसम्म उकासेका उनी प्रशासनिक सुधारमा कस्सिएका छन्।
अहिले उनीसँग अस्पताललाई ‘पेपरलेस’ बनाउने महत्वाकांक्षी योजना छ। भन्छन्, ‘अस्पतालभित्र एक विभागबाट अर्कोमा सम्पर्क गर्दा पैसा नलाग्ने प्रणालीको विकास भइरहेको छ भने बिरामीलाई कागजात बोकेर एक ठाउँबाट अर्को ठाउँ पुग्ने झन्झटबाट उन्मुक्ति दिने कोसिसमा छौं।’
नाम जस्तै ‘उत्तम’ काम गर्दै गइरहेका डा पच्याको प्राथमिकतामा सेवा छ। आफूले सकेको सुधार आफ्नै ठाउँबाट गर्नुपर्छ भन्ने भावना छ। यसैले उनलाई चिकित्सकहरूको भिडमा ‘उत्तम’ बनाइराखेको छ।
-प्रस्तुति : डिबी खड्का र दीपक घिमिरे