४० वर्षअघि नेपालमा दृष्टिविहीनको संख्या अत्यधिक थियो। आँखा सेवा केन्द्र औंलामा गन्न पनि अपर्याप्त थिए। नेपालीहरू उपचार गर्न भारतको उत्तर प्रदेशस्थित सीतापुर आँखा अस्पताल धाउँथे।
वीर अस्पतालमा एउटा आँखा डिपार्टमेन्ट थियो। तर, मोतियाबिन्दुको शल्यक्रिया गर्नै दुई वर्ष पर्खिनुपर्ने। अन्धोपनको विकराल समस्याले जेलिएको बेला आम नेपालीको निम्ति ज्योति बनेर आए डा रामप्रसाद पोखरेल। जसलाई ‘आँखा बा’का रूपमा पनि चिनिन्छ।
बेलायतमा नेत्र रोग विशेषज्ञता हासिल गरेका उनले नेपाल आएपछि यहाँको विकराल समस्यालाई मध्यनजर गरे। र, सोचे– यो समस्याको समाधान जरुरी छ।
त्यसपछि उनकै नेतृत्वमा २०३५ चैत १३ गते नेत्रज्योति संघको स्थापना भयो। त्यतिबेला मणि हर्ष ज्योति, बद्रीविक्रम थापा, अनङ्गमान शेरचन, डोलाराम डुग्गड, वनबारीलाल मित्तल, कमलमणि दीक्षित लगायत संघका संस्थापक थिए।
गैरसरकारी संस्थाको रूपमा स्थापना गरिएको उक्त संघको उद्देश्य थियो– नेपालका हरेक क्षेत्रमा आँखा अस्पताल स्थापना गर्ने।
स्थापनापश्चात् १९८१ मा नेत्रज्योति संघले पहिलोपल्ट राष्ट्रिय अन्धोपन सर्वेक्षण गर्यो। नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको सहयोगमा भएको यो पहिलो प्रयास थियो।
विश्वमै यसभन्दा अघि यो सर्वेक्षण कतै भएको थिएन। सर्वेले मोतियाबिन्दु प्रमुख अन्धोपनको रूपमा देखापरेको उल्लेख गरेको थियो। सर्वेका अनुसार ट्रेकोमा दोस्रो अन्धोपनको रूपमा देखापरेको थियो। सर्वेक्षणका अनुसार शून्य दशमलव ८४ प्र्रतिशत जनता दृष्टिविहीन थिए। पुरुषमा भन्दा महिलामा बढी र सहरीभन्दा ग्रामीण भेगमा अन्धोपनको समस्या बढी थियो।
सरकारले यसको निराकरणका लागि नेत्र ज्योति संघलाई नै जिम्मेवारी दियो। जिम्मेवारी पाएपश्चात् संघले सरकारसँग मिलेर दीर्घकालीन योजना बनायो।
योजना थियो– समुदायमा रोगको बारेमा जनचेतना फैलाउने, जिल्लाका सदरमुकाममा उपचार केन्द्रहरू खोल्ने, अञ्चल र विकास क्षेत्रको आधारमा आँखा अस्पताल स्थापना गर्ने।
संरचना बनाउन र संसाधनहरूको व्यवस्थापन गर्न कोषको आवश्यक थियो। देउसीभैलो खेलेर संसाधनहरूको व्यवस्थापन गरिएको हालका कार्यकारी निर्देशक शैलेशकुमार मिश्र सुनाउँछन्। त्यतिबेला संघले जनसहभागितालाई व्यापक रूपमा परिचालन गरेको थियो।
आँखा अस्पताल खोल्ने भनेपछि जग्गा दिनेहरू पनि कम थिएनन्। जग्गा प्राप्त गरेपश्चात् दातृ निकायबाट पनि धेरै सहयोग प्राप्त भए। यसरी गरिएको पहलबाट नेपालका विभिन्न अञ्चलहरूमा आँखा अस्पताल खोल्ने क्रम बढ्यो।
कामको दौरानका सुरुवातमा भने संघप्रति मानिसहरूमा विश्वास थिएन। कतिपयले अरू नै एनजिओको तुलनामा नेत्र ज्योति संघलाई राखेका थिए। तर, बिस्तारै जनताहरूले ‘हाम्रै भलाइका लागि काम गरेको रै’छ’ भन्ने बुझ्न थाले।
निर्देशक मिश्र भन्छन्, ‘सुरुमा त अरू एनजिओलाई हेर्ने आँखाले नै हेरियो। बिस्तारै कामको प्रभावले हेर्ने दृष्टिकोण परिवर्तन भयो।’
त्यसपछि अस्पताल र उपचार केन्द्रको माध्यमबाट अन्धोपन निवारणको महायज्ञमा होमियो नेत्र ज्योति संघ।
‘बलियो टिम निर्माण गरेर अगाडि बढ्ने क्रममा छिट्टै नै आम जनताको पहुँचमा पुग्न सफल भयौं। हामीले कम मूल्यमा गुणस्तर सेवा दिने आँट गर्यौं,’ निर्देशक मिश्र भन्छन्।
नेत्रज्योति संघ अन्तर्गत हाल नेपालभरि १८ वटा आँखा अस्पताल र ८६ उपचार केन्द्र तथा विभिन्न किसिमका राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालित छन्। नेपालका सबै जिल्लाका स्कुल–स्कुलमा समेत कार्यक्रम चलिरहेका छन्।
संघका वर्तमान अध्यक्ष तीर्थप्रसाद मिश्रका अनुसार आँखा अस्पतालहरूबाट बर्सेनि २४ लाखभन्दा बढी नेत्र रोगीहरूलाई बहिरंग सेवा र करिब २ लाख ५० हजारभन्दा बढीलाई शल्यक्रिया सेवा प्रदान हुँदै आइरहेको छ।
हालसम्म २ करोड ७७ लाख ३२ हजार १ सय ८६ नेत्र रोगीले बहिरंग सेवा लिएका छन् भने ३७ लाख २८ हजार ६ सय २२ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
भारतबाट नेपाल आउन थाले
कुनै समय आँखाको उपचार गर्न भारतको उत्तर प्रदेश जानुपर्ने बाध्यता थियो। तर, नेत्र ज्योति संघ स्थापनाको केही वर्षमै अवस्था फेरियो। नेपालीहरू भारत जाने बाध्यता अन्त्य मात्र भएन, उल्टै भारतीय नागरिकहरू उपचारका लागि नेपाल आउन थाले।
आफ्ना केन्द्र र अस्पतालहरूले विश्वकै सबैभन्दा सस्तो र गुणस्तरीय सेवा दिएको संघको दाबी छ। ‘नेपालले दिन सकेको सबैभन्दा ठूलो सेवा नै आँखाको सेवा हो,’ निर्देशक मिश्र भन्छन्।
भारत मात्र नभई बंगलादेश, भुटान, चीन र अस्ट्रियाबाट समेत आँखा रोगको सेवा लिन नेपाल आउने गर्छन्। केही समयअघि मात्र अस्ट्रियाबाट मुटुका एक डाक्टरले धनगढीको गेटा आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गराएका थिए।
ठूलो उपलब्धि : ट्रकोमा निराकरण
सन् २००२ मा नेपाल सरकार र नेत्र ज्योति संघको समन्वयमा राष्ट्रिय ट्रकोमा कार्यक्रम सुरु भयो। २० वटा जिल्लामा सर्वे गर्दा ट्रकोमा पाइएको थियो।
ट्रकोमाको शल्यक्रिया नगर्दा मान्छे दृष्टिविहीन हुन्छ। सुदूरपश्चिमको थारू समुदायमा ट्रकोमा बढी सक्रिय थियो। ट्रकोमा निवारणका लागि संघको नेतृत्वमा देशव्यापी कार्यक्रम भयो। अन्ततः रोग निराकरण नै भयो।
२०१८ मेमा विश्व स्वास्थ्य संगठनले ‘ट्रकोमा जनस्वास्थ्य समस्याको रूपमा छैन’ भनेर घोषणासमेत गर्यो। खुसीको कुरा त ट्रकोमा न्यूनीकरण गर्ने दक्षिण एसियामै नेपाल पहिलो देश बन्यो।
ट्रकोमा निवारण भए पनि संघ ढुक्क भएर बसेको भने छैन। ट्रकोमा निवारण त भयो तर चुनौती भने अझै खडा रहेको निर्देशक मिश्र बताउँछन्। उनी भन्छन्, ‘ट्रकोमा सरुवा रोग हो। जुन फोहोर भएको ठाउँमा, खुला सिमानाका कारण पनि बल्झन सक्ने चुनौती छ। हामी यसबारे नीति तथा योजना पनि बनाउँदैछौं।’
अन्धोपनको सवालमा पनि संघले ठूलै उपलब्धि हासिल गरेको छ। सन् २०१० मा गरिएको सर्वेले अन्धोपनको समस्या हुने व्यक्ति नेपालमा शून्य दशमलव ३५ प्रतिशत भएको बताउँछ। जबकि सुरुवातमा गरेको सर्वेका अनुसार शून्य दशमलव ८४ प्रतिशतबाट नेपाली अन्धोपनका समस्याले जेलिएका थिए।
संघको योजना
उपलब्धिले नयाँ कार्य गर्न प्रेरित गर्छ। नेत्र ज्योति संघ पनि बाँकी उपलब्धिका निम्ति नयाँ योजनाका साथ अघि बढेको छ। सन् २०२० सम्ममा नेपालमा विद्यमान अन्धोपनलाई २५ प्रतिशतले कम गर्ने संघको योजनामा उल्लेख छ। हाल नयाँ आँखा स्वास्थ्य सर्वेक्षणसमेत संघले गरिरहेको छ।
सरकारले नयाँ स्वास्थ्य नीति निर्माण गरेको छ। सरकार–निजी साझेदारीलाई अघि बढाउने तथा स्थानीय स्तरको आँखा सेवालाई स्वास्थ्य प्रणालीमा समावेश गर्ने सरकारको योजना छ। सोही योजनाअन्तर्गत २० हजार २ सय ५३ वटा प्राइमरी हेल्थ सेक्टरलाई अपग्रेड गरेर प्राइमरी हस्पिटल बनाउने भनेर सरकारले स्विकृति दिएको छ। ती अस्पतालमा नेत्र ज्योति संघले सरकारसँग मिलेर आँखा सेवा सुरु गर्दैछ।
आउँदो ५ वर्षभित्र ७ सय ५३ वटा स्थानीय निकायमा आँखा सेवा प्रदान गर्ने लक्ष्य संघको छ। नेपालमा त्यस्ता दृष्टिविहीन छन्, जसले कुनै हालतमा आँखाको ज्योति ल्याउन सक्दैनन्। उनीहरूको पुनस्र्थापनाका लागि संघले विभिन्न कार्यक्रमको योजना बनाएको छ।
नेत्र रोगमा मात्र केन्द्रित नभई अब कानको सेवाको पनि संघले सुरुवात गरेको छ। विश्वमा आँखाभन्दा कानको बढी समस्या छ। १६ प्रतिशत नेपाली बहिरोपनको समस्याबाट ग्रसित छन्। हाल संघले आँखा केन्द्रमा कानको पनि सेवा दिँदै आइरहेको छ। आँखामा नभई कानको समस्याको पनि नेतृत्व लिएर संघ अगाडि बढिरहेको छ। कानका रोगीहरूको आधारभूत सर्वेक्षण गर्ने योजनासमेत संघले लिएको छ।
यसका साथै संघले नेत्र विशेषज्ञको उत्पादनसमेत नेपालमै गर्न पहल गरिरहेको छ। यसरी एउटा संघले आँखाको ज्योति फर्काउनुका साथै आशाको ज्योतिसमेत फैलाइरहेको छ।
- प्रस्तुति : समर्पण श्री