अल्जाइमर्स भनेको एक प्रकारको डिमेन्सिया हो। त्यसकारण अल्जाइमर्स भन्दा पहिला डिमेन्सिया भनेको के हो भन्ने बुझ्ने हो भने अल्जाइमर्सका बारेमा सहजै बुझ्न सकिन्छ। डिमेन्सिया मस्तिष्कमा लाग्ने एक प्रकारको रोग हो। डिमेन्सियाको प्रमुख लक्षण भनेको बिर्सने अर्थात स्मरणशक्तिमा ह्रास आउँदै जाने हो। डिमेन्सियामा विभिन्न लक्षणहरु देखिन्छ जस्तै तर्क विर्तक गर्न नसक्ने, बुझ्न र बुझाउने क्षमतामा ह्रास आउने, दैनिक काममा असर गर्ने आदि। यी समस्याका कारण मानिसको दैनिक दिनचर्यामा नै बाधा पुग्ने हुन्छ।
डिमेन्सियाका धेरै प्रकारमध्ये अल्जाइमर्स एउटा हो। अल्जाइमर्स डिमेन्सिया विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा देखिन्छ। जतिजति उमेर बढ्दै गयो यो समस्यामा सामान्य भन्दा बढी नै बिर्सिने समस्या बढ्ने हुन्छ। अरुमा भर पर्दै जाने अवस्था हुन्छ। डिमेन्सियाका धेरै प्रकारमध्ये अल्जाइमर्स चाँही धेरैमा देखिने समस्या हो। जस्तै एक सय जनामा डिमेन्सियाको समस्या छ भने ५० देखि ७० जनामा अल्जाइमर्सको समस्या हुन्छ।
नेपालमा यो समस्या कतिमा छ भन्ने एकिन तथ्यांक त छैन। तर, यो समस्यामा धेरैमा रहेको अनुमान लगाउन सकिन्छ। नेपालमा यसको अध्ययन भने भएको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक ३ मिनेटमा एक जनामा डिमेन्सियाको समस्या डाइग्नोस हुन्छ। यो आधारमा हेर्दा डिमेन्सियाको समस्या बढ्दै गएको भन्न सकिन्छ। डिमेन्सियाको संख्या बढी हुनु भनेको अल्जाइमर्स डिमेन्सियाको समस्या पनि बढी हुनु हो।
अल्पविकसित राष्ट्रहरुमा अल्जाइमर्सको जोखिम बढि रहेको विश्व स्वास्थ्य संगठनले भनेको छ। विश्वमा ४७ मिलियन मानिसहरु अल्जामर डिमेन्सियाबाट ग्रस्त छन्। हरेक २० बर्ष यसको संख्या दोब्बर हुन्छ। सन् २०१५को तथ्याङ् अनसुार नेपालमा पनि ७८ हजार मानिसहरु बिर्सिने समस्या रहेको जनाएको छ। र यसको संख्या सन् २०३० मा दोब्बर बढ्ने अनुमान गरिएको छ।
उपचारका लागि स्वास्थ्य संस्थामा आइपुगेका बिरामीहरुमा अधिकांसमा बिर्सिने समस्या नै प्रमुख लक्षण देखिएको छ। यो सँगसँगै बृद्धबृद्धाहरुमा अल्जाइमर देखिन थालेसंगै उनीहरुको व्यक्तित्वमा परिर्वतन आउने, लुगा लगाउन बिर्सिने, के खाँदै छु वा खाना खाएको केही समयपछि खाना खाएको कुरा भुल्ने, के काम गर्दैछु भन्ने पनि याद नहुने, साना साना कुरामा रिसाउने झगडा गर्ने, झर्किने जस्ता समस्या बढी देखिन्छ।
रोकथाम तथा व्यस्थापन
सबैभन्दा महत्वपूर्ण कुरा त हामीले अपनाउने जीवनशैली र खानपानमा विशेष ख्याल गर्नुपर्छ। रोग लागेपछि यसको उपचार यही भन्ने छैन। अल्जाइमर्स भइसकेपछि यो निको होस् भन्ने ठ्याक्कै औषधि नभएकाले सुरु देखि नै ख्याल गर्नुपर्ने हुन्छ। सामान्य लक्षण देखियो भने यसलाई केही पर धकेल्न सकिन्छ। तर, यो रोग आउने सम्भावनालाई कम गर्न हामीले हाम्रो जीवनशैली र खानपानमा नै विशेष ख्याल गर्नुपर्छ।
नियमित व्यायाम, स्वस्थ खानेकुरा सेवन गर्ने र मस्तिष्कलाई सक्रिय बनाउनु नै पर्छ। शरिरिक अभ्यास त मानिसले मर्निङ वाक, व्यायाम वा अन्य विभिन्न उपाय अपनाएर गरिरहेका हुन्छन्। मस्तिष्कको सक्रियताका लागि चेस खेल्ने, बाघ चाल तथा मस्तिष्कलाई सक्रिय बनाउने खालको खेलमा ध्यान दिन सकिन्छ। धूमपान तथा मदिरा सेवनबाट टाढै रहने र पौष्टिक तथा सन्तुलित खानेकुरामा जोड दिन आवश्यक छ।
अर्को महत्वपूर्ण कुरा भनेको सामाजिक अन्तक्रिया हो। यसले दिमागलाई सक्रिय बनाउन ठूलो भूमिका खेलेको हुन्छ। रोग लागिसकेपछि उपचारका विषयमा भने अहिले विश्वभर अनुसन्धानहरु भइरहेको छ।
रोग लागिकसेको छ भने परिवारले विशेष ख्याल गर्नुपर्ने हुन्छ। अझ त्यसमाथि मधुमेह, रक्तचाप जस्ता अन्य दीर्घ रोग छ भने त झन् बढी निगरानी गर्नुपर्ने हुन्छ। ती रोगको नियमित औषधि खान नै उहाँहरुले भुल्न सक्नुहुन्छ। यसकारण परिवार तथा आफन्तको भूमिका ठूलो हुन्छ।
विस्तृत जानकारी भिडियोमा