हामी सबैको इच्छा हुन्छ मुटु रोग नलागोस्। किनभने मुटु रोग प्राणघातक रोग हो। संसारमा सबैभन्दा बढी मानिसको मुत्यु मुटु रोगका कारण हुने गरेको छ।
नेपालमा पनि मुटु रोगका कारण धेरै मानिसको मुत्यु हुने गरेको तथ्यांक छ।
मुटु रोग किन लाग्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा धेरैले चासो दिन्छन्। तर, सबैभन्दा ठूलो समस्या भनेको हामीले आफूलाई थाहा भएको कुरालाई व्यवहारमा लागू गर्न सक्दैनौं। जसका कारण रोगले सताइरहेको छ।
हामी सबै मुटु रोग नलागोस् भन्ने चाहना राख्छौं। मुटु रोग नलाग्न के–के गर्नु पर्छ? भनेर प्रश्न गर्ने धेरै हुन्छन्। चिकित्सकले उनीहरुलाई सुझाव पनि दिएका हुन्छन्। तर, धेरैले ती सुझावको पालना गर्दैनन्। सुझाव नमान्नुको कारण भनेको हाम्रो बानी नै हो। सानैदेखि हाम्रो जीवनशैली, आनीबानीका रूपमा विकासित भइसकेको हुन्छ।पछि त्यसलाई परिवर्तन गर्न गाह्रो हुन्छ।
४० वर्षको उमेर पुगेपछि उच्च रक्तचाप, कोलेस्टेरोल, सुगर भयो भने हरेक दिन एक घन्टा हिँड्छु भनेर झन् गाह्रो हुन्छ। विगतको बानीका कारण हिँडडुल गर्न समस्या हुन्छ। एक दुई दिन हिँड्डुल गर्यो भने पनि फेरि पुरानै बानीमा फर्कने गर्दछन्। त्यसैले सबैभन्दा पहिले आफ्नो बानीलाई सुधार्नु पर्छ।
यदि बानी मात्र सुधार्न सकियो भने ९५ प्रतिशत मुटुको रोग घटाउन सकिन्छ। दीर्घरोगहरु जति छन् ती हाम्रो बानीका कारणले लाग्ने गर्छन्। एकैपटक रोगले च्याप्न थालेपछि बानी परिवर्तन गर्छु भनेर हुँदैन। रोग लाग्नै नदिन सानै देखि बानीमा सुधार गर्नुपर्छ।
आज विश्व मुटु दिवसका अवसरमा हामी आफ्नो बानी कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौं।
सबैभन्दा पहिला गुलियो खानेकुराका विषयमा कुरा गरौं। गुलियो भन्नाले चिनी हो। चिनीमा रिफाइन कार्बोहाइड्रेट हुन्छ। यो काब्रोहाइड्रेट भात तथा गहुँमा हुनेजस्तो होइन। चिनीमा हुने कार्बोहाइड्रेट हाम्रो शरीरमा गएपछि विषजस्तै बन्छ। चिनी मिसाइएको खानेकुरा शरीरमा गएपछि मुटुमा हुनेलगायतका अन्य दीर्घ रोग उत्पन्न हुन्छन्।
चिनी भनेको गुलियो र नुनिलो पदार्थभन्दा पनि खतनाक हुन्छ भनेर अनुसन्धानले पनि देखाएको छ।
चिनी बढी खाने मानिसलाई मुटु रोग बढी मात्रामा लाग्छ।
चाडवाडका बेलामा चिनीबाट बनेका परिकार धेरै खाइन्छ र स्वास्थ्यमा समस्या उत्पन्न गर्छ। सुगरका बिरामीले पनि चिनी मिसाइएका खानेकुरा खाइरहेका हुन्छन्। 'सुगर फ्री' भनिएका मिठाइमा पनि क्यालोरी, बोसो बढी हुन्छ। त्यसकारण बजारमा पाइने सुगर फ्री भनिएका मिठाइ तथा पेय पदार्थ नखानु नै उत्तम हुन्छ।
अब कुरा गरौं नुनको। नुन स्वादका लागि जरुरी तत्व हो। जीवनका लागि पनि नुन जरुरी छ। हामी सबैलाई तरकारी, सागसब्जी धेरै खान सुझाव दिइरहेका हुन्छौं। तर, हाम्रो भान्छामा तरकारी पकाउँदा नुन धेरै हाल्ने चलन छ भने त्यो गलत हो। नुन धेरै हालेको तरकारी धेरै खाँदा त झन् बढी नुन खाइन्छ। त्यसकारण नुनको मात्रा एकदम कम राखेर तरकारी खानुपर्छ। कम नुन हालेर पनि मिठो हुने तरकारी धेरै खाँदा राम्रो हुन्छ। फलफूलमा नुन नहाली खाँदा राम्रो हुन्छ।
अनुसन्धानले के देखाएको छ भने एक जना मानिसले दैनिक ५ ग्राम मात्र नुन खानुपर्छ। तर हामीले १० ग्रामभन्दा बढी नुन खाइरहेका छौं। त्यसकारण आजैदेखि नुन कम खाने बानी बसाल्नुहोला। नुनको मात्रा घटाउन सागसब्जीमा कम नुन हालेर खानु पर्छ। लुकेको नुनीलो खानेकुरा पनि हामीले खान्छौँ। बजारमा बट्टामा प्याक गरेको खानेकुरा तथा अचारमा नुनको मात्रा अत्याधिक हुन्छ। त्यसकारण यस्ता नुनिलो खानेकुरालाई आफ्नो जीवनबाट आउट नै गर्नुपर्छ। बजारका यस्ता नुनिलो खानेकुरा नखाने हो भने घरमा पकाइने खानाको थोरै नुनले पनि हामीले पुग्छ।
खानेकुरामा हाम्रो भान्छामा नछुट्ने अर्को कुरा हो, चिल्लो पदार्थ। चिल्लो र बोसोयुक्त खानेकुराले मुटु रोग बढाउँछ। जनावरबाट पाइने बोसोयुक्त खानेकुरा रोगको घर हो। मासु खाने नाममा हामीले एकैपटक धेरै चिल्लो र बोसो खाइरहेका हुन्छौं। त्यसकारण यसलाई कमगर्न आवश्यक छ। १०/१५ दिनमा थोरै मात्रामा मासु खानु राम्रो हो। तर, एकै पटक र दैनिक धेरै मासु खानु गलत हो। त्यसकारण अब यो बानीलाई पनि सुधार्न आवश्यक छ।
अरु समयभन्दा चाडबाडका समयमा मानिसले मासु बढी खाने गर्छन्। जुन गलत हो। चिल्लो र मासु बढी खानु हुँदैन। अझ बजारमा पकाइएको मासु त झन् हानीकारक हुन्छ। ती मासु तथा खानेकुरा कस्तो तेलमा पाइएको हुन्छ केही थाहा हुँदैन। त्यसले शरीरलाई राम्रो गर्दैन।
यदि मासु खानुहुन्छ भने घरमा थोरै तेलमा पकाउने। मासु खाँदा सलाद पनि खाने। मासु पकाएको छ भने घरमा साग पनि पाकेकै हुनुपर्छ। मासुसँगै सलाद र साग खानु एकदम राम्रो हो। यदि तपाईको यो बानी छैन भने आजैदेखि यो बानी बसाल्नुहोला।
तेलको कुरामा कुन तेल खाने, कति खाने भन्ने विषयमा धेरैनै दोधार देखिन्छ। तेलमा राम्रो कोलोस्टेरोल बढी हुन्छ। त्यसलाई काचो खाँदा फाइदा गर्छ। तर काँचो तेल त कसरी खाने? तेल पकाउँदा त्यो राम्रो कोलेस्टेरोल नराम्रो कोलेस्टेरोलमा परिवर्तन हुन्छ। जति धेरै पकायो त्यति नराम्रो हुन्छ। काँचो आलु र काँचो तेल दुवै स्वास्थ्यका हिसाबले राम्रो हुन्छ।
तर, हामी के गल्ती गरिरहेका हुन्छौं भने स्वादका लागि तेल पनि एकदम धेरै पकाउने र आलुलाई पनि डिप फ्राइ गरिरहेका हुन्छौं। जुन एकदम गलत कुरा हो। यी खानेकुरा जति धेरै पकाउनु हुन्छ त्यति नै नराम्रो हुन्छ। त्यसकारण यो गलत काम पनि आजैबाट छाड्न आग्रह गर्छु।
चिल्लोकै कुरा गर्दा हाम्रो भान्छामा वनस्पति घिउसमेत हुन्छ। बजारमा त धेरै खानेकुरा यी घिउमा पकाइएको हुन्छ। तर, यसमा पाइने फ्याटले मुटुलाई नराम्रो असर गर्छ। त्यसकारण वनस्पति घिउ नखानु नै राम्रो हुन्छ।
बजारबाट ल्याइने फास्टफुड, केक, पेस्ट्री, आइसक्रिम खाँदासमेत ध्यान दिन जरुरी छ। किनभने यस्ता खानेकुरामा हाम्रो शरीरलाई असर गर्ने ट्रान्सफ्याट र चिनीको मात्रा बढी हुन्छ। तपाईको जीवनशैली राम्रो छ, स्वस्थ र सन्तुलित भोजन गरिरहनु भएको छ, नियमित व्यायाम पनि गरिरहनु भएको छ भने कहिलेकाँही एकदमै थोरै मात्रामा यस्ता खानेकुरा स्वादका लागि खाँदा हुन्छ। तर, तपाईको जीवनशैली नै अस्वस्थ छ र शरीर पनि निस्क्रिय छ भने यी खानेकुरा नछुँदा नै राम्रो हो।
धेरै जनाको बानी हुन्छ राती सुत्ने बेलामा दूध खाने। दूध पनि जनावरबाट प्राप्त हुने खानेकुरा हो। यसमा पनि स्याचुरेटेड फ्याट बढी हुन्छ। यदि तपाईलाई मोटोपन छ, कोलेस्टेरोल बढी छ, रक्तचाप पनि छ, सुगर पनि छ भने दूध नखानु नै राम्रो हुन्छ। यसको सट्टामा बरु दही खाँदा राम्रो हुन्छ। किनभने दहीमा फ्याटको मात्रा र क्यालोरी कम हुन्छ।
तर, वृद्धवृद्धा, कमजोरीपन भएका, बालबालिका, गर्भवती, अन्य बिरामी, कुपोषितहरुले भने दूध सेवन गर्नु आवश्यक छ। स्वास्थ्यका हिसाबले बजारमा पाइने हर्लिक्स, बर्नभिटाजस्ता खानेकुरा पनि खानु राम्रो मानिँदैन।
हामीले हाम्रो दैनिक खानपिनमा भातको मात्रा कम गर्दै लैजानुपर्छ। बजारमा पाइने पोलिस गरेका चामलमा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ। भातलाई कम गर्दै रोटी, मकै, कोदो तथा फापर खाएर कार्बोहाइड्रेट घटाउन सकिन्छ।
दाल र गेडागुडी हाम्रो लागि राम्रो खाना हो। यसमा कार्बोहाइड्रेट कम हुन्छ। गुड फ्याट, प्राटिन, फाइबर हुने भएकाले यी खानेकुरा शरीरका लागि उत्तम मानिन्छ। खानामा यी कुरा बढाउने र सलाद पनि खाने बानी बसाल्नुपर्छ। दिनमा एक कचौरा सलाद खाने बानी बसाल्नु भयो भने राम्रो हुन्छ। सलादलाई सफा पानीले राम्रोसँग पखालेर मात्र खानुपर्छ।
यसका साथै मौसम अनुसारका फलफुल खाने बानी बसाल्नुपर्छ। तरकारी र फलफुल मिलाएर दिनमा ४/५ पटक खानु राम्रो मानिन्छ।
खानेकुरासँगै हामीले सुधार्नुपर्ने अर्को बानी हो, शारीरक सक्रियताको। यसका लागि व्यायाम, मर्निङ वा अन्य क्रियाकलाप गर्न जरुरी छ। जुन प्रकारको व्यायाम गरेपनि हाम्रो शरीर सक्रिय हुनुपर्छ।
पछिल्लो समय हामी टिभी, मोबाइल, ल्यापटपमा घन्टौं बिताइरहेका हुन्छौँ। व्यायामका लागि समय छैन भन्ने तर अनावश्यक रुपमा एकै स्थानमा बसिरहने बानी स्वास्थ्यका लागि घातक हो।
जब तपाईंको उमेर ३० देखि ५० वर्षको छ। तर, तपाईको जीवनशैली अस्वस्थ र खानपानमा पनि ध्यान दिनुहुन्न भने रोग लाग्ने पक्कापक्की हुन्छ। रोग लागेपछि म हिँड्छु खानेबानी सुधार्छु भनेर त भएन नि। त्यसकारण तपाईले सानैदेखि आफ्नो बानी सुधार्न आवश्यक छ। व्यायाम गर्ने बानी सानैदेखि बसाल्नुपर्छ। कम्तीमा पनि दैनिक एक घन्टा व्यायाम गर्न आवश्यक हुन्छ। समस्या परेपछि पछुताउनुभन्दा त पहिलेदेखि नै व्यायाम गरेर स्वस्थ जीवन जिउनु राम्रो कुरा हो।
रोग लागेको छैन भने पनि दैनिक कम्तीमा ३० देखि ४० मिनेट हिँड्न आवश्यक छ।
अर्को सबैभन्दा महत्वपूर्ण कुरा धूमपान र मदिराबाट टाढा रहनुपर्छ। यी दुवै कुरा सेवन गर्नु भनेको रोग निम्त्याउनु नै हो। विगतमा थोरै मदिरा खाँदा स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरा आइरहेको थियो। तर, अहिले नयाँ अनुसन्धानले धूमपान जस्तै मदिरा पनि स्वास्थ्यका लागि घातक छ भन्ने देखाइसकेको छ। त्यसकारण धूमपान, सूर्तीजन्य पदार्थ र मदिराबाट सधैँ टाढा रहनु नै उत्तम हो।
हामीले सुधार्नु पर्ने अर्को बानी हो, नियमित स्वास्थ्य जाँच पनि हो। रोग लागे पनि नलागे पनि वर्षमा एक पटक आफ्नो शरीरको नियमित जाँच गर्नुपर्छ।
तनावबाट मुक्त हुने, सकारात्मक सोचको बानी बसाल्ने गर्दा पनि धेरै रोगबाट जोगिन सकिन्छ। यदी यी कुरामा सुधार गर्न सकियो भनेमुटु तथा अन्य दीर्घरोगको जोखिम ९५ प्रतिशतसम्म कम गर्न सकिन्छ।
सकारात्मक सोच बनाऔं, अस्वस्थ्य प्रतिस्पर्धा नगरौं। यी कुरा सुधार गर्न सकियो भने ९५ प्रतिशत रोग लाग्ने जोखिमबाट हामी जोगिन सक्नेछौं।
भिडियो : सौरभ रानाभाट