सरकारले नेपाललाई आज ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेछ।
खुला दिशामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर मुुलुकको रुपमा घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली राष्ट्र बन्ने रहेछ।
यो सुनेपछि मलाई स्वास्थ्य पत्रकार भएकोले नाताले शौचालय भएपनि त्यसको उपयोग र सरसफाई बारे लेख्न मन लाग्यो।
साताको आधाजसो दिन त स्वास्थ्य मन्त्रालयमै बित्ने भएकाले त्यहाँको शौचालयका बारेमा लेख्दैछु।
जसले खुला स्थानमा शौच गर्छन्, उनीहरुलाई स्वास्थ्य मन्त्रालयको शौचालय कस्तो राम्रो सफासुग्घर होला भन्ने लाग्न सक्छ। त्यसैको जानकारी दिन मन लागेको छ।
स्वास्थ्य मन्त्रालय नागरिकलाई हात धोएर खाना खानुपर्छ भन्ने सिकाउनेदेखि स्वास्थ्यका नीति नियम बनाउनेसम्मको मन्त्रालय।
हरेक दिन स्वास्थ्यकर्मी र यससँग सरोकार रहेकाहरु कुनै न कुनै कामले मन्त्रालय छिर्छन्।
सिंहदरवारभन्दा बाहिरको मन्त्रालय भएकाले भित्र छिर्न त्यति गाह्रो पनि छैन। कतिपय पार्किङ गर्नकै लागि पनि मन्त्रालय परिसर पस्छन्।
मन्त्रालयमा स्वास्थ्यमा काम गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधिसमेत हरेक दिन गइरहेका हुन्छन्। कुनै न कुन संस्थाका मानिसहरुसँग हरेक दिन मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिवहरु, महाशाखा प्रमुखहरु सँग बैठक भइरहेकै हुन्छ।
समायोजनको काम चलिरहेकाले देशका विभिन्न ठाउँमा विभिन्न गुनासो र काम लिएर स्वास्थ्यकर्मी मन्त्रालय आउँछन्। स्वास्थ्यका विविध विधामा पढेका विद्यार्थी, अन्य राजनीतिक दलका नेता पनि विभिन्न काम लिएर मन्त्रालय पुग्छन्।
धेरै मानिसको चहलपहलले स्वास्थ्य मन्त्रालय हरेक दिन नै भरिभराउ हुन्छ। यति भन्दै गर्दा तपाईंमध्ये कतिलाई आफू स्वास्थ्य मन्त्रालय छिरेको याद आयो पनि होला।
तपाईं हामीमध्ये कति मन्त्रालय छिर्दै गर्दा मन्त्रालयको शौचालय पनि पक्कै छिरेको हुनुपर्छ।
हो, शौचालय। त्यहाँको शौचालय सम्झिएर ब्लग लेख्दै गर्दा पनि नाक छोपौँ जस्तो लागिरहेको छ। मन्त्रालयको भुइँ तलादेखि तेस्रो तलासम्म कुनै पनि शौचालयमा छिर्नुहोस् तपाईंले नाक छोप्नुपर्ने अवस्थामा छन्।
मन्त्री, राज्यमन्त्री र सचिव केही सह–सचिवबाहेक अन्य सबैले मन्त्रालयको प्यासेजमा रहेका महिला पुरुष लेखिएको शौचालय प्रयोग गर्छन्।
महाशाखा प्रमुखदेखि मन्त्रालय पुग्ने अन्य व्यक्ति सबैले। यो हिसावले स्वास्थ्य मन्त्रालयमा करिब १५ भन्दा बढी शौचालय छन्।
तीमध्ये प्रत्येक तलमा भएका चार वटा प्रयोग गर्न नमिल्ने गरी फोहोर भएका छन्। भुइँतलादेखि तेस्रो तलासम्म रहेका तीन महिला र तीन पुरुष शौचालय छिर्दा वान्ता आउन खोज्छ।
केही समय अघि शौचालयकै विषयमा एक महाशाखा प्रमुख भन्दै थिए, ‘स्वास्थ्य मन्त्रालय भन्न नि लाजमर्दो छ, ट्वाइलेट त राम्रो छैन, अरु त के भन्ने ?’
स्वास्थ्य मन्त्रालयको शौचालय नमूना बन्न नसकेपनि कसेकम सफासुग्घर त हुनुपर्ने होइन र ?
महिला शौचालय छिर्दा आउने गन्धले बेहोस बनाउलाझैं हुन्छ। भित्र छिरेपछि पानीको ताल परेको छ।
महिनावारी हुँदा प्रयोग गरिएको प्याड राख्ने डस्बिन त छैन न। हात धुने सावुन कहिल्यै राखेको पाइएन।
प्रयोग गरिएका प्याड पनि यत्तिकै फालिएका छन्। ती त्यहीँ सडेर त्यसबाट नराम्रो गन्ध आइरहेको हुन्छ।
स्वास्थ्य मन्त्रालयमा सरसफाइका लागि कर्मचारी नभएका पनि होइनन्। फेरि उनीहरुले प्रयोग गर्ने पनि त्यही शौचालय हो।
मिटिङका लागि मन्त्रालय आएकी एक गैरसरकारी संस्थाकी महिलाले भनिन्, ‘स्वास्थ्य मन्त्रालयको शौचालयमा महिनावारी हुँदा प्रयोग हुने प्याड, सेनिटाइजर, हात धुने सावुन, हात पुछ्ने रुमालसमेत हुनुपर्ने हो, बेलाबेला सफा गरिराख्नुपर्ने हो।’
उनले मन्त्रालय आउँदा शौचालय जानुपर्ने सम्झेर सकभर पानी नै नपिउने बताइन्। ‘शौचालय गइसक्नु छैन, उल्टै संक्रमण होला भन्ने डर लाग्छ,’ उनले भनिन्।
हुनत हाम्रा धेरै जसो कार्यालयमा महिला मैत्री शौचालय हुँदैनन्। शौचालय भएपनि महिलाका लागि भनेर डस्बीन राख्ने चलन निकै थोरै कार्यालयमा हुन्छ।
तर, स्वास्थ्य मन्त्रालयमा सामान्यवस्थाको पनि शौचालय नहुनु भनेको स्वास्थ्यकै उपहास गर्नु हो। सजिलै व्यवस्थापन गर्न सकिने सामान्य लाग्ने तर निकै महत्वपूर्ण कुराप्रति ध्यान नदिनु भनेको लापरवाही हो।
यो आर्थिक वर्षमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले शौचालय मर्मत र चुुहिने ठाउँ मर्मतलगायतका सरसफाई कार्यका लागि रु एक करोड विनियोजन गरेको छ। तर, करोड बजेट छुट्याउँदा पनि शौचालयको सरसफाइ हुन सकेको छैन। यो काम हेर्ने आन्तरिक प्रशासनले भने यो विषयमा ध्यान दिएको छैन।
पछिल्लो समय देशभर डेंगुको प्रकोप फैलिएपछि मन्त्रालय सरसफाइ गर्ने भन्ने पनि सुनिएको हो। तर, सरसफाइ भएको छैन।
मन्त्रालयको शौचालय फोहोर भएकाले लामखुट्टे बढ्न सक्ने भन्दै सरसफाई गर्न हुने चर्चा चलेको मन्त्रालयका एक कर्मचारीले बताउँछन्। त्यही बहानमा सफा गरिदिए त हुन्थ्यो। तर, सफा गर्ने कुनै संकेत देखिदैन।