घाइते हुनुको पीडा खेलाडीले जति कसले बुझ्ला ? राम्रो लयमा अघि बढिरहेको एउटा खेलाडी चोटग्रस्त हुँदा खेल रोकिने मात्रै होइन, धेरै पछाडि धकेलिन्छ। मैदानमा फर्कनु चुनौती बनिदिन्छ। चोटबाट फर्किएपछि पनि पुरानो गति समात्नु उसका लागि झनै कठिन हुन्छ।
खेल छोड्नुपर्दाको पीडा घाइते खेलाडीहरु यसरी पोख्छन्, ‘अरु जेसुकै होस्, चोट नलागोस्।’ आफूभन्दा पछि आएका खेलाडी अगाडि पुगिसक्दा पनि आफू चोटमुक्त हुने संघर्षमा नै रहनु खेलाडीका लागि साच्चै दुःखद हुन्छ।
एउटा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न मैदानमा जति संघर्ष गर्छ, त्यो भन्दा सयौँ गुणा संघर्ष उसले चोटबाट बाहिर निस्कन गर्नुपर्छ। यस्तै संघर्षबाट गुज्रिरहेका खेलाडी हुन्, महिला भलिबलमा राम्रो भविष्य देखाएकी कामना विष्ट, अन्तर्राष्ट्रिय ट्रेल रनिङमा नेपाललाई चिनाएकी मिरा राई र कुनै समय यु १९ देखि राष्ट्रिय टिमसम्म अब्बल दरिएका क्रिकेटर पृथु बाँस्कोटा।
कामना विस्ट
भलिबलमा नै केही गर्छु भनेर दायाँबायाँ केही नसोची लागिपरेकी खेलाडी हुन् कामना विष्ट। १८ वर्षकी कामनाको मिहिनेत खेलमा देखिइरहेको थियो। नेपाली महिला भलिबलले एक उम्दा खेलाडी पाएको चर्चा खेल वृत्तमा भइरहन्थ्यो, तर चोटले उनको बाटो अड्किएको छ।
अहिले चोटबाट निस्किएर अभ्यासमा सामेल भइरहे पनि पुरानो लयमा फर्किन भने उनलाई समस्या छ। राष्ट्रिय टिमका लागि अभ्यासमा सामेल हुन पाएकी छैनन् कामना। ‘राम्रो नै खेलिरहेको बेलामा खेलबाट बाहिर बस्न असाध्यै गाह्रो हुने रहेछ। खेलाडीलाई सबैभन्दा अप्ठ्यारो बाहिर बसेर खेल हेर्न हुन्छ, यसरी बाहिर बसेर हेरिरहन त म सक्दैसक्दिनँ,’ उनी भन्छिन्।
बाहिर बसेर अरुले खेलिरहेको हेर्नुपर्दा, आफूले खेल्न नपाउँदा भित्रबाट उनको रगत तातेर आउँछ। यसैले घाइते भएकै अवस्थामा पनि कामनाले कति प्रतियोगिता खेलिन्। तर त्यो रहरले उनको चोट झन् बल्झियो।
कामना सुनाउँछिन्, ‘नसके पनि खेलौँखेलौँ हुन्छ। घाइते भएपछि पनि कति प्रतियोगिता त खेलेँ। त्यही रहर र ऊर्जाले मैदानसम्म पु¥याए पनि त्यसले मलाई ठिक गरेन। घाइते नभएको भए म राम्रो स्तरमा पुगिसकेको हुन्थेँ।’
घाइते भएर प्रतियोगिताबाट बाहिर बसिरहनु परेको अवस्थामा पनि केही गर्नसक्छु भन्ने आत्मविश्वास त उनमा छ तर राम्रो गर्नसक्ने समय खेर गइरहँदा भने चिन्ता थपिन्छ। ‘सम्झँदा पनि आँसु आउँछ,’ कामना भन्छिन्, ‘मेरो खेल धेरै राम्रो भइरहेको थियो। चोटका कारण एक्कासि तल झर्नुप¥यो। खै के भनौँ, भाग्यले पनि साथ दिनुपर्ने रहेछ।’
उनको आत्मविश्वास भने घटेको छैन। उनलाई लागेको छ, अवस्था जे आओस् भलिबललाई निरन्तरता दिन्छु। चोट ठिक नभए पनि पुलिस टिममा रहेकी कामना नियमित अभ्यासमा भने छिन्। ‘खेल त खेल्नै छ, आफ्नो लागि, नेपाल पुलिस क्लबका लागि, देशका लागि,’ आत्मविश्वास यसरी प्रकट गर्छिन् उनी।
कामना २०७३ सालमा पर्वतमा भएको प्रथम दिदीबहिनी कप भलिबल प्रतियोगिताको बेला घाइते भएकी थिइन्। सुरुमा ठूलो चोट त देखिएको थिएन, तर सानै चोटले पनि निकै सतायो उनलाई। कामनाले ‘माइनस’ मा आएको एउटा बल उफ्रिएर हानेकी थिइन्, तुरुन्तै थचक्कै बस्न पुगिन्। उठ्दा गोलिगाँठामा दुखिरहेको थियो। खेलिरहेको बेला त धेरै दुःखाइ भएन। बेलुकादेखि भने बढी नै दुख्न थालेको थियो उनलाई।
घाइते भएपछि कामना उपचारका लागि एक वर्षसम्म काठमाडौंका राम्रा भनिएका लगभग सबै अस्पताल गइन्। अर्थोपेडिक डाक्टरहरुलाई देखाइन्। सुरुमा डाक्टरले गोलिगाँठामा पानी जमेको शंका गरे। तर रिपोर्टहरुमा त्यस्तो देखिएन। खेल्दा हुन्छ भन्ने कुरा भयो। यसैले उनले अभ्यास गरेर खेलिरहिन्। घाइते भएपछि नै आठ वटाभन्दा बढी प्रतियोगिता खेलिन् उनले।
दिन बित्दै जाँदा उनको गोडामा २४सै घन्टा दुख्न थाल्यो। ‘जचाउँदा केही पनि देखिँदैन तर दुखिरहने। थेरापी पनि गरेँ। तीन महिना त प्रहरी अस्पतालमा नै नियमित थेरापी गराएँ। तर सुधार भएको महसुस नै भएन,’ कामनाले भनिन्।
आर्थोस्कोपी गरेर हेर्ने कि भनेर डाक्टरले दिएको समय पनि प्रतियोगिता खेल्न गएर गुज्रियो। त्यसको ६ महिनापछि आर्थोस्कोपी गराइन्। गोलिगाँठा भित्रको हड्डीमा घाउ भएर सुन्निएको रहेछ। त्यसपछि बल्ल समस्या थाहा भएर उपचार गराइन्।
नखेली घरमा बसिराख्दा उनलाई समय कटाउनै गाह्रो पर्यो। एक्लै हुँदा दिमागमा धेरै कुरा खेले। केही समय त ‘फ्रस्टेसन’ नै भयो। असाध्यै निराश थिइन्। कसैसँग नबोल्ने, चुप लागेर बस्ने बानी नै परेको थियो।
उनलाई उपचार खर्च जुटाउन गाह्रो भयो। एउटा प्रतियोगितामा ‘प्लेयर अफ दी सिरिज’ भएर जितेको स्कुटरसमेत बेच्नु परेको थियो उनलाई। कति समय त उनी मैदानमा आइनन्। विस्तारै डाक्टरहरु सबैले हौसला दिएकाले अभ्यासमा आउन थालिन्। अहिले लाग्छ, ‘त्यो समय घाइते हुनेवित्तिकै लगातार खेल्न नगएको भए छिटो ठिक हुन्थ्यो होला।’
मिरा राई
अन्तर्राष्ट्रिय ट्रेल रनर मिरा राईको नाम नै पूर्ण परिचय बनेको छ। माओवादी ‘जनयुद्ध’मा सामेल भएकोेदेखि अहिले टे«ल रनिङमा विश्व घुमिरहेकी मिराको यात्रा यति बदलिएको छ कि, त्यसले जो कसैलाई छक्क पारिदिन्छ।
गाउँमा हुँदा सानै उमेरमा मिराले मेलापात, घाँसदाउरा गरिन्। भारी बोकेर भिरपाखा सबै चहारिन्। मिराको खोज जहिल्यै एउटै हुन्छ– केही नयाँ भेटिन्छ कि ? केही नयाँ काम गर्न सकिन्छ कि ? त्यही खोजले नै उनलाई १५ वर्षकै उमेरमा माओवादी जनयुद्धमा सामेल गराएको थियो।
मिरा मिहिनेत र हिम्मतकी पर्याय नै बनेकी छिन्। शान्ति सम्झौतापछि माओवादी क्याम्पबाट अयोग्य भनेर निकालिएकी मिराले देखाएको योग्यताले विश्व चकित छ। हेर्दा असम्भव लाग्ने काम मिराले सम्भव बनाएकी छिन्। अहिले त आफूले मात्रै होइन, आफूजस्तै केही गर्न चाहनेलाई सहयोग गरिरहेकी छिन्।
भोजपुरको विकट दुम्मा गाउँबाट जनयुद्धमा सामेल भएकी मिरालाई कहिल्यै लागेकै थिएन, कुनै दिन यसरी विश्व घुम्ने छु, देशलाई विश्वभर चिनाउने छु।
सेना समायोजनमा ४ हजार ८ जना साथीहरुसँगै अयोग्य भनेर निकालिएकी मिराले लामो समय त के गर्ने भन्ने सोच्नै सकेकी थिइनन्। पाँच वर्षसम्म सिन्धुलीमा बसेर पढाइलाई निरन्तरता दिइन्। त्यसपछि विदेश जाने सोचमा लागेकी मिराले कराँते गुरु ध्रुवबिक्रम मल्ललाई भेटेपछि भने आफ्नो यात्रा खेलतिर मोडिन्। दशरथ रंगशालामा एक महिना जति दौड अभ्यास गरिन्।
दौडतिरको लगावले नै पहिलो पटक २०७० साल चैत ७ गते जीवनकै पहिलो टे«ल रनिङ प्रतियोगितामा सहभागी भइन् र उपाधि नै जितिन्। पहिलो पटकमै ५० किलोमिटरको त्यो दौड जितेको सम्झँदा अहिले पनि मिराको शिर गर्वले उँचो हुन्छ।
त्यसपछि मुस्ताङ ट्रेल रेसमा प्रथम भएकी मिरा इटाली, फ्रान्स, हङकङ, अस्ट्रेलिया, स्पेन, नर्वे, बेलायत हुँदै विभिन्न देशमा प्रतियोगिताहरुमा भाग लिइसकेकी छिन्। उनले सन् २०१४ मा मात्रै ९ वटा प्रतियोगिता खेलिन्, त्यसमा ७ वटामा त पहिलो नै भइन्। दुई वटामा दोस्रो भइन्। सन् २०१५ मा ११ वटा प्रतियोगिता खेलेकोमा ६ वटामा पहिलो भइन्। एउटामा दोस्रो, एउटामा तेस्रो, एउटामा चौथो भइन्।
सन् २०१४ मा टे«ल रनिङ सुरु गरेकी मिरा २०१५ मा नै विश्वकै दोस्रो स्थानसम्म पुगिसकेकी थिइन्। तर २०१६ मा उनलाई चोटले सतायो। त्यही वर्ष पनि उनले दुई वटा प्रतियोगिता त खेलेकी हुन्। बेलायत र स्पेनमा भएको ट्रेल रनिङमा सहभागी उनलाई त्यही समय चोटले सताउन थालेको थियो। चोटकै बाबजुद २०१७ मा बेलायतमा नै बेन नेभिस अल्ट्रा दौडमा १२० किलोमिटर दौडँदा पहिलो भइन्।
उनको चोट लिगामेन्टमा देखिएको थियो। बेलायतमा थ्री पिक्स रेसमा ४२ किलोमिटर दौडँदा खोच्चिएको गोडामा नशा नै चुडिएको रहेछ। रेस सकाएपछि उनले इटालीमा लिगामेन्टको सर्जरी गराइन्। त्यसले पनि राम्ररी बिसेक भएन। दोस्रो पटक फ्रान्समा गएर सर्जरी गराइन्। अहिले उनको गोडा ठिक हुँदै छ, नियमित अभ्यासमा लागिरहेकी छिन्। काठमाडौं वरपरका डाँडाकाँडामा अभ्यास गरिरहेकी छिन्।
‘धेरै दुःख झेलेर छोटो समयमा ट्रेल रनिङमा नाम बनाउन सकेकी थिएँ, अहिले चोटले दुःख दियो,’ मिरा भन्छिन्, ‘ट्रेल रनिङमै प्रयोग हुने सामान उत्पादन गर्ने कम्पनी सालामोनले सहयोग गरिदिँदा मात्र मेरो उपचार सम्भव भयो। सालामोन टिमको अन्तर्राष्ट्रिय खेलाडी बनेर नेपालको प्रतिनिधित्व देश–विदेशमा गरिरहन पाएकी छु।’
चोटबाट बाहिर निस्कन प्रयासरत मिरा नियमित थेरापीसहित सक्ने अभ्यासमा लागिरहेकाले छिट्टै खेलमा फर्कने विश्वासमा छिन्। ‘अहिले ट्रेल रनिङलाई प्रोमोट गर्ने र मजस्तै दौडन चाहने अन्य भाइबहिनीलाई अवसर दिनका लागि पनि काम गरिरहेका छौँ। मेरो चोट विस्तारै निको हुँदै छ,’ उनले सुनाइन्। उनी मिरा राई इनिसियटिभ फाउन्डेसनका साथै ट्रेल रनिङ नेपाल भन्ने कम्पनीमार्फत काम गरिरहेकी छिन्।
मिरालाई लाग्छ ट्रेल रनिङमा जति नाम छ त्यति दाम भने छैन। त्यसले गर्दा खेलाडीलाई जीवन चलाउन मात्रै होइन, चोट लागेमा उपचार गरिहाल्न पनि कठिन छ। आफूले प्रायोजक पाएकाले सबै कुरामा सहज भइरहे पनि सबैको अवस्था त्यस्तो नरहेको उनी बताउँछिन्।
‘बाहिर जस्तो सुविधा हाम्रोमा छैन। बाहिर एउटा पदक जित्दा सरकाले धेरै सहयोग गर्छ, खेलाडीको सम्पूर्ण जिम्मेवारी लिएको हुन्छ, हाम्रोमा त खेलाडी घाइते भयो भने खेलबाटै टाढिनुपर्ने अवस्था आउनसक्छ। खेलाडीले बिहान–बेलुका खानकै लागि संघर्ष गर्नुपर्ने दुःखद अवस्था छ,’ उनले भनिन्।
पृथु बाँस्कोटा
नेपाली क्रिकेटमा कुनै समय उम्दा खेलाडी थिए, पृथु बाँँस्कोटा। उनको अलराउन्ड प्रदर्शनले नेपाली क्रिकेटले भविष्यसम्मका लागि असल खेलाडी पाएको चर्चा चल्थ्यो। तर उनको खेलमा एक्कासि ब्रेक लाग्यो। त्यो पनि चोटले।
सन् २०१४ को टी–२० विश्वकप छनोटका लागि २०१३ मा भएको क्लोज क्याम्पमा घाइते भएपछि पृथुको क्रिकेटमा ‘ब्रेक’ लाग्दै गयो। त्यसबेला उनी क्याम्प सुरु भएको पहिलो दिन नै घाइते भएर बस्नुपरेको थियो।
यु १९ राष्ट्रिय टिमबाट विश्वकप खेल्दा मात्रै होइन, राष्ट्रिय टिमबाट २०१२ मा मलेसियामा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोर जित्दा र २०१३ मा बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन थ्री जित्दा पृथुको योगदान उल्लेख्य थियो। तर त्यसपछिको चोटले भने उनको खेल माथि आउनै दिएन।
‘टी–२० विश्वकप छनोटको क्लोज क्याम्पका बेला हामी वार्मअप गरिरहेका थियौँ। त्यसैका लागि विस्तारै फुटबल खेलिरहेको थिएँ। एक्कासि खुट्टा फर्किएर ढलेँ। खुट्टा सुन्निँदै गयो,’ पृथु सम्झन्छन्, ‘त्यसपछि अस्पताल गएर एक्सरे गराएँ। एमआरआई गरेर हेर्दा लिगामेन्ट नै गएको देखियो।’
पृथुले दुई महिना उपचार गराए। उनी उपचारपछि सन् २०१५ को विश्वकपका लागि २०१४ मा भएको विश्वकप छनोटका लागि खेल्न राष्ट्रिय टिममा फर्किएका थिए।
न्युजिल्याण्डमा भएको ५० ओभरको विश्वकप छनोटको त्यो प्रतियोगिताबाट नेपाल डिभिजन थ्रीमा नै झरेको थियो। त्यही प्रतियोगिताको प्ले अफको अन्तिम खेलमा युगान्डासँग खेल्दा पृथुको चोट फेरि बल्झियो। ‘रन लिन लाग्दा शरद भेषवाकर दाइसँग ठोक्किएर घाइते भएको थिएँ। त्यसपछि त घुँडाको अप्रेसन नै गर्नुपर्यो,’ पृथुले सुनाए।
पृथु घाइते भए पनि नेपालले युगान्डालाई १ सय ६० रनले हराएको थियो। घाइते भएर ‘रिटायड हर्ट’ हुनुअघि पृथुले ५१ बलमा ९ चौका र १ छक्कासहित ५९ रन बनाएका थिए। जहाँ पूरा खेल नखेले पनि उनी ‘म्यान अफ दि म्याच’ चुनिए। तर त्यो समयको चोटले २०१४ को टी–२० विश्वकप खेल्ने उनको सपना खेर गयो।
‘अहिले पनि त्यो सबै सम्झिँदा दुःख लाग्छ। तर जे हुनु भइसक्यो, त्यसलाई स्वीकार नगरी अगाडि बढ्न पनि सकिँदैन,’ उनी भन्छन्।
दोहोरो चोटले गर्दा पृथुले झन्डै १५ महिना विश्राम लिनुपर्ने भयो। त्यसपछि इंग्ल्यान्डमा केन्ट क्रिकेट लिग खेल्न उनी फेरि मैदानमा उत्रिए। त्यहाँबाट नै आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्यान्डसँगको खेलमा उनी राष्ट्रिय टिममा फर्किएका पनि हुन्। तर पहिले जस्तो उनको लय देखिन सकेन।
स्कटल्यान्डपछि पपुवा न्युगिनीसँगको खेलमा पुथुको फेरि औँलामा चोट लाग्यो। त्यसले त झनै धेरै समय विश्राममा राखिदियो। ‘त्यो बेला अपरेसन पनि राम्ररी नभएकाले धेरै नै दुःख पाएँ। ब्याट नै राम्ररी समात्न नमिल्ने जस्तो भएको थियो। त्यसले गर्दा १८ महिना नै आराममा बस्नुपर्ने भयो,’ उनले भने।
अपरेसन गर्नुपर्ने र गर्नु नपर्ने भन्नेमा डाक्टरहरुमा नै देखिएको दोधारले पृथुको धेरै समय खेर गएको थियो। गर्ने/नगर्ने दोधारकै बीच पृथुले अपरेसन गराए। तर उनको अपरेसन बिग्रियो। अहिलेसम्म पनि उनको चोट लागेको हातको औँला बाँगो नै छ।
घरेलु प्रतियोगिताहरुमा अहिले पनि पृथु मिलेसम्म खेलिरहेका छन्। नियमित अभ्यास गरेर इपिएल, पिपिएल, डिपिएलहरुमा उपस्थिति जनाए पनि पृथुको खेल भनेजस्तो भएको भने छैन।
पछिल्लो समय व्यवसायहरुमा पनि हात हालेका पृथु आफ्नो सबैथोक भने क्रिकेटलाई नै मान्छन्। क्रिकेटमा अझै केही गर्न सकिन्छ भन्नेमा आशावादी छन् उनी।