म्याग्जिलोफेसियल प्रोस्थेसिस शब्द सुन्दा अलि अपरिचित लाग्छ। यो शब्द सम्बन्धित व्यक्तिहरु बाहेक अरुले नबुझ्नु स्वभाविक पनि हो। तर बुझ्न सकियो भने धेरै सर्वसाधारणलाई उपयोगी हुने देखेर यो जानकारीमूलक लेख तयार पारिएको हो।
प्रोस्थेसिस भनेको मुख र यसको आसपासमा गुमेको अथवा जन्मजातै नभएको भाग र अंगलाई कृत्रिम अंगद्वारा पहिलेझैँ देखिने अवस्था पुनर्स्थापना गर्ने पद्धति हो। विशेष गरेर आँखा, नाक, कान, अनुहार र यसैको वरिपरिको भागलाई कृत्रिम अंगबाट मुहारको आकृति र सौन्दर्य फर्काउने पद्धति हो यो।
घाउ-चोटपटक, क्यान्सरपछि गरिने अपरेसन तथा जन्मजात हुने गडबडीबाट आफ्नो आँखा, नाक, कान आदि नभएको अवस्थाबाट धेरै मानिस पीडित हुन सक्छन्। यस्तो समस्या कसैको रहरले भन्दा पनि बाध्यताले आउने कुरा सबैमा विदितै छ। यस्ता समस्या आफैंमा समस्या त हुँदै हो, त्योमाथि यसको मनोवैज्ञानिक पाटो झनै डरलाग्दो हुने गर्छ। आँखा, कान र नाकले गर्ने काम गर्न नसक्दा शारीरिक अशक्तताको पीडाभन्दा पनि आफू कुरूप देखिन्छु, सौन्दर्य गिरेको छ, समाजमा खुल्न सक्दिन भन्ने आदि कुराले मानसिक रुपमा ठूलो दबाब पार्छ।
त्यसले आत्मविश्वासमा ह्रास आउने, तनाव र चिन्ता बढ्ने, डिप्रेसन हुने लगायत समस्या आउन सक्छ। हो, त्यसैलाई मल्हम लगाउन र अनुहारको सुन्दरतालाई चामत्कारिक रुपमा सुधार ल्याउन म्याग्जिलोफेसियल प्रोस्थेसिसहरुको विशेष भूमिका हुन्छ। परिणाम स्वरूप पीडित व्यक्तिमा उच्च मनोबलका साथ सहज जीवनयापन गर्न सरल हुन्छ।
यस्तो खालको सेवा सहज रुपमा प्राप्त गर्नका लागि, यो सेवा कहाँ होला र कसले प्रदान गर्छन् भन्ने कुराको पनि जानकारी राख्नुपर्ने हुन्छ। अनुहारमा चोटपटक लागेको, अंगभंग भएको अवस्थालाई प्राकृतिक रुपमा शरीरकै भागहरुबाट पुनर्स्थापना गराउने र सौन्दर्य फर्काउने विधा म्याग्जिलफेसियल सर्जरी, इएनटी, अप्थालमोलोजी र प्लास्टिक सर्जरी विभागसँग सम्बन्धित छ। तर प्राकृतिक विधिबाट पुनर्स्थापना गर्न असम्भव नै हुने गरी अंगहरु गुमेको अवस्थामा कृतिम अंग राख्नुपर्ने हुन्छ, जुन दन्त चिकित्साको प्रोस्थोडोन्टिक्स विभागसँग सम्बन्धित छ।
यसका प्रकारहरु यस्ता छन्
१. अकुलर प्रोस्थेसिस; यसले गुमेको/नभएको आँखा मात्र पुनर्स्थापित गर्छ।
२. अर्बाइटल प्रोस्थेसिस; यसले आँखा लगायत यसको वरपरको मासु, छाला र हड्डी समेतलाई पुनर्स्थापन गराउँछ।
३. न्याजल प्रोस्थेसिस; यसले गुमेको/नभएको नाक तथा यसको सम्बन्धित भागहरुलाई पुनर्स्थापित गराउँछ।
४. अरिकुलर प्रोस्थेसिस; गुमेको/नभएको कान र यसका सम्बन्धित भागहरुलाई पुनर्स्थापित गराउँछ।
५. अवटुरेटेर; जन्मजात अथवा पछि समस्या आएर तालुमा प्वाल भएको अवस्थामा त्यसलाई बन्द गर्न प्रयोग गरिन्छ।
दन्त चिकित्सा भनेको दाँतको मात्र उपचार हुने विधा होला भन्ने विश्वास राख्ने धेरै सेवाग्राही छन्। गिजा, जिब्रो, गाला, ओठका घाउ तथा समस्यालाई दन्त चिकित्सा अन्तर्गत नै पर्छ भनेर हामीले सम्झाउँदा (उपचार गर्दा), यो त दाँतको समस्या हैन होला भन्दै आश्चर्य व्यक्त गर्ने धेरै रहन्छन् र मासुमा भएको समस्या मेडिकल विधाकै चिकित्सकलाई देखाउन पर्ला भन्ने बुझाइ रहन्थ्यो। त्यसैगरी आँखा, नाक, कान आदि राख्ने पनि दन्त विधा हैन कि भन्ने बुझाइ रहन सक्छ तर दन्त चिकित्साकै पाटो हो भन्ने बुझ्नुपर्छ, जसले गर्दा सेवाग्राही सेवा लिनलाई सहज हुन्छ।
म आफैंलाई पनि यो विषयमा प्रर्याप्त जानकारी थिएन र अझै पनि सिक्ने क्रममै छु। केही वर्षे दुर्गम सेवापछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रोस्थोडोन्टिक्स विषयमा स्नातकोत्तर गर्न आएपछि यो विषयमा अलि धेरै जानकारी पाएँ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको एउटा सेमिनारमा यहींबाट सेवा पाएका सेवाग्राही फर्किएको खुसी, उपचार पहिले र पछिको सुधारिएको र थपिएको सुन्दरताले म आफैंलाई पनि निकै प्रभावित बनायो। मूल्यको हिसाबले पनि यो त्यति महँगो नहुने र सुलभ रुपले नै लाउन सकिने कुरा जानकारी भयो। अनि देशको कुना-कुनामा धेरै यस्ता समस्याग्रत व्यक्तिहरुलाई बुझाउन र सजिलो पार्न यो लेख तयार पारिएको हो।
अन्त्यमा यी कृत्रिम अंगहरु सुरुका केही दिन लगाउन अप्ठ्यारो र असहज हुनसक्छ तर विस्तारै बानी परेपछि यसलाई पनि शरीरले आफ्नै अंग जस्तो अपरिहार्य महसुस गर्न थाल्छ। यसको नियमित हेरचाह, सरसफाइ र ख्याल पुर्याछउनु पनि उत्तिकै आवश्यक छ। समयसमयमा चिकित्सककहाँ जाने र आवश्यक परामर्श लिने गर्नाले अझ फाइदा पुग्छ।
(प्राडा आरके सिंह, प्राडा प्रमिता सुवाल, एसोसेट प्राडा प्रकाशकुमार पराजुली, असिस्टेन्ट प्राडा आरती शर्मा, असिस्टेन्ट प्राडा इन्द्रकुमार लिम्बु र असिस्टेन्ट प्राडा विशालबाबु बस्नेतको निगरानीमा तयार पारिएको)