तिहार आएपछि मलाई बाल्यकालको सम्झना आउँछ। सानो बेलामा तिहारको समयमा म, मेरो भाइ, काकाका छोराछोरी भएर खुबै रमाइलो गर्थ्यौं। घर वरिपरि माटाका दियो बाल्थ्यौं र दियो निभ्छ भनेर हातले छेकेर बस्थ्यौँ।
घर चितवन भए पनि मेरो बाल्यकाल काठमाडौंमा बित्यो। तिहारमा टोलका केटाकेटी चोकमा जम्मा भई पटका पड्काउँथ्यौं। मलाई पटकाको आवाजसँग डर लाग्ने भएकोले सबैभन्दा पछाडि बस्थें।
हामी ४ दिदीभाइ भएर तिहारको झिलिमिली हेर्न विशालबजार जान्थ्यौं। बेलुकाको समयमा त्यहाँको माहोल रमाइलो हुन्थ्यो।
हामीहरु तिहार आउनुभन्दा अगाडिदेखि नै चोकमा जम्मा भएर देउसी–भैलो खेल्ने योजना बनाउँथ्यौं। डान्स प्राक्टिस गर्थ्यौं। तिहारमा कुन लुगा लगाउने भनेर हामी केटीहरुलाई टेन्सन हुन्थ्यो।
तिहारमा हामी दिदीबहिनीको भागमा फूलको माला बनाउने काम पथ्र्यो। कुकुरलाई लगाउने मालादेखि लक्ष्मी पूजामा प्रयोग हुने माला, भाइटीकामा भाइलाई लगाइदिने माला हामी आफैंले बनाउँथ्यौं।
तिहारको पहिलो दिन कागलाई खाना राखिदिएपछि मात्र हामी खाना खान्थ्यौं। तिहारको दोस्रो दिन हाम्रो काम भनेको बिहान उठेर कुकुरलाई नुहाइदिएर सफा बनाउने र कुकुरको पूजा गर्ने हुन्थ्यो ।
गाई पूजाको दिन गाईको पूजा गर्नुका साथै रक्षा बन्धनको दिन लगाएको डोरो गाईको पुच्छरमा बाँध्ने गर्थ्यौं।
लक्ष्मी पूजाका दिन घर सफा गरेर बेलुका रंगोली बनाउन खुबै मनपर्ने। जहिले पनि मैले नै बनाउँथे रंगोली। बेलुका पूजा गरेर हतारहतार तयार भई भैलो खेल्न जान्थ्यौं।
तिहारको बेलामा ममीहरुले रोटी पकाउनुहुन्थ्यो। आफूलाई पकाउन नआए पनि ममीले पकाएको हेर्न धेरै मन पर्थ्यो।
टीकाको दिनमा हामी दुई दिदीबहिनीले दुई जना भाइलाई टीका लगाइदिन्थ्यौं।
ठूलो भएपछि सानो बेलाको जस्तो रमाइलो त हुँदैन तर अहिले पनि माला बनाउन, रोटी पकाउन, रंगोली बनाउन मन पर्छ। त्यसैले त्यो काम अहिले पनि आफैं गर्छु।
यसपाली मेरो भाइ इन्डिया गएको छ। त्यसैले म र मेरो काकाकी छोरीले काकाको छोरालाई टीका लगाइदिन्छौं। यसपाली दिदीको घरमा टीका लगाउने कार्यक्रम छ।
हामीले वर्षैपिच्छे पालोपालो गरेर कहिले दिदीको घरमा कहिले भाइको कहिले मेरो घरमा गरेर टीका लगाउने गर्छौं।
काम गर्न थालेपछि समय त्यति हुँदैन। लक्ष्मी पूजाको दिनदेखि अफिस बिदा हुन्छ तर अनकल बस्नुपर्छ। कुनै इमर्जेन्सी पर्यो भने भाइटीकाको अस्पताल आउनुपर्ने हुन्छ।
तिहारमा अहिलेसम्म खासै अप्रिय घटेका छैनन्। पहिलेपहिले दसैंैको बेलामा भने केटाहरु झगडा गरेर दाँत भाँचेर अस्पताल आउने गर्थे।
(डा भट्टराई, लेक्चरर हुन्)