मेरो घर भक्तपुर हो। तिहार आएपछि चारैतरि फूल फुल्ने हुँदा घर वरिपरिको माहोल नै रमाइलो हुन्थ्यो। जहाँ गए पनि राता, पहेंला फूलहरुले गाउँ नै उज्यालो हुन्थ्यो।
तिहार आउनुभन्दा पहिलेदेखि नै साथीहरु मिलेर देउसी, भैलो खेल्ने योजना बनाउँथ्यौँ। लक्ष्मी पूजाको दिन ममी घर सफा गर्ने, सेलरोटी बनाउने काममा व्यस्त हुनुहुन्थ्यो। सबैले सेलरोटी बनाउने हँुदा गाउँभरिनै बास्न चल्थ्यो।
हामी केटाकेटी बिहानैदेखि एकै ठाउँमा जम्मा भएर भैलो खेल्ने तयारीमा जुट्थ्यौं। बेलुका ५ बजेबाट ममीले आफ्नै साडी लगाइदिएर शृंगार गरिदिनुहुन्थ्यो र हामी भैलो खैल्न जान्थ्यौं।
भैलो खेल्दा रोटी, चामल, पैसा दिन्थे। एक जनाले चामल जम्मा गर्ने, अर्कोले पैसा जम्मा गर्ने गथ्र्यौं। भैलो खेलेर जम्मा भएको पैसा, चामल, सेल बराबर बाड्थ्यौँ। त्यो पैसाले आफूलाई मन लागेको कुरा किन्थ्यौँ।
दोस्रो दिन बाबाहरुको टिम देउसी खेल्न जानुहुन्थ्यो। म पनि बाबाको पछि लागेर जान्थें। ठूलासँग जाँदा रमाइलो लाग्थ्यो तर टाढा जान भने बाबाले दिनुहुँदैनथ्यो।
बुबाहरुले दैउसी, भैलो खेलेर जम्मा भएको पैसा गाउँको विकासको काममा खर्च गर्नुहुन्थ्यो।
भाइटीकाको दिन ममीले सबै सामान जुटाउनुहुन्थ्यो। हामी दिदीबहिनी मिलेर भाइलाई टीका लगाइदिन्थ्यौँ।
म २०६७ सालदेखि नर्सिङ पेसामा प्रवेश गरेँ। त्यो बेलादेखि साइतमा एक पटक पनि टीका लगाउन पाएको छैन।
अस्पताल नजिक घर भएकोले चाडबाडमा जहिले पनि ड्युटी पथ्र्यो। विवाह नहुँदासम्म चाडबाडको बेलामा कामको चाप झन बढ्थ्यो। कम गर्न सुरु गरेदेखि नै ड्युटी सिध्याएर घर गएर भाइलाई टीका लगाइदिनुपर्थ्यो।
अहिले पनि ड्युटी त गर्नुपर्छ तर एक समयको मात्र। ड्युटी सिध्याएर गएर लक्ष्मी पूजा गर्ने गरेकी छु। टीकाको दिन पनि ड्युटी सिध्याएर मात्र भाइलाई टीका लगाइदिन्छु। सानो बेलामा जस्तो ठूलो भएपछि रमाइलो लाग्दैन।
मलाई त अन्य बेलामा भन्दा चाडबाडमा ड्युटी गर्न रमाइलो लाग्छ। चाडबाडको बेलामा बिरामीको चाप बढी भए पनि अन्य बेलामा जस्तो बिरामीका आफ्न्तसँग भीड नगरिदिनु भन्दै कचकच गर्नु पर्दैन। बिरामी सेवा लिन्छन् र आफ्नो घर जान्छन्। अस्पतालको वातावरण शान्त हुन्छ।