लन्डन- सामान्यतया महिला गर्भवति भएको ९ महिना पूरा भएपछि शिशुको जन्म हुन्छ। तर, कहिलेकाहिँ समय नपुग्दै शिशु जन्मन्छन्।
नेपालमा पनि आमरुपमा ७ महिनामा जन्मेको बच्चालाई भाग्यमानी ठानिन्छ। यद्यपि त्यसको कुनै वैज्ञानिक कारण प्रष्ट छैन। त्यसको मनोसामाजिक अर्थ समय अगावै जन्मिएर बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको हुनसक्छ। समय नपुग्दै जन्मेका शिशुको शारीरिक र मानसिक विकास पूर्णरुपमा नहुने भएकाले जीवित रहने सम्भावना न्यून हुन्छ।
यस्ता शिशुहरु बाँचे पनि शारीरिक तथा मानसिक कमै मात्र स्वस्थ हुन सक्छन्।
विश्वमा कम समयमा अर्थात समय नपुग्दै जन्म लिएका शिशुलाई पनि बचाइएका धेरै उदाहरण नभएका होइनन्। हालसालै चिकित्सकहरुले २२ हप्तामा जन्मिएको बच्चालाई समेत बचाउन सकिने तथ्य बाहिर ल्याएका छन्।
बिट्रिस एसोसिएसन अफ पेरिनेटल मेडिसिनले २२ हप्तामै जन्मिएको शिशु बचाउन सकिनेसम्बन्धी 'निर्देशिका' प्रकाशित गर्दै उपचार सम्भव हुने ठाउँमा बचाउन सकिने तथ्य प्रकाश पारेको छ। बिट्रिस एसोसिएसन अफ पेरिनेटल मेडिसिनका अनुसार २२ हप्तामा जन्मिएको शिशुको शारीरिक तथा मानसिक विकास पूर्ण हुन निकै गाह्रो छ तर उनीहरुलाई बचाउनै सम्भव नभएको भने होइन।
एसोसिएसनले यसअघिको निर्देशिकामा २३ हप्ता वा सोभन्दा पछाडि जन्मिएका बच्चालाई मात्र बचाउनका लागि उपचार गर्न सिफारिस गरेको थियो।
अहिले एसोसिएसनले २२ हप्तामा जन्मिएका शिशु बाँच्नसक्ने भएकाले उपचार गर्नुपर्ने बताएको छ। यद्यपि २२ महिनाको शिशु निकै कम संख्यामा मात्र बचाउन सकिने सम्भावना हुन्छ। एसोसिएनले भनेको छ, ‘समयअघि जन्मिएका बच्चा धेरैजसो मर्छन् तर जहाँ उपचार सम्भव छ, त्यहाँ एक तिहाई शिशुलाई बचाउन सकिन्छ।’
नवजात शिशु विशेषज्ञ तथा कन्सल्टेन्ट प्रोफेसर डाक्टर डोमिनिक विल्किन्सनले अघिल्लो निर्देशिका प्रकाशित भएदेखि चिकित्सकहरूले २२ हप्तामा जन्मेका केही बच्चाहरूको ज्यान जोगाएको बताए।
उनले भने ‘यो निकै चाखलाग्दो र खुसीको समाचार हो कि समय नपुग्दै जन्मिएका बच्चाहरु बाँचिरहेका छन्। ती घटनाबाट प्राप्त प्रमाणले बिट्रिस एसोसिएसन अफ पेरिनेटल मेडिसिनलाई निर्देशिकालाई अध्याधिक गर्न विश्वस्त तुल्यायो।’
उनले थपे, ‘अति उच्च जोखिममा गहन चिकित्सा उपचार प्रदान गर्नु सधैं सही हुँदैन। २२ हप्ताअघि जन्मेका शिशुहरूलाई बचाउन सम्भव मानिँदैन, किनकि उनीहरुको फोक्सोको पर्याप्त विकस भइसकेको हुँदैन।’
२२ हप्तामा जन्मिएर पनि बाँचेका जुम्ल्याहा शिशु
रुवेन र जेन्सन पोवेल गत वर्ष अगस्टमा २२ हप्ता ६ दिनमा जन्मिएर बाँचेका बच्चाहरु हुन्। ब्रिटेनमा जन्मिएका उनीहरु सबैभन्दा कम समयमा जन्मिएर बाँच्ने प्रिटर्म (समयअघि जन्मिएका) जुम्ल्याहा बच्चा हुन्।
ती जुम्ल्याहाका अभिभावक जेनी र रिच पोवेल हुन्। जब जेनीलाई सुत्केरी व्यथा लाग्यो, उनलाई अक्सफोर्डको विशेषज्ञ अस्पतालमा लगिएको थियो। अस्पताल लगिएको भोलिपल्ट उनले करिव साढे ५ महिना अर्थात २२ हप्ताका दुई जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्।
‘हाम्रो लागि यो चमत्कारको कथा हो,’ जेनीले भनिन्, ‘यो घटनापछि हामीले भोगेका हरेक अप्ठ्यारा कुरालाई बिर्सियौँ।’
जन्मिएको ८ दिनपछि रुवेनले जीवनका लागि संघर्ष गर्नुपर्यो। उनको आन्द्राको शल्यक्रिया भयो। बाँच्न सक्ने निकै कम आशाका बावजुद उनले नयाँ जीवन प्राप्त गरे। जेन्सन पनि आफ्नो फोक्सोको कमजोरीसँग लड्नुपर्यो। तर, उनीहरु दुवै जीवनसँगको लडाइँमा सफल भए।
उनीहरुलाई बचाउनका लागि चिकित्सकले २० पटकभन्दा बढी ब्लड ट्रान्सफ्युजन, आँखामा इन्जेक्सन र लेजर शल्यक्रिया गरेका थिए। ताकि उनीहरुलाई अन्धोपन हुनबाट जोगाउन सकियोस्। रगतसम्बन्धी समस्या र निमोनियाबाट पनि सुरक्षित राख्न सकियोस्।
के भन्छ तथ्यांक?
बचाउन सकिने सम्भावनाका बावजुद २२ हप्तामा जन्मेका प्रायः शिशुहरू बाँच्ने सम्भावना निकै कम हुन्छ।
सन् २०१६ को तथ्यांक हेर्ने हो भने विश्वभर यस्ता ४ सय ८६ शिशुहरु जन्मेका थिए। यीमध्ये ३ सय बढी शिशुहरु बाँच्न सकेनन्। १ सय ४० शिशुको अवस्था निकै गम्भीर थियो।
उनीहरुलाई बचाउन प्रायः असम्भव मानिएको थियो। ती शिशुको पिडा कम गर्न 'प्यालियटिभ केयर'मा राखिएको थियो। प्यालियटिभ हेरचाहका साथ अन्य उपचार जारी राखिएको थियो। जसको कारण तीमध्ये एक तिहाइ शिशुहरु मात्र बाँचेका थिए।
पछिल्लो समय जारी गरिएको निर्देशिकाले कम समय नपुगी जन्मेका बच्चाको उपचार गर्ने/नगर्ने निर्णय प्रत्येक शिशुको परिस्थितिमा निर्भर रहेको बताएको छ।
तर, यस्तो निर्णय शिशुको उपचार गर्दा आमाबुवासँग उपचार विशेषज्ञ र कल्सल्टेन्ट चिकित्सकबाट परार्मश लिन जरुरी भएको उक्त निर्देशिकामा उल्लेख छ। तर, यो गहन उपचार धेरैको लागि उपयुक्त नभएको समेत बताइएको छ।
समय नपुग्दै जन्मिएका शिशुमा गभ्भीर अशक्तता हुनसक्ने
२२ हप्ताभन्दा बढी समयमा जन्मिएका शिशुहरुको बाँच्ने सम्भावना क्रमशः बढ्दै जान्छ।
सन् २०१६ मा यस्तै प्रकृतिका ३८ प्रतिशत शिशुहरु बाँचेका थिए। यो १० वर्ष पहिलेको भन्दा दोब्बर बाँच्ने बताइएको हो। धेरैजसो शिशुको २६ हप्ताको हुदाँसम्म उपचार जारी रहन्छ र ८२ प्रतिशत बाँच्दछन् पनि।
तर, बाँच्ने शिशुको संख्यामा वृद्धि भए पनि यस्ता धेरै शिशुहरुमा गभ्भीर अशक्तता हुनसक्ने चिकित्सकको भनाइ छ।
चिकित्सकका अनुसार २२ हप्तामा बाँचेका शिशुहरु मध्ये एक तिहाइमा अशक्तता हुनसक्छ। २६ हप्तामा जन्मिएकामध्ये प्रत्येक १० मध्ये एक शिशुमा यस्तो अशक्तता हुनसक्ने चिकित्सकहरु बताउँछन्।
ब्रिस्टल विश्वविद्यालयका नवजात शिशुका प्राध्यापक एन्ड्र्यू वाइटलाउले बिट्रिस एसोसिएसन अफ पेरिनेटल मेडिसिनले निकालेको निर्देशका अत्यन्त उपयोगी भएको बताएका छन्। उनले भने, ‘हप्ताको संख्यामा धेरै स्थिर नहुनु महत्वपूर्ण कुरा हो। यसको सट्टा शिशुको जन्मको अवस्था र ‘अस्वीकार्य अशक्तता’ मानिने कुरामा फरक दृष्टिकोण महत्वपूर्ण कारक थिए।’
किन बाँच्ने सम्भावना बढ्दैछ?
यसका विभिन्न कारण छन्। वर्षौंदेखि यो विषयमा अध्ययन, चिकित्सक र फैलिँदो स्वास्थ्य टोलीले आमा र शिशुको उपचारमा क्रमशः राम्रो भएको छ।
फोक्सोलाई राम्रो बनाउन जन्मनुभन्दा पहिले 'स्टेरोइड' दिइन्छ। समय नपुगी निकै अघि जन्मिएका शिशुहरुलाई संक्रमणबाट बचाउने अध्याधुनिक प्रविधि र भेन्टिलेटरको विकास भएको चिकित्सकको भनाइ छ।
त्यसैगरी, आधुनिक सुविधासहितका विशेषज्ञ प्रसुति अस्पतालहरुमा 'प्रि-मेच्योर बेबी'को जन्म हुने संख्यामा अत्याधिक वृद्धि भएको छ। जसका कारणले समय नपुग्दै निकै अघि जन्मिएका शिशुहरुलाई उपचार गरी बचाउन सम्भव भएको हो।
यस्ता अस्पतालको संख्या आधा दशक पहिले आधा जति थिए। तर, अहिले ८० प्रतिशतभन्दा बढीको संख्यामा छन्।
(बिबिसी हेल्थमा प्रकाशित सामग्री स्वास्थ्यखबरकी कल्पना पौडेलले भावानुवाद गरेकी हुन्।)