सिएनएन– कोमाबाट उठेपछि मान्छेलाई ठिक हुन कति समय लाग्छ? के उनीहरुले आँखा खोल्ने बित्तिकै सहजै आफ्नो आफन्तलाई पहिचान गर्न सक्छन्? धैरैजसो एकछिन दोधारमा पर्छन् तर कहिलेकाहीँ केही केसमा भने होसमा आएपछि बिरामीले सजिलै पहिचान गर्न सक्छन्।
५ दिनदेखि कोमामा रहेर उठेका एक शिशु आफ्ना पिता देखेर यसरी मुस्कुराए कि सबैलाई छक्क पारिदिए। १४ हप्ताका माइकलले कोमाबाट उठेपछि आफ्नो पितालाई सजिलै पहिचान गरे र मिठो मुस्कान फ्याँके।
सिएननलाई बताउँदै माइकलकी आमा एमा लुबसग्ने भन्छिन्, ‘म यो क्षणलाई जहिल्यै मेरो मन मुटुमा सजाएर राख्नेछु। साँच्चिकै भन्नुपर्दा यो क्षण मेरो जीवनकै सबैभन्दा खुसीको पल हो। ऊ चमत्कारको रुपमा बाँच्दैछ, यति गौरवान्वित हामीलाई कहिल्यै महसुस भएको थिएन।’
मार्च १६ का दिन जब माइकलले एक्कासि श्वास फेर्न बन्द गर्दा माइकलका अभिभावक एमा र स्टुवार्ट निकै आत्तिएका थिए। माइकललाई हृदयघात भएको थियो। तत्काल उनलाई इमरजेन्सीमा सक दिइएको थियो अनि मुटुको धड्कन स्थिर राख्न सुई पनि।
अस्पतालमा भर्ना पश्चात् माइकलको मस्तिष्कलाई थप क्षतिबाट जोगाउन डाक्टरले चिकित्सकीय कोमामा राखेका थिए।
माइकललाई दुर्लभ ट्युमर पनि
लुबसग्नीयन्सहरु बेलायतमा बस्दै आएका छन्। यी दम्पतिका दुई भाइ छोरा पनि छन्। माइकललाई कार्डियक फिब्रोमा पत्ता लागेको थियो। यो ट्युमर दुर्लभ हो, जसले बच्चाको मुटुसम्म रगत बग्न बन्द गरिदिन्छ। माइकलको ट्युमर ५ सेन्टिमिटर र २ इन्च चौडा छ। त्यो साइज बच्चाको मुटु जत्रो हुन्छ, जुन उनीहरुको एक मुठ्ठी जत्तिको हुन्छ। डाक्टरले परिवारलाई बताएअनुसार माइकलको ट्युमर एकदम दुर्लभ हो र यसको उपचार बेलायतको कुनै विशेषज्ञबाट सम्भव छैन।
एम्माका अनुसार उनीहरुलाई दुई वटा विकल्प दिइएको थियो। एउटा मुुटु प्रत्यारोपण गर्नुपर्ने वा देशबाहिर कुनै सर्जन खोज्नुपर्ने।
खोज्दै जाँदा उनीहरुले अमेरिकामा बोस्टन बाल अस्पताल भेटाए। यो अस्पतालले कार्डियक ट्युमरको विगत १० वर्षदेखि १०० प्रतिशत सफलता हात पार्दै आइरहेको छ।
एम्मा भन्छिन्, ‘हामीले त्यहाँ रहेको कार्डियाक सर्जनहरु डा पेड्रो डेल निडो र डा ताल गे्रभाको सफलता प्रतिशत १०० प्रतिशत पायौँ। त्यसैले हामीले एकचोटी प्रयास गर्नुपर्छ भन्ने लाग्यो। र, उसलाई निको बनाउनुपर्छ भन्ने यात्रामा प्रस्थान गर्यौँ।’
उपचारको यात्रा पक्कै पनि सहज छैन
एम्माले बताएअनुसार अस्पतालमा यसको उपचार खर्च करिब १४७ हजार डलर रहेको छ। यसमा अरु खर्च जस्तै यातायात, रिकभरी खर्च जोडिएको छैन। यो दम्पतिले आफ्नो छोराको उपचारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्, चाहे जति नै खर्च लागोस्।
‘जब हामीले बोस्टनबाट हाम्रो बच्चाको उपचार हुन सक्छ भन्ने थाहा पायौँ, त्यसपछि उसको उपचारमा लाग्ने खर्च हाम्रो लागि त्यति ठूलो कुराको रुपमा लिएनौँ। हामी आफ्नो बच्चा बचाउन जति पनि खर्च गर्न तयार छौँ,’ एम्माले आफ्नो बच्चाको उपचार खर्च जुटाउन अहिले ‘गो फन्ड मी’ मा अकाउन्ट बनाएकी छन्, जहाँ विभिन्न मानिसले सहयोग गर्न सक्छन्। एम्मा मानिसहरुको नसोचेको प्रतिक्रिया तथा सहयोग आएको बताउँछिन्।
एम्मा भन्छिन्, ‘हामीले विश्वभरबाट सहयोग पाइरहेका छौँ। हामी यसका लागि धेरै कृतज्ञ छौँ। माइकलको मुटुको भित्र डेफ्रिबिलेटर र पेसमेकर राखिएको छ। एम्माका अनुसार दिनको ४ पटक माइकललाई औषधि खुवाउनुपर्छ। त्यसको साइड इफेक्ट पनि हुने गरेको छ, जस्तैः पेट दुख्ने, पखाला लाग्ने। उसको छाला पनि घामबाट जोगाउनुपर्छ। परिवार अप्रिलमा सर्जरीका लागि अमेरिका जाने भएको छ। अहिले उनीहरुले बच्चाको ख्याल गरिरहेका छन् र मेडिकल सेवा केकस्तो चाहिन्छ ध्यान पु¥याएका छन्।
एम्मा भन्छिन्, ‘उसलाई हेर्दा लाग्छ, ऊ अर्कै बच्चा हो। ऊ जतिबेला पनि मुस्कुराइहन्छ। उसका ठूल्दाइहरु प्नि ऊप्रति हुरुक्कै हुन्छन्, ऊ हाम्रो परिवारको सानो बलियो पात्र हो। उसलाई मेडिकल समस्या भएपनि हामी उसलाई पाउँदा निकै खुसी छौँ।’