काठमाडौं– चक्रवर्ती हबी नर्सिङ कलेजमा विद्यार्थीले ताला लगाएका छन्। कलेजले आफूहरुलाई ठगेको भन्दै कलेजमा अध्ययनरत ३० विद्यार्थीहरुले कलेज प्रशासनमा मंगलबार ताला लगाएका हुन्।
उनीहरुले आफ्नो माग पुरा नभएसम्म ताला नखोल्ने जनाएका छन्। ताला लगाउँदै विद्यार्थीहरुले प्रशासनको ढोकामा ताला लगाउनुको कारणसहितको विज्ञप्ति समेत टाँसेका छन्।
‘नर्सिङ पढाउने नाममा हामीलाई ठग्ने संस्था सञ्चालकलाई पटक पटक हामी पीडित विद्यार्थीहरुले उचित क्षतिपूर्तिका लागि माग गर्दा पनि हाम्रो आवाजलाई वेवास्ता गर्दै संस्था सञ्चालकले कानमा तेल हालेर सुतिरहेको छ,’ पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक प्रेमिका शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कलेज सञ्चालकले होस्टलमा बसिरहेका साथीहरुलाई धम्कि दिइरहेकाले यो गलत कार्यलाई सच्याएर माग पुरा नगरेसम्म तालाबन्दी जारी रहन्छ।’
विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई रजिष्ट्रेसन कायम गराई परीक्षामा सहभागि गराउन र नियमित पढ्न पाउने व्यवस्था गर्न पनि माग गरेका छन्।
कलेजले आफूमाथि गरेको ठगीका विषयमा सिटिइभिटी र शिक्षा मन्त्रालय समक्ष अवगत गराउँदा पनि कारबाही नभएको भन्दै उनीहरु लामो समयदेखि आन्दोलित भएका हुन्।
कलेजले पिसिएल नर्सिङ पढाउने भन्दै ३ लाख ११ हजार रुपैयाँका दरले असुलेको छ। ४० प्रतिशत रकम सुरुमा बुझाउनुपर्ने भएपनि कलेजले ६० प्रतिशत मागेको थियो। सिटिइभिटीमा रजिष्ट्रेसन भइरहेको बताउँदै आस्वस्त पारेपछि विद्यार्थीहरु भर्ना भएका थिए।
तर, पहिलो वर्ष परीक्षाको अघिल्लो दिन कलेजमा पुग्दा आफ्नो प्रवेश पत्र नपाएपछि विद्यार्थीलाई ठगिएको महसुस भएको थियो।
हेरौँ विज्ञप्ति
यो पनि :