पछिल्ला वर्षहरूमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने इलेक्ट्रोनिक चुरोट (इ-सिगरेट), भेप वा भेपिङ युवापुस्तादेखि वयस्कसम्मले धेरैनै तानिरहेको देख्न थालिएको छ। परम्परागत चुरोटमा सुर्तीजन्य पदार्थ जलाएर धुवाँ उत्पादन गरिन्छ भने इ-सिगरेटले सामान्यतया इ-लिक्विडलाई तताएर एरोसोल उत्पादन गर्छ, जसलाई प्रयोगकर्ताले फोक्सोमा तान्छन्।
भेपबाट निस्कने एरोसोल साधारण चुरोटको धुवाँभन्दा फरक देखिने भएकाले कतिपय मानिसहरूले यसलाई 'हानिरहित पानीको बाफ' का रूपमा बुझ्ने गर्छन्। तर यो पानीको बाफ मात्र होइन। इ-लिक्विडमा निकोटिन, स्वादयुक्त पदार्थहरू, सोल्भेन्ट तथा अन्य रसायनहरू हुन सक्छन् र तताउने प्रक्रियामा स्वास्थ्यका लागि हानिकारक पदार्थहरू पनि बन्न सक्छन्। विश्व स्वास्थ्य संगठनले इ-सिगरेटलाई स्वास्थ्यका लागि जोखिमयुक्त उत्पादन भएको स्पष्ट रूपमा उल्लेख गरेको छ।
यसकारण भेपिङलाई 'सुरक्षित' र 'हानिरहित' भनी अर्थ्याउनु वैज्ञानिक रूपमा उचित हुँदैन।
इ-सिगरेटको प्रारम्भिक अवधारणा १९६० को दशकमा हर्बर्ट ए. गिल्बर्टद्वारा प्रस्ताव गरिएको थियो। उनले सन् १९६३ मा 'धुवाँरहित गैर-सुर्तीजन्य चुरो' सम्बन्धी प्याटेन्ट आवेदन दर्ता गरेका थिए।
तर, आज प्रयोग हुने आधुनिक इ-सिगरेटको विकास भने मुख्य रूपमा चिनियाँ फार्मासिस्ट होन लिकसँग जोडिन्छ, जसले सन् २००३ तिर आधुनिक इ-सिगरेटको व्यावसायिक अवधारणा विकास गरेका थिए। त्यसपछि इ-सिगरेट विभिन्न देशमा तीव्र रूपमा फैलियो।
भेपिङमा वास्तवमा के हुन्छ?
इ-सिगरेटले तताउने यन्त्र मार्फत इ-लिक्विडलाई तताएर एरोसोल बनाउँछ। इ-लिक्विडमा सामान्यतया निम्न पदार्थहरू हुन सक्छन्:
निकोटिन
प्रोपिलिन ग्लाइकोल
भेजिटेबल ग्लिसरीन
स्वादयुक्त रसायनहरू
अन्य मिश्रित तत्व तथा रसायनहरू
सबै इ-सिगरेटमा निकोटिन हुन्छ भन्ने छैन, तर धेरै उत्पादनमा यो पाइन्छ। केही अवस्थामा निकोटिनको मात्रा उत्पादनको लेबलमा उल्लेख गरिएकोभन्दा फरक हुन सक्ने समस्या पनि देखिएको छ। महŒवपूर्ण कुरा के हो भने, इ-सिगरेटबाट निस्कने एरोसोललाई “सिर्फ पानीको बाफ” ठान्नु गलत हो।
भेपिङ र निकोटिनको कुलत
निकोटिन अत्यधिक कुलत बसाउने पदार्थ हो। त्यसैले निकोटिनयुक्त इ-सिगरेटको नियमित प्रयोगले परनिर्भरता विकास गर्न सक्छ।
विशेषगरी किशोरकिशोरी र युवा उमेरमा निकोटिनको सम्पर्कले मानसिक चिन्ता बढाउँछ, किनकि यस उमेरमा मस्तिष्क अझै विकासको क्रममा हुन्छ। अध्ययनहरूले इ-सिगरेट प्रयोग गर्ने र पहिले कहिल्यै सुर्तीजन्य पदार्थ नखाएका युवाहरूमा निकोटिनको कुलत र पछि गएर परम्परागत चुरोट सेवन गर्ने सम्भावनाबारे चिन्ता व्यक्त गरेका छन्।
यसकारण कहिल्यै चुरोट नखाने व्यक्तिले 'भेपबाट सुरु गर्दा केही हुँदैन' भन्ने सोच्नु जोखिमपूर्ण हुन सक्छ।
इ-सिगरेट एरोसोलमा हानिकारक पदार्थहरू
इ-लिक्विड तताउँदा उत्पन्न हुने एरोसोलमा निकोटिनबाहेक विभिन्न रसायनहरू तथा अति सूक्ष्म कणहरू हुन सक्छन्। तताउने अवस्था, यन्त्रको प्रकार, तापक्रम र लिक्विडको बनोटअनुसार एरोसोलको रासायनिक संरचना फरक हुन सक्छ।
तताउने क्रममा फर्मल्डिहाइड, एसेटालडिहाइडे र एक्रोलीन जस्ता अल्डिहाइडहरू बन्न सक्ने प्रमाण भेटिएको छ। यी पदार्थहरू पर्याप्त मात्रामा शरीरभित्र पर्दा श्वासप्रश्वासमा जलन तथा अन्य प्रतिकूल स्वास्थ्य असरहरूसँग सम्बन्धित हुन्छन्।
त्यसैले 'चुरोटको धुवाँमा जति रसायन हुँदैन, त्यसैले भेपिङ सुरक्षित हुन्छ' भन्ने निष्कर्ष निकाल्नु उचित होइन। यसको प्रयोगको मात्रा फरक हुन सक्छ, तर 'कम प्रयोग' को अर्थ 'शून्य जोखिम' होइन।
फोक्सोमा सम्भावित असर
भेपिङको एरोसोल श्वाससँगै फोक्सोसम्म पुग्छ। यसमा निकोटिन, कणयुक्त पदार्थहरू तथा विभिन्न रासायनिक घटकहरू हुन सक्छन्।
इ-सिगरेटको एरोसोलले श्वासनली तथा फोक्सोको तन्तुमा अक्सिडेटिभ तनाव, सुजन र कोषीय चोट पुर्याउने जैविक प्रभाव पार्न सक्ने प्रमाण उपलब्ध छन्। तर, भेपिङका दीर्घकालीन प्रभावहरू, विशेषगरी दशकौँसम्मको प्रयोगपछि देखिने परिणामबारे अनुसन्धान अझै जारी छ।
यसकारण भेपिङलाई दीर्घकालीन रूपमा सुरक्षित भनी निष्कर्ष निकाल्न पर्याप्त प्रमाण छैन।
भेपिङसम्बन्धी गम्भीर फोक्सोको चोट
सन् २०१९ मा अमेरिकामा ‘इभाली’ (इ-सिगरेट अर भेपिङ प्रोडक्ट युज एसोसिएटेड लङ्ग इन्जुरी) को ठूलो प्रकोप देखियो। इभाली भनेको भेपिङ वा इ-सिगरेट उत्पादनको प्रयोगसँग सम्बन्धित तीव्र फोक्सोको चोट हो। यसलाई फोक्सोको क्यान्सरसँग समान अर्थमा बुझ्नु हुँदैन।
रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार १८ फेब्रुअरी २०२० सम्म अमेरिकामा २,८०७ जना इभालीका कारण अस्पताल भर्ना भएका थिए भने ६८ जनाको पुष्टि भएको मृत्यु भएको थियो। अनुसन्धानले विशेषगरी अवैध रूपमा बेचिने टीएचसी युक्त भेपिङ उत्पादनहरूमा प्रयोग गरिएको ‘भिटामिन ई एसिटेट’ लाई यस प्रकोपको प्रमुख कारणसँग जोडेको थियो।
इभालीका सामान्य लक्षणहरू:
सास फेर्न गाह्रो हुनु
खोकी लाग्नु
छाती दुख्नु
ज्वरो आउनु
थकान महसुस हुनु
वाकवाकी लाग्नु वा वान्ता हुनु
भेपिङ गरेपछि यस्ता लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सकको परीक्षण गराउन आवश्यक हुन्छ।
मुटु तथा रक्तनलीमा सम्भावित असर
निकोटिनले स्नायु प्रणालीलाई सक्रिय गराउन सक्छ, जसले मुटुको धड्कन र रक्तचाप बढाउँछ। इ-सिगरेटको प्रयोग र मुटु तथा रक्तनली प्रणालीबीचको दीर्घकालीन सम्बन्धबारे अनुसन्धान अझै विकास भइरहेको भए पनि भेपिङलाई मुटुको जोखिमबाट मुक्त उत्पादन मान्न सकिँदैन।
विशेषगरी निकोटिनयुक्त उत्पादनहरूको नियमित प्रयोगले शारीरिक तनाव बढाउन सक्ने सम्भावना हुन्छ।
यसका साथै, भेपिङसँग सम्बन्धित केही घटना विवरणहरूमा मुटुको चाल गडबड हुने समस्या समेत वर्णन गरिएका छन्। तर, यस्ता विवरणहरूबाट मात्रै 'भेपिङले निश्चित रूपमा एरिथमिया गराउँछ' भनी कारण र परिणामको सम्बन्ध स्थापित गर्न सकिँदैन।
भेपिङ र मुखको स्वास्थ्य
भेपिङको प्रभाव फोक्सोमा मात्र सीमित हुँदैन। इ-सिगरेटको एरोसोल मुखको सम्पर्कमा प्रत्यक्ष आउने हुनाले मुखका तन्तुहरू पनि जोखिममा पर्छन्।
हालसम्मका गहन अध्ययन समीक्षाहरूमा भेपिङ र मुखको स्वास्थ्यबीच गिजा सुन्निनु, पेरिडोन्टल मापदण्डमा परिवर्तन, दन्त क्षय, मुखका तन्तुमा समस्या तथा मुखको माइक्रोबायोममा परिवर्तन आउनेलगायत विभिन्न सम्भावित सम्बन्धहरू औँल्याइएका छन्। यद्यपि, सबै अध्ययनका निष्कर्षहरू एकैप्रकारका छैनन् र धेरै अध्ययनहरू अवलोकनमा आधारित छन्।
१. मुख सुख्खा हुनु र थुकमा प्रभाव: भेपिङ गर्ने केही व्यक्तिमा मुख सुख्खा हुने जस्ता लक्षणहरू देखिन सक्छन्। थुकले मुखको सुरक्षा गर्ने महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसले खानाका कणहरू हटाउन, अम्ललाई निष्प्रभावी बनाउन, दाँतको इनामेलको पुनः खनिजकरणमा सहयोग गर्न र मुखका सूक्ष्म जीवहरूलाई नियन्त्रण गर्न सघाउँछ। तसर्थ, थुकको मात्रा वा सुरक्षात्मक कार्य घटेमा दाँत सड्ने, मुखमा असहजता हुने र संक्रमणको जोखिम बढ्न सक्छ।
२. गिजाको सुजन: इ-सिगरेटको एरोसोलमा रहेका रसायन र तापले मुखका तन्तुहरूमा इरिटेसन र सुजन उत्पन्न गराउन सक्छ। केही अध्ययनले इ-सिगरेट प्रयोगकर्ताहरूमा गिजा सुनिने समस्या देखाएका छन्। तर, अन्य जोखिमका कारकहरू (सरसफाइ, धूमपानको इतिहास, मधुमेह, खानपान आदि) ले पनि यसमा भूमिका खेलेका हुन्छन्।
३. पेरिडोन्टल रोग: पेरिडोन्टल रोगको मुख्य कारक ब्याक्टेरियल बायोफिल्म हो र धूमपान यसको प्रमुख जोखिम कारक हो। इ-सिगरेट प्रयोगकर्तामा गरिएका अध्ययनले केही प्रतिकूल असर देखाए तापनि दीर्घकालीन पेरिडोन्टल क्षतिको स्पष्ट सम्बन्ध सबै मेटा-विश्लेषणले प्रमाणित गरेका छैनन्।
४. दन्त क्षय: विशेषगरी स्वादयुक्त इ-लिक्विडमा रहेका चिनी वा अन्य किण्वनयोग्य घटकहरू, अम्लीय वातावरण र सुख्खा मुखले दाँत सड्ने जोखिम बढाउन सक्छन्। हालका अध्ययनहरूले यसलाई दन्त क्षयको प्रत्यक्ष कारणभन्दा पनि जोखिम बढाउन सक्ने सहयोगी कारकका रूपमा मानेका छन्।
५. मुखको माइक्रोबायोममा परिवर्तन: मुखभित्रको माइक्रोबायोमले स्वास्थ्य कायम राख्न ठूलो भूमिका खेल्छ। हालका अध्ययनले इ-सिगरेट प्रयोगकर्ताहरूमा मुखका सूक्ष्म जीवहरूको सन्तुलन बिग्रिने देखाएका छन्, जसले गिजाको रोग र मुखको क्यान्डिडाजस्ता संक्रमण निम्त्याउन सक्छ।
६. मुखका तन्तुमा जलन: भेपिङ गर्दा मुख सुख्खा हुने, घाँटीमा समस्या हुने, पोल्ने, स्वाद फेरिने जस्ता लक्षणहरू देखिन सक्छन्। एरोसोल सिधै मुखबाट जाने हुनाले मुख यसको पहिलो सम्पर्कबिन्दु हो।
भेपिङ र धूमपान छोड्ने प्रयास
इ-सिगरेटलाई केही ठाउँमा परम्परागत धूमपान छोड्ने सम्भावित माध्यमका रूपमा पनि प्रयोग गरिएको छ। केही अध्ययनले वयस्क धुम्रपान गर्नेहरूमा इ-सिगरेट प्रयोग गर्दा चुरोटको सेवन घटाउन वा छाड्न सहयोग पुग्न सक्ने संकेत गरेका छन्।
तर, विश्व स्वास्थ्य संगठनले इ-सिगरेटलाई धूमपान छोड्ने प्रभावकारी जनस्वास्थ्य हस्तक्षेपका रूपमा मान्यता दिएको छैन। यसको नतिजा उत्पादनको प्रकार, निकोटिनको मात्रा र परामर्शमा भर पर्छ। त्यसैले 'भेपिङ भनेको धूमपान छोड्ने प्रमाणित उपचार हो' भन्नु वैज्ञानिक रूपमा उचित हुँदैन। यदि कुनै धुम्रपान गर्ने व्यक्तिले चुरोट छाड्न इ-सिगरेट प्रयोग गर्दैछ भने चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिनु अति आवश्यक हुन्छ।
युवापुस्तामा भेपिङ किन चिन्ताको विषय हो?
भेपिङ उत्पादनहरूमा आकर्षक स्वाद, विभिन्न डिजाइन र सामाजिक सञ्जालको बजारिकरणका कारण युवाहरूमा यसको आकर्षण बढेको छ। मुख्य चिन्ता भनेको कहिल्यै धूमपान नगरेका युवाहरूमा यसैमार्फत निकोटिनको कुलत बस्नु र यसको प्रयोग सामान्य बन्दै जानु हो।
ब्याट्री विस्फोट र चोटपटक
इ-सिगरेटमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीहरू गुणस्तर कमजोर हुँदा, बिग्रँदा वा गलत तरिकाले चार्ज गर्दा अत्यधिक तातो हुने र विस्फोट हुने जोखिममा रहन्छन्। यस्ता घटनाबाट अनुहार, मुख, हातमा गम्भीर पोलिने, दाँत भाँचिने वा नरम तन्तुमा चोट लाग्नेजस्ता दुर्घटना हुन सक्छन्।
दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भूमिका
भेपिङ बढ्दै जाँदा दन्त चिकित्सकहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। बिरामीको परीक्षण गर्दा उनीहरूले चुरोट वा इ-सिगरेट प्रयोग गर्ने/नगर्ने, कति पटक गर्ने, निकोटिनयुक्त हो/होइन र मुख सुख्खा हुने समस्या छ/छैन जस्ता कुराहरू सोध्नुपर्छ। साथै, बिरामीलाई दोष नदिई परामर्श दिनुका साथै आवश्यक परेमा कुलत छोड्ने सेवा केन्द्रमा पठाउनु दन्त चिकित्साको एक महत्त्वपूर्ण हिस्सा बन्न सक्छ।
अन्तमा,
भेपिङलाई 'पानीको बाफ' वा 'हानिरहित विकल्प' का रूपमा बुझ्नु वैज्ञानिक रूपमा उचित छैन। इ-सिगरेटको एरोसोलमा निकोटिन र विभिन्न रसायनहरू हुन्छन् भने तताउने प्रक्रियाले थप हानिकारक पदार्थहरू उत्पादन गर्न सक्छ। यसको प्रयोग निकोटिनको कुलत, श्वासप्रश्वाससम्बन्धी समस्या र मुटुमा पर्ने असरहरूसँग जोडिएको छ। सन् २०१९–२०२० को इभाली प्रकोपले यसबाट हुने गम्भीर फोक्सोको चोटको सम्भावना पनि देखाइसकेको छ।
मुखको स्वास्थ्यको दृष्टिले पनि भेपिङले मुख सुख्खा गराउने, तन्तुमा जलन ल्याउने, दन्त क्षय तथा गिजाको स्वास्थ्यमा नकारात्मक असर पार्ने जोखिम हुन्छ। यद्यपि यसलाई परम्परागत चुरोटभन्दा केही कम विषाक्त मान्न सकिए पनि यसलाई पूर्णतया सुरक्षित वा जोखिममुक्त भन्न मिल्दैन। विशेषगरी गैर-धूमपानकर्ता, किशोरकिशोरी र नयाँ पुस्ताका लागि भेपिङ सुरु गर्नु स्वास्थ्यको दृष्टिकोणबाट कदापि उचित छैन।
-(डा. ललिता चन्द एभरेस्ट हस्पिटल प्रा. लिमा डेन्टल सर्जनका रुपमा कार्यरत छिन्।)