काठमाडौं– बुढानिलकण्ठका ४३ वर्षीय ज्ञानकाजी महर्जन एम्बुलेन्स चालक हुन्। ११ वर्षदेखि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनी एम्बुलेन्स चलाइरहेका छन्।
करिब एक दशकको अवधिमा उनीसँग कामका थुप्रै अनुभव छन्।
‘एम्बुलेन्स सधैं हतारमा हुन्छ। किनकि, सकेसम्म छिटो बिरामीलाई अस्पताल पुर्याउनुपर्ने हाम्रो ध्याउन्न हुन्छ,’ ज्ञानकाजी भन्छन्।
सुरुका दिनहरूमा एम्बुलेन्स चलाउँदा उनले त्यतिधेरै जाम खेप्नु परेको थिएन। तर, आजभोलि भने जामकै कारण आधा घण्टाकै फरक पर्ने उनी बताउँछन्।
‘आजभोलि जामको समस्या धेरै छ। छिटो अस्पताल पुर्याउनुपर्ने गम्भीर प्रकृतिको बिरामी छ भने पनि बाटो छाडिदिनेहरू छैनन्, झण्डै २० मिनेभन्दा ढिला अस्पताल पुगेको अवस्था पनि छन्,’ ज्ञानकाजी गुनासो गर्छन्।
अस्पतालमा डाक्टर/नर्स पेसा जस्तै एम्बुलेन्स चलाउनु पनि उत्तिकै संवेदनशील काम भएको उनको अनुभव छ।
भन्छन्, ‘हामीले बेलैमा बिरामी अस्पताल पुर्याउन कुनै कसुर बाँकी राख्दैनौं। किनकि, यहाँ बिरामीको स्वास्थ्यको सबाल छ।’
गम्भीर बिरामी राखेर एम्बुलेन्स चलाउँदा अस्पताल नपुगुन्जेल ज्ञानकाजीलाई एउटा डरले सताइरहन्छ- कतै बिरामीलाई केही भई पो हाल्यो कि!
यही डरले नै आफूलाई सधैं संवेदनशील बनाइरहने ज्ञानकाजीको अनुमान छ।
गंगालालमा आउने अधिकांश बिरामी मुटु रोगबाट पीडित हुन्छन्। समयमै अस्पताल पुर्याउनाले बिरामीका आफन्तबाट थुप्रैपटक ‘धन्यवाद’ खाइसकेका छन् ज्ञानकाजीले।
एम्बुलेन्स चलाउँदाको अफ्ठ्यारा परिस्थितिहरू बेला बखत आइरहन्छन्। त्यस्ता केही घटनाहरू भने दोहोरिन्छन् पनि।
‘कहिलेकाहीँ यताबाट रिफर गरेर अर्को अस्पतालमा बिरामी पठाइन्छ। त्यहाँ आइसियुमा राख्नुपर्ने बिरामी लिएर जाँदा बेड खाली हुँदैन। यो बेलामा निकै चुनौती खेप्नुपर्छ,’ ज्ञानकाजी भन्छन्।
एकदिन रातको १२ बजेको थियो। ‘सिरियस बिरामी छ’ भन्दै ज्ञानकाजीको मोबाइलमा फोन आयो। बिरामीलाई नेपाल मेडिकल कलेजमा रिफर गरिएको रहेछ।
अक्सिजन नलगाई बिरामी लान सक्ने अवस्था रहेनछ।
‘एनएमसीमा कुरा गर्नुभयो भनेर मैले बिरामको आफन्तलाई भनेँ। गरिसकेको भन्ने जवाफ आएपछि मैले एम्बुलेन्समा हालेर अक्सिजन लगाएर गाडी चलाएँ,’ उनी भन्छन्, ‘रातिको समय थियो। जसरी नि पुर्याउँछु भन्ने आँट थियो। झण्डै २० मिनेटमा मैले बिरामीलाई पुर्याएँ। एनएमसीबाट डाक्टर बाहिर निस्किए। उनले मलाई भने,‘आइसियुमा राख्नुपर्ने बिरामी रहेछ। तर, आइसियु खाली छैन यहाँ त।’
डाक्टरको जवाफले ज्ञानकाजी बिलखबन्दमा परे। त्यतिबेलासम्म उनको एम्बुलेन्समा अक्सिजन सकिसकेको थियो। अलि कड्कँदै ज्ञानकाजीले भने, ‘मेरो गाडीमा अब अक्सिजन छैन। मैले लिएर अर्को ठाउँमा लान सक्दिनँ। तपाईंहरूले कसरी हुन्छ अक्सिजन राख्नकै लागि भए पनि राखिदिनुपर्छ।’
तर, डाक्टरले मानिरहेको थिएनन्। ज्ञानकाजीले निकैपल्ट अनुरोध गरेपछि डाक्टर राजी भए। ‘त्यसपछि उहाँले गर्नुपर्ने उपचार गर्न थाल्नुभयो। र मलाई बसिराख्नु भन्नुभयो। तर, म बसेर हुन्न थियो। किनकि मेरोमा अक्सिजन सकिसकेको थियो,’ त्यो क्षण सम्झँदै ज्ञानकाजीले भने।
यस्तो समस्या बेला बखत आइरहने उनको अनुभव छ।
गम्भीर प्रकृतिको बिरामीलाई अस्पतालबाट अन्यत्र रिफर गर्ने क्रममा बढी समस्या आउने ज्ञानकाजी बताउँछन्।
गम्भीर प्रकृतिको बिरामी ल्याउँदा लैजाँदा स्वास्थ्यकर्मी साथमा हुनुपर्ने ज्ञानकाजीको भनाइ छ। ‘सिरियस बिरामी भइसकेपछि हामीले जिम्मेवारी लिन सक्दैनौं भनेर भन्ने अवस्था हुन्छ। बाटोमा केही भएर बित्यो भने हामीलाई टेन्सन त हुन्छ नि। सकेसम्म छिटो लगेर बिरामीलाई नराखेसम्म हामीलाई चिन्ता नै हुन्छ। त्यसैले स्वास्थ्यकर्मी साथमा हुन आवश्यक छ,’ उनी भन्छन्।
यही कारण कहिलेकाहीँ डाक्टरहरूसँग विवाद पनि पर्ने गरेको छ ज्ञानकाजीको।
‘बिरामीको अवस्था कस्तो छ भनेर सोध्छौं। ठीकै भएको बिरामीलाई ल्याएर राख्न सक्छौं। तर, कहिलेकाहीँ ठीकै छ भनेको बिरामी अचेत पनि हुन सक्छन्। बिरामीलाई एक्लै लिएर जान भएन। डाक्टर चाहिने अवस्था भएको बिरामीलाई मैले मात्र सक्दिनँ। बिरामीलाई भित्रै लगेर तपाईंहरू कोही जानुहुन्छ भने म जान्छु नत्र म जाँदिन भनेर डाक्टरहरूसँग कराएको पनि छु,’ ज्ञानकाजी भन्छन्।
एम्बुलेन्स चालक भएर काम गर्दा स्वास्थ्यका धेरै ज्ञानहरू हुने उनी बताउँछन्। ‘कतिपटक आफैंले स्वास्थ्यकर्मीको भूमिका पनि निभाउनु परेको छ,’ ज्ञानकाजी हाँस्दै सुनाउँछन्।
एम्बुलेन्स कस्तो बिरामीले प्रयोग गर्ने भन्ने प्रश्नमा ज्ञानकाजी जवाफ दिन्छन्, ‘जो सिरिसय छ। हिँड्न सक्दैन। छिटै अस्पताल पुग्नुपर्ने आवश्यकता छ। त्यस्तो बिरामीको लागि हो एम्बुलेन्स।’
यद्यपि, कहिलेकाहीँ एम्बुलेन्स नै नचाहिने साधारण प्रकृतिको बिरामीले एम्बुलेन्स बोलाएर दुःख दिने गरेका छन्।
‘एकपल्ट गम्भीर बिरामी भनेर मलाई फोन आएको थियो। म गएँ। गाडी फर्काएँ। बिरामी आयो। ऊ हिँडडुल गर्नसक्ने सामान्य बिरामी थियो। खासमा बिरामी जस्तो पनि देखिन्न थियो। त्यतिबेला मैले उसलाई गालीसमेत गरेँ,’ ज्ञानकाजीले भने।
गंगालालमै कार्यरत ४३ वर्षीय भुवन लामाले पनि एम्बुलेन्स चलाएको १८ वर्ष भयो। ज्ञानकाजीले भागेका अधिकांश समस्या भोगेका छन् भुवनले पनि। झण्डै २ दशकको अनुभवमा उनीसँग थुप्रै घटनाहरू छन्।
करिब ९ वर्षअघि, एकदिन भुवनको मोबाइलमा फोन आयो, ‘सिरियस बिरामी छ, तत्काल आउनुपर्यो।’
लगत्तै भुवन तत्काल एम्बुलेन्स लिएर तीव्र गतिमा गए। ‘बिरामी एम्बुलेन्समा हालेर सकेसम्म छिटो अस्पताल ल्याइ पुर्याएको थिएँ। तर, ऊ बितिसकेछ,’ भुवन सम्झन्छन्। यस्तो अवस्थामा भने साह्रै दुःख लाग्ने भुवन बताउँछन्।
‘कहिलेकाहीँ बिरामीका आफन्त हामीसँग आक्रोसित हुन्छन्। त्यतिबेला ठूलै अफ्ठ्यारोको सामना गर्नुपर्छ,’ उनी भन्छन्।
हरेक दिन जोखिम भए पनि आफ्नो पेसामा सधैं खुसी भइने ज्ञानकाजी र भुवनको अनुभव छ। ‘दुःख छ। जोखिम छ। तर, एम्बुलेन्स चालक भएर काम गर्नुको मजा अरु कुनै पेसामा छैन जस्तो लाग्छ,’ दुवैले मुस्कुराउँदै भने।