काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय नदिएपछि अत्याधुनिक खोप भण्डारण स्टोरको (कोल्ड चेन) भवन निर्माण कार्य अलपत्र परेको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले भवन निर्माणसम्बन्धमा बजेट सुनिश्चिताका लागि गत जेठमा मन्त्त्रालयमा फाइल पठाएको थियो। पठाएको फाइल अलपत्र परेपछि निर्माण कार्य अन्योलमा परेको हो।
महाशाखाले ८५ हजार लिटर क्षमता भएको केन्द्रीय खोप भण्डार स्टोर निर्माणका लागि तयारी गरेको थियो।
१० करोड रुपैयाँ भन्दा बढी लागत भएको निर्माण कार्यको निर्णय मन्त्रालय स्तरबाट हुनुपर्ने व्यवस्था भएकोले व्यवस्थापन महाशाखाले उक्त फाइल गत जेठमा मन्त्रालयमा पठाएको थियो।
अत्याधुनिक भवन निर्माणका लागि २०६३/६३ देखि नै बजेट विनियोजन भएपनि यसमा धेरैको चासो थिएन। जसकारण हरेक वर्ष बजेट फ्रिज हुँदै आएको थियो।
दुई वर्षअघि डा भीमसिंह तिंकरी महाशाखा प्रमुख भएपछि उनले यस विषयमा चासो देखाउँदै प्रक्रिया अघि बढाएका थिए।
सोही अनुसार अघिल्लो वर्ष विभाग परिसरमै औषधि र अन्य उपकरण राख्न अर्को भवन भने निर्माण भइरहेको छ। तर कोल्ड चेनको भने फाइल नै गायब हुँदा निर्माण कार्य अलपत्र परेको कर्मचारी बताउँछन्।
पथलैयामा पनि औषधि उपकरण भण्डारणका लागि भवन निर्माण भइसकेको छ।
खोपलाई निश्चित तापक्रममा भण्डार गर्ने ठाउँलाई कोल्ड चेन भनिन्छ। टेकुस्थित विभाग परिसरमा रहेको केन्द्रीय कोल्ड चेनको क्षमता कम भएपछि अत्याधुनिक र बढी क्षमता भएको भवन बनाउने गृहकार्य सुरु भएको थियो।
व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले पछिल्लो समय फाइल अर्थ मन्त्रालय पुगेको जानकारी पाएको बताए।
उनले भने, ‘फाइल अर्थ मन्त्रालय पुगेको जानकारी पाएको छु। अर्थले केही भवन निर्माणबारे केही जिज्ञासा पठाएको थियो। हामीले उत्तर पठाइसकेका छौँ। छिटै निर्णय हुन्छ होला।’
दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवनको निर्माणमा करिब रु १५ करोड लागत लाग्ने अनुमान गरिएको ।
महाशाखाले निर्माणका लागि टेन्डर प्रक्रिया पनि सम्पन्न गरेको छ। तर मन्त्रालयबाट बजेट आउने नआउने अन्योलता भएपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन। भवनको नक्सा समेत डिजाइन भइसकेको छ।
रोगको प्रकोप र त्यस्ता रोगको विरुद्धमा तयार भएका खोप पनि थप्दै जानुपर्ने अवस्था छ।
राष्ट्रिय खोप कार्यक्रम अनुसार ११ प्रकार खोप सञ्चालनमा छन्। भने चालु आर्थिक वर्षबाटै रोटा भाइरस विरुद्धको खोप पनि सञ्चालनमा ल्याउने सरकारको तयारी छ।
नेपालमा हाल बिसिजि (क्षयरोग), डिपिटी–हेपाइटिस बि–हिव, ओपिभी (पोलियो), दादुरा–रुवेला, जापानिज इन्सेफेलाइटिस, आईपिभी(पोलियो), पिसीभी (निमोनिया) र टिडी (टिटानस र डिप्थेरिया) खोप सञ्चालनमा छन्।
यी खोपको निश्चित तापक्रममा भण्डारण गर्न कोल्ड चेन तथा खोप व्यवस्थापन रणनीति २०७० अनुसार अधिकतमा मौज्दातका लागि ४४ हजार लिटर भन्दा बढी क्षमताको कोल्ड चेन भवन आवश्यक पर्छ।
व्यवस्थापन महाशाखाका अनुसार अहिलको कोल्ड चेन केन्द्र को क्षमता ४५ हजार लिटर छ।
महाशाखाका एक कर्मचारीले भने समयसमय गरिने खोप अभियानको लागि क्षमता भएकाले अतिरिक्त खोप भण्डारणका लागि समस्या भइरहन्छ।
त्यसबाहेक हालको कोल्ड चेन रुम भवन अस्थायी प्रकृतिको छ। ५० वर्ष पुरानो सो भवन नभइ सेड मात्र हो। जसकारणले भवन जीर्ण अवस्था छ।
मंगलबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्यराज्य मन्त्री नवराज रावत र स्वास्थ्य सचिव खगराज बरालले सो कोल्ड चेन स्टोरको निरीक्षण समेत गरेका छन्। उनीहरुले निर्माण कार्य थाल्न आवश्यक प्रक्रिया थाल्ने प्रतिवद्दता समेत जनाएका छन्।
खोपको गुणात्मकतालाई कायम राख्न, प्रभावकारी भ्याक्सिन व्यवस्थापन (इभीएम) को मान्यता अनुसार ८० प्रतिशत नयाँ भवन र अन्य भवन पनि आवश्यक भएको महाशाखा प्रमुख डोटेल बताउँछन्।
महाशाखाले अत्याधुनिक कोल्ड चेन भवन निर्माण भएपछि राष्ट्रिय,अन्तर्राष्ट्रिय स्तरको खोपको तालिम प्रदान गर्न, चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई खोपबारे जानकारी दिन मदत पुग्ने जनाएको छ।
महाशाखाले थप्ने नयाँ खोप रोटा भाइरस र पाठेघरको मुखको क्यान्सर रोक्ने एचपीभि र टाइफाइडको खोप भण्डारणका लागि पनि अत्याधुनिक र ठूलो क्षमताको भवन आवश्यक पर्ने बताएको छ। अर्थात् थप ४८ हजार लिटर थप क्षमता भएको भण्डारकक्ष आवश्यक पर्छ।
प्रत्येक ३ वर्ष विश्व स्वास्थ्य संगठन र युनिसेफको संग्लतामा हुने प्रभावकारी भ्याक्सिन व्यवस्थापन (इभिएम) मूल्यांकन हुँदै आएको छ। यसमा ९ वटा सूचक राखिएको छ।
सबै सूचक ८० प्रतिशत भन्दा बढी हुनुपर्छ। तर यी ९ सुचक मध्ये कोल्डचेन क्षमता एक सूचक हो। ८० प्रतिशतभन्दा कम आएमा देशको खोप व्यवस्थापन कमाजोर मानिन्छ।
कतिपय अवस्थामा गाभीले खोप कार्यक्रममा दिँदै आएको सहयोग कटौती गर्न सक्ने महाशाखाका कर्मचारी बताउँछन्।
बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खोपको विषयमा मन्त्रालयले चासो नदिनु गैरजिम्मेवारी हो। खोपको गुणस्तर खस्कीएका कारण र समयमै बालबालिकाले खोप नपाएका कारण पछिल्लो समयमा निवारण भइसकेका रोग पनि पुनः देखिन थालेको अवस्था छ।