भान्सामै औषधी

बहुआयामिक आलस : के-के पाइन्छ? कसरी खाने? के-के बन्छ? 

आरबी बुढाथोकी

आलसका बारेमा थाहा नपाउने मानिस कमै होलान्। यसको तेल निकै लोकप्रिय छ। आलसको छोप अचारमा पनि  प्रयोग हुन्छ। आलसलाई बहुगुणी औषधि पनि मानिन्छ। आलस लिनासिया परिवारमा पर्ने वनस्पती हो। यसको फल फाइबरयुक्त खाद्य पदार्थको रूपमा उपभोग गरिन्छ।

आलसको खेती विश्वका चिसो क्षेत्रहरूमा गरिन्छ। आलस नेपालमा सरदर १ सय २० रुपैयाँमा पाइए तापनि विश्वको सरदर मूल्य २ डलर पर्छ। संसारमा सबैभन्दा बढी आलस उत्पादन गर्ने देश क्यानडा हो। क्यानडाले विश्वको ४० प्रतिशत बजार ओगटेको छ। क्यानडापछि रसिया, युक्रेन र फ्रान्सले पनि राम्रो आलस उत्पादन गरेका छन्।

नेपालमा आलस कति उत्पादन हुन्छ भन्ने एकिन तथ्यांक छैन तर पनि सरदर १४ हजार तीन सय १९ हेक्टर जमिनमा ७ हजार ६ सय ७२ टन उत्पादन भएको विसं २०१३ को तथ्यांकले देखाउँछ। यस्तो अवस्थामा फरक तरिकाले कृषि उत्पादकत्वमा वृद्धि गर्दै उपभोक्तामा पनि सचेतना फैलाउन सके नेपालले आलसबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारबाट दीर्घकालीन लाभ लिन सक्छ।

शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको तत्व हो, ओमेगा–३ फ्याट्टी एसिड, जुन आलसमा प्रशस्त पाइन्छ। कमै नेपाली होलान्, जसले आलसको अचार नखाएका होऊन्। अचार नै नखाए पनि आलसको छोप हालेको अचार त सबैले खाएका छन्। यति परिचित हुँदाहुँदै पनि नेपाली भान्सामा त्यति प्रिय नभएको यो बालीलाई सबैले विस्तारै बुझ्दै गएका छन्।

प्राचीनकालदेखि फाइबर र तेलका लागि प्रयोग हुँदै आएको आलस अहिले विकसित देशहरूमा औषधिका रूपमा सेवन गर्न थालिएको छ। विश्वलाई सताइरहेको कोलेस्टेरोल, स्ट्रोक लगायतका मुटुसम्बन्धी रोगदेखि क्यान्सरसम्मको रोकथाममा आलसको प्रयोग बढेको छ।

आलस धेरै तरिकाले खान सकिन्छ। आलसलाई अंकुराएर खानु सबैभन्दा राम्रो मानिन्छ। हुन त धेरै अरु गेडागुडी अंकुराएर खानु बढी पौष्टिक मानिन्छ। आलसलाई अंकुराउँदा यसमा हुने फाइटिक एसिड हट्छ, जसले गर्दा खनिज तत्वहरु हाम्रो शरीरले सजिलै लिन सक्छ।

क्यानडाको फ्लाक्स काउन्सिलको सिफारिसमा आलसलाई न्यानो पानीमा कम्तीमा १० मिनेट वा चिसो पानी भए २ घन्टा भिजाएर प्रयोग गर्नु भन्ने छ। आलसलाई अंग्रेजीमा ‘फ्लाक्स सिड’ वा ‘लिन सिड’ पनि भनिन्छ। यसको वैज्ञानिक नाम ‘लिनम युसिटाट्सिनम’ हो। यो नामको अर्थ धेरै उपयोगी भन्ने बुझिन्छ।

केके पाइन्छ आलसमा 
एक तबल चम्चा अर्थात् १५ ग्राम आलसमा निम्न तत्वहरु पाइन्छ।

क्यालोरी : ३७, प्रोटिन : १.३ ग्राम, कार्बोहाइडेड : २ ग्राम, फाइबर : १.९ ग्राम, चिल्लो : ३ ग्राम, ओमेगा फ्याटी एसिड : १५९७ एमजी, स्याचुरेट फ्याट ०.३ ग्राम, मनोअन स्याचुरेट फ्याट : ०.५ ग्राम, पोलिअनस्याचुरेट फ्याट : २ ग्राम, भिटमिन बी१ : ८ प्रतिशत, भिटमिन बी६ : २ प्रतिशत, फोलेट : २ प्रतिशत, क्याल्सियम : २ प्रतिशत, आइरन : २ प्रतिशत, म्याग्नेसियम : ७ प्रतिशत, पोटासियम : २ प्रतिशत, फस्फोरस : ४ प्रतिशत

नियमित सेवन गर्दा आलसबाट पाइने फाइदा
– आलसमा अत्यधिक मात्रामा ओमेगा–३ फ्याट्टी एसिड पाइन्छ, जुन हाम्रो शरीरलाई नभई नहुने चिल्लो पदार्थमध्येको एक हो।  
– क्यान्सर जस्तो भयानक रोग लाग्नबाट जेगाउँछ। 
– उच्च रक्तचाप हुनेलाई आलस अमृतसरह मानिन्छ। 
– आलसमा प्रोटिन प्रशस्त पाइने हुँदा साकाहारीका लागि पनि उत्तम मानिन्छ। 
– सुगर लेबल सन्तुलन गर्न पनि आलसले पूर्ण रुपमा मद्दत पुर्‍याउँछ। 

– भोग जगाउने काम गर्छ र वजन सन्तुलन राख्न पनि विशेष भूमिका खेल्छ। 
– मुटुसम्बधी रोगीका लागि पनि नियमित आलस सेवन गर्नु उत्तम मानिन्छ। 
– खाना पचाउन सहयोग पुर्‍याउँछ। 
– मधुमेह रोगीका लागि फाइदा पुर्‍याउँछ। 
– कुनै पनि संक्रमण हुनबाट जोगाउँछ।
– सुत्केरी महिलाको लागि अति उपयोगी मानिन्छ।

– आलसको नियमित प्रयोगले अनुहारमा चमक थप्दै जान्छ। 
– नरम र सिल्की कपालका लागि पनि आलस अति उपयोगी छ। 
– आलसले मुटुका धमनीहरूमा रगत जम्नबाट जोगाउँछ। 
– कब्जियत, पाइल्स, फिस्टुलाका बिरामीलाई फाइदा गर्छ। 
– छालासम्बन्धी रोगहरू एग्जिमा, डन्डीफोर, दाद, चिलाउने आदि हटाउँछ। 

– रोग प्रतिरोधात्मक क्षमता पनि बढाइरहेको हुन्छ। 
– शरीरको बोसो घटाएर स्फूर्त बनाउन यो उपयोगी छ।
– आयुर्वेदमा ‘दैविक भोजन’का रूपमा चित्रण गरिएको छ। 
– शैशवावस्थादेखि वृद्धावस्थासम्मका हरेक दिन यो मानव स्वास्थ्यका लागि उपयोगी मानिन्छ। 
– भ्रुणको विकास गराउनुका साथै छाला, केश तथा नङलाई स्वस्थ राख्न सघाउँछ। 

– रातो रक्तकोष निर्माण र मस्तिष्क एवं स्नायुको कार्यप्रणालीमा सहयोगी हुने भएकाले यसको उपयोग आवश्यक मानिन्छ। 
– आलसमा पाइने लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाको महिनावारीमा हुन सक्ने तलमाथिलाई पनि नियमित बनाउन मद्दत गर्छ।
– स्तन, प्रोस्टेट, कोलोन, पाठेघर क्यान्सरका बिरामीले आलस खानु राम्रो मानिन्छ। 
– आलसको सेवनले पाचन क्रियामा सघाउँछ र कब्जियतलगायत पाचनसम्बन्धी समस्यालाई समाधान गर्छ। 

– आलसले चाँडै बुढो देखिनबाट जोगाउनुका साथै कोषिकाहरु नष्ट भएपछि पुनर्जनन (सेल रिजेनेरेसन) हुने प्रक्रियामा सघाउँछ।
– कतिपयलाई ग्लुटिन भएको खाना खान हुँदैन। यसले आन्द्रामा समस्या ल्याउँछ र खाएको पच्दैन। यो वंशाणुगत रोग पनि हो। आलसमा ग्लुटिन हुन्न। त्यसैले ‘सेलियाक रोग अर्थात् ग्लुटिन एलर्जी भएकाहरुलाई पनि यो लाभदायक छ।
– आलसमा पाइने घुलनशील रेशाले बोसो र कोलेस्ट्रोललाई बल्झाएर लिन्छ जसले गर्दा ती शरीरमा सोसिने मात्रा कम हुन जान्छ। त्यस्तै पित्तमा भएको कोलेस्ट्रोललाई पनि आलसको रेशाले लिन्छ र दिशाबाट बाहिरिन्छ।

– आँखाको लागि पनि राम्रो हुन्छ। खासगरी आँसु कम भएर आँखा सुख्खा हुने र पोल्नेहरुको लागि ओमेगा–३ को सेवन धेरै लाभदायक हुन्छ। 
– सामान्यतया माछाको तेलमा इपिए र डिएचएल दुई प्रकारका ओमेगा–३ फ्याट्टी एसिड पाइन्छन्, तर आलसमा पाइने चाहिँ ‘एएलए’ अर्थात् अल्फा लिनोलेनिक एसिड हो। खासमा यी फ्याट्टी एसिडहरु सुन्निने, दुख्ने कम गर्ने ‘एन्टि–इन्फ्लेमाटोरी’ गुणयुक्त र मुटुसम्बन्धी रोगहरु कम गर्नमा उपयोगी मानिन्छन्।

आलस कसरी खाने ? के के बन्छ ?
आलस धेरै किसिमले खान सकिन्छ। यसलाई अंकुराएर खाँदा पनि हुन्छ। आलसको छोप बनाएर पनि खान सकिन्छ। आलु–काँक्रोको अचारमा तिलको साटो आलास मिलाउनु उत्तम मानिन्छ। आलसलाई भिजाएर विभिन्न फलफूलसँग मिसाई लस्सी बनाएर पिउन पनि सकिन्छ। आलसको सुप पनि अत्यन्त स्वास्थ्यकर मानिन्छ। सलादको ड्रेसिङ बनाएर खाँदा पनि स्वादिस्ट र स्वस्थ्यकर हुन्छ। बर्गरको बन या अन्य ब्रेड बनाउँदा आलसको गेडा हालेर बनाउन सकिन्छ। आलसको तेल प्रयोग गरेर विभिन्न खाना पकाउन सकिन्छ। विभिन्न पिठोमा आलस मिसाएर रोटी पनि बनाउन सकिन्छ। दही र महमा मिसाएर पनि खान सकिन्छ।
आलस मिसाएर विभिन्न कुकिज, लड्डु, मल्टिग्रेन्ड ब्रेड र थेप्ला बनाउन सकिन्छ। आलसलाई पिसेर खानु सजिलो र प्रभावकारी उपाय हो। नपिसेर खाँदा यो पच्दैन (झाडा लाग्ने होइन) र यसको गुणिलो तत्वहरु शरीरले लिन पाउँदैन। पिसेपछि धेरै समय हावामा खुला नराख्नु भनिन्छ। आलसलाई विभिन्न तरिकाले खान सकिन्छ। जस्तैः दुध वा दहीसँग मिसाएर खान सकिन्छ। दहीसँग खाँदा स्वादअनुसार मह मिसाउन सकिन्छ। घरमै रोटी, बिस्कुट, केकरमफिन बनाउँदा आलसको पिठो मिसाउन सकिन्छ। आलसलाई ३०० डिग्री फरेन्हाइट (झन्डै १५० डिग्री सेल्सियस) मा ३ घन्टासम्म बेक गर्दा यसमा भएको एएलए ओमेगा–३ मा केही असर नपरेको विभिन्न अध्ययनबाट देखाएको छ।

-(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सुसेफ हुन्)

 

प्राप्त प्रतिकृयाहरू

Milan Bantawa लेख्नुहुन्छ २०७६ मङ्सिर १९ बिहीबार ०७:३२ 

आलसले सबै रोग निको हुने देखियो त यो समचार पढ्दा। यो सबै सत्य हुने भए त सबैले आलस खाएर अस्पताल चाहिँ बन्द गरे भयो त।

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने