फाइल तस्बिर
काठमाडौं- सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि सरकारी अस्पतालहरूमा भने यो व्यवस्था पूर्ण रूपमा लागू हुन सकेको छैन। चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्पूर्ण सरकारी कार्यालयहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो।
तर, स्वास्थ्य मन्त्रालयले अस्पतालको प्रकृति र बिरामीको चापलाई ध्यानमा राख्दै आइतबार पनि ओपिडी (बहिरङ्ग) सेवा कायम राख्न अनुरोध गरेपछि अस्पताल प्रशासन र चिकित्सकहरूबीच अन्योल सिर्जना भएको छ।
मन्त्रिपरिषद् र स्वास्थ्य मन्त्रालयका फरक-फरक निर्देशनका कारण कतिपय अस्पतालले सेवा बन्द गरेका छन् भने कतिपयले दबाब र बिरामीको मर्कालाई मध्यनजर गर्दै आइतबार पनि सेवा सुचारु राखेका छन्।
मन्त्रिपरिषद् र स्वास्थ्य मन्त्रालयका फरक-फरक निर्देशनका कारण अस्पतालका ओपिडी सेवा कतै खुल्ने त कतै बन्द हुने भएपछि बिरामीहरू अलमलमा परेका छन्।
आइतबार ओपिडी सेवा बन्द गर्ने पक्षमा नेपाल चिकित्सक संघदेखि आवासीय चिकित्सकहरु खुलेका छन्। स्वास्थ्य मन्त्रालय मातहतकै केही अस्पतालले आइतबार बिदा दिने निर्णय गरेका छन्। कतिपय अस्पताललाई मन्त्रालयले आइतबार पनि सेवा सूचारु गर्न दबाब दिएको गुनासो आइरहेको छ।
सरकारले दुई दिन बिदा दिने घोषणा गरेपछि धेरै बिरामीहरू आइतबार अस्पताल बन्द हुने ठानेर घरै बसे भने कतिपय अस्पताल पुगेर पनि सेवा नपाई फर्कनुपर्यो। अस्पतालपिच्छे फरक-फरक नियम हुँदा टाढा-टाढाबाट आएका बिरामीहरू कुन अस्पताल खुल्छ र कुन खुल्दैन भन्ने अन्योलमा परेका छन्।
वीर र ट्रमा सेन्टरमा ओपिडी सञ्चालन
वीर अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषद्ले आइतबार सबै सेवा उपलब्ध गराउने निर्णय गरेको अस्पतालका निर्देशक डा. दिलीप शर्माले जानकारी दिए। सुरुमा सरकारको निर्णय अनुरुप वीरले आइतबार बिदा दिने सोचे पनि बिरामीलाई पर्न सक्ने असरलाई ध्यान दिँदै मन्त्रालयले परिपत्र गरेपछि सेवा सुचारु गरिएको उनको भनाइ छ।
यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा पनि आइतबार ओपिडी सेवा सञ्चालन भएको छ। सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले बिरामीको सेवालाई प्राथमिकता दिँदै मन्त्रालयको निर्देशन पालना गरिएको बताए।
पाटनमा यसअघि नै २ दिन बिदाको व्यवस्था, कान्तिमा पनि सेवा सुचारु
पाटन अस्पतालमा आइतबार सबै प्रकारका सेवाहरू उपलब्ध गराइएको छ। अस्पतालका निर्देशक डा. रवी शाक्यका अनुसार पाटनमा यसअघि नै साताको दुई दिन (बुधबार र शनिबार) बिदा दिने व्यवस्था रहेकाले आइतबारको सेवामा कुनै फेरबदल नगरिएको हो। 'हामीकहाँ पहिल्यैदेखि बुधबार र शनिबार बिदा हुने भएकाले आइतबार ओपिडी सञ्चालनमा कुनै समस्या भएन,' उनले भने।
यस्तै, कान्ति बाल अस्पतालमा पनि आइतबार ओपिडी सेवा सुचारु रह्यो। निर्देशक डा. पंकज रायले बिहान ७ बजेदेखि टिकट खुला गरी ९ बजेदेखि साविक बमोजिम नै सेवा सञ्चालन गरिएको बताए।
दबाबपछि टिचिङमा आंशिक सेवा
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले भने आइतबार आंशिक रूपमा मात्र ओपिडी सेवा दिएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्य मन्त्रालयको दबाबपछि मात्र ओपिडी खोलिएको बताए। 'बिदा भनेर धेरैजसो स्वास्थ्यकर्मी बसिसकेका थिए, तर मन्त्रालयको दबाब र त्रिवि कार्यकारी बैठकको निर्णयपछि छोटो सूचनाका आधारमा उपस्थित भएका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरियो," उनले स्पष्ट पारे।
कर्णालीमा जनशक्ति अभावले ओपिडी बन्द
उपत्यका बाहिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने आइतबार ओपिडी सेवा बन्द गरेको छ। प्रतिष्ठानका निर्देशक डा. कमलप्रसाद थामीले जनशक्ति अभावका कारण मन्त्रालयको निर्देशन पालना गर्न नसकिएको बताए। यद्यपि, टाढाबाट आएका बिरामीहरूलाई मर्का नपरोस् भनेर आकस्मिक कक्ष (इमर्जेन्सी) बाटै ओपिडी सरहको सेवा दिइएको उनले जानकारी दिए।
चिकित्सक र रेजिडेन्टहरूको कडा विरोध
स्वास्थ्य मन्त्रालयले अस्पतालको सेवा समय बिहान ९ देखि ५ बजेसम्म बनाउने र आइतबार पनि काम गर्नुपर्ने निर्णय गरेपछि चिकित्सकहरूले त्यसको विरोध गरेका छन्। 'रेजिडेन्ट एसोसिएसन अफ न्याम्स'ले एक विज्ञप्ति जारी गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एसोसिएसनका अध्यक्ष डा. प्रकाश खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्यकर्मीलाई साविककै अवस्थामा पनि अत्यधिक कार्यबोझ रहेको उल्लेख गरिएको छ। सेवा समय ९–५ बनाउँदा दैनिक १ घण्टा र सातामा ६ घण्टा कार्यभार थपिने तर स्वास्थ्यकर्मीको संख्या पुरानै रहँदा मनोबल गिर्ने दाबी गरिएको छ। एसोसिएसनले आइतबार काम गरेबापत दिइने भनिएको 'सट्टा बिदा' अव्यवहारिक भएको र यो निर्णय अनुसन्धान बिना गरिएको अपरिपक्व कदम भएको ठहर गरेको छ। उनीहरूले सेवा समय ९–४ नै कायम गर्न सुझाव दिएका छन्।
यस्तै, नेपाल चिकित्सक संघले पनि हालकै जनशक्तिबाट अतिरिक्त सेवा लिन खोज्नु अन्यायपूर्ण भएको भन्दै विरोध जनाएको छ। चिकित्सकहरूले ९–५ को ड्युटी बाहेक पनि अनकल, राउन्ड र आकस्मिक सेवा २४ सै घण्टा दिइरहेको तर उक्त समयको गणना नभएको संघको गुनासो छ। न्यून सेवा सुविधाका बाबजुद कार्यबोझ थप्ने परिपाटी अन्त्य नभए आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ।