काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिनदेखि उपचाररत प्रधानमन्त्री ओली दिउसो ३ बजेर ४५ मिनेट जाँदा डिस्चार्ज भएका हुन्।
प्रधानमन्त्रीको उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ। शल्यक्रिया र त्यसपछिको आइसियुमा बस्दाको औषधि उपचारमा उक्त शुल्क उठेको अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्रीलाई मंसिर १० गते बिहान साढे ९ बजे अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि लगत्तै उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालका डा रमेशसिंह भण्डारी, डा पलेस्वाँ लाखे जोशी लगायतको टोलीले शल्यक्रिया गरेका हुन्। शल्यक्रिया झन्डै ४५ मिनेट भएको थियो।
प्रधानमन्त्रीको शल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्थासहितको निरन्तर निगरानीमा राखिएको थियो। प्रधानमन्त्रीको एपेन्डिसाइटिस सहितको पेटको संक्रमण (पेरिटोनिटिस) देखिएपछि तत्काल ल्यापेरोटोमी एन्ड एपेन्डिक्टोमी उपचार गरिएको हो।
वरिष्ठ चिकित्सकका अनुसार पेरिटोनाइटिस भनेको पेटभित्र संक्रमण फैलिनु हो। पेटभित्रको अंगलाई दुईवटा पातलो झिल्लीले छोपेर राखेको हुन्छ। मेडिकल भाषामा त्यस्तो झिल्लीलाई पेरिटोनियम भनिन्छ। त्यही झिल्लीहरुमा संक्रमण फैलिनुलाई पेरिटोनाइटिस भनिन्छ। प्रधानमन्त्री ओलीको पनि एपेन्डिसाइटिस फुटेर ती झिल्लीमा संक्रमण फैलिएको हो। यस्तो अवस्था हुनु भनेको सामान्यभन्दा गम्भीर हुनु हो।
एपेन्डिक्स फुटेर संक्रमण फैलिएपछि प्रधानमन्त्रीको पेटमा चिरेर शल्यक्रिया गरिएको हो। ल्यापेरोटोमी भनेको पेट चिर्ने कामलाई जनाउने एक वरिष्ठ डाक्टरले जानकारी दिए।
एपेन्डिक्टोमी भनेको फुटेको एपेन्डिसाइटिसलाई काटेर फाल्नु हो।
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। प्रधानमन्त्रीलाई चिकित्सकहरूले केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरेका हुन्।
प्रधानमन्त्रीको यसै अवधिमा ८ पटक डायलाइसिस पनि भएको छ। प्रधानमन्त्री ओलीको १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो।
के हो एपेन्डिसाइटिस?
एपेन्डिसाइटिस एउटा इमर्जेन्सी अवस्था हो। पेट दुखेको २४ घण्टा भित्रै अप्रेशन गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ।
हाम्रो शरीरमा विकास भएको तर काम नलाग्ने अङ्गका रुपमा रहेको एपेन्डिक्स ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा हुन्छ। यो दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी रहेको हुन्छ।