काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा आधा अर्बभन्दा बढी मुल्य बराबरका उपकरण प्रयोग विहिन भई थन्किएका छन्।
खरीद भएको वर्षदिन हुँदा पनि विभिन्न कारण देखाउँदै अस्पतालले मेसिन प्रयोगमा ल्याएको छैन।
करोडौंँ मूल्य पर्ने न्यूरो सर्जरीमा प्रयोग हुने इन्ट्रा अपरेटिभ सिटी र क्यान्सर उपचारमा प्रयोग हुने टोमो थेरापी मेसिन थन्किएका छन् भने अन्य साना उपकरण त कतिको संख्यामा थन्किएका छन् अस्पताललाई नै थाहा छैन।
अस्पताल स्रोतका अनुसार उपकुलपति र निर्देशकले अरुलाई दोष देखाउँदै मेसिन प्रयोग ल्याउनेतर्फ चासो देखाएका छैनन्।
'उपकुलपति साह र निर्देशक सेञ्चुरी उपकरण थन्किएको विषयमा भाषण गर्दै हिँड्छन् तर ती उपकरण प्रयोगमा ल्याउने विषयमा भने कुनै पहल गर्दैनन्', अस्पतालका एक चिकित्सकले भने, 'उपकुलपति नियुक्ती भएर आएको ९ महिनाभन्दा बढी भइसकेको छ तर उहाँलाई उपकरण प्रयोगमा ल्याउने विषयमा कुनै चासो नै छैन। अस्पताल निर्देशकलाई पनि यो विषयमा कुनै प्रयास गरेको देखिएन।'
अरुकै पालामा खरीद भएको मेसिन, बाँकी रकम तिर्न बाँकी, अदालतमा मुद्धा, मेसिन राख्ने ठाउँको अभावलगायतका विभिन्न समस्या देखाउँदै मेसिन प्रयोगमा ल्याउने कुरा पर सर्दै गएको छ।
सरकारी अस्पतालले हरेक वर्ष आवश्यता, जनशक्तिलगायतका विषय पहिचान नगरि मेसिन किन्ने र थन्काउने प्रवृत्ति भने पुरानै हो।
नयाँ मेसिन ल्याइ प्रयोग भएपनि ती मेसिन भोली पल्टैदेखि बिग्रिन थाल्ने अस्पतालको पुरानै कडा रोग हो।
उपकरण सञ्चालनमा नआउँदाको असर भने बिरामीमा परिरहेको छ। सरकारी अस्पतालमा उपचारका लागि आएपनि ती उपकरण भएर पनि प्रयोग नहुँदा बिरामी भने चर्को मुल्य तितेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय समीक्षा बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपति डा डीएन साहले आधा अर्बभन्दा बढीका बहुमुल्य उपकरण प्रयोग विहिन भएर बसेको जानकारी दिए।
उनले आफु न्याम्सका उपकूलपति भएर आउनु अगावै ती मेसिनको खरीद भई अस्पताल आइसकेको बताए। उनी गत चैत १ गते न्याम्सको उपकुलपति नियुक्त भएका हुन्।
उनले भने, ‘इन्ट्राअपरेटिभ मेसिन खरीद भइ आइसेको छ। त्यसको केही रकम अझै तिर्न बाँकी छ तर टेन्डर नपरेका व्यक्तिले सर्वोच्च अदालतमा मुद्धा हालेकाले चलाउन पाएका छैनौँ।’
सर्वोच्चमा मुद्धा विचारधीन रहेकोले फैसला नभएसम्म उपकरण भएर पनि सेवाग्राहीलाई सेवा दिन नपाएको उनले बताए।
क्यान्सर रोगको उपचारमा प्रयोग हुने अर्को महंगो टोमो थेरापी मेसिन पनि स्थानको अभावमा प्रयोग विहिन भएको छ।
उपकुलपति साहले भने,‘अस्पतालमा मेसिन राख्ने ठाउँ नहुँदा नहुँदै ठूलो मेसिन किनिएको छ। पहिले स्थान तय गरेर अनि मात्र मेसिन खरीद प्रक्रिया जानपर्ने थियो। अहिले स्थान खाली गरेर मेसिन जडान गर्ने प्रक्रिया सुरु गरिसकेका छौँ।’
क्यान्सरको उपचारमा प्रयोग हुने पुरानो कोवाल्ट रेडियोथेरापी मेसिन बिग्रिएकोले वीरले अत्याधुनिक टोमो थेरापी मेसिन खरीद गरेको थियो।
बिग्रिएको मेसिन नहटाइएकोले नयाँ जडान भएको छैन। पुरानो मेसिनले फाल्ने विकिरण व्यवस्थापन गर्न पहिले भारतका प्राविधिक सँग कुराकानीको थियो। कुरा नमिलेपछि अहिले क्यानडाको प्राविधिक टीमसँग कुरा भइरहेको साहले बताए।
रेडियोथेरापी उपकरण टोमोथेरापी अहिलेसम्मकै नयाँ प्रविधियुक्त र गुणस्तरीय मानिन्छ । यो मेसिन अमेरिकन एकुरे कम्पनीले बनाएको हो। वीर अस्पतालले ४७ करोड रुपैयाँमा खरिद गरेको हो। यो मेसिनबाट सेवा दिन सकिए बिरामीले सस्तोमा उपचार पाउने विश्वास गरिएको छ।
अस्पतालका अनुसार पुरानो उपकरणबाट रेडियोथेरापी दिँदा क्यान्सरका कोषिकाका साथै शरीरमा भएका अन्य कोषिका पनि मर्थे । यो थेरापीले क्यान्सरका कोषिका मात्रै नष्ट गर्छ ।
केही वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनमा अस्पताल तथा स्वास्थ्य संस्थाका लागि खरिद गरिएका उपकरणहरु आवश्यक स्थानमा नपठाइ स्वास्थ्य संस्थाका गोदम र अस्पतालमा नै थन्काउने गरेको पाइएको छ।
नौँ करोड रुपैयाँ बराबरको ती उपकरणहरु प्याकेट समेत नखोली राखेको अध्ययनका क्रममा फेला परेको थियो। अध्ययन प्रतिवेदन अनुसार पछिल्लो १० वर्षयता खरिद भएका ४ प्रतिशत उपकरणहरु प्याकेट नै नखोलिएको अवस्थामा छन्।
उपकरण किन्ने तर आवश्यक स्थानमा नपठाउँदा राज्यको स्रोत खेर जानुका साथै नागरिकले सेवाबाट बञ्चित हुनु परेको अध्ययनको निष्कर्ष छ।आवश्यकताको पहिचान नगरी हचुवाका भरमा उपकरण किन्दै थन्काउने क्रम बढेपछि स्वास्थ्य मन्त्रालयले यो अवस्थामा सुधार ल्याउन राष्ट्रिय रणनीति बनाउन लागेको छ।
मन्त्रालयले स्वास्थ्य संस्थामा प्रयोग हुने उपकरण र औजारको व्यवस्थापन राष्ट्रिय रणनीति बनाउन सुरु समेत गरिसकेको छ।
रणनीतिको मस्यौदा तयार समेत भइसकेको व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेल बताउँछन्।
ठूलो लगानीमा खरिद भएका सानादेखि ठूला उपकरण तथा औजार प्रयोग नहुने, छोटो समयमै बिग्रिने र प्रयोगमा नै नल्याउने लगायतका समस्यालाई समाधान गर्न रणनीति आवश्यक परेको हो। रणनीतिमा आवश्यकता अनुसार उपकरण तथा औजार खरिद गर्ने त्यसको व्यवस्थापन, सञ्चालन, जनशक्ति लगातका विषय उल्लेख हुनेछ।