काठमाडौं- नर्स भएर पहिलो पटक धरानको स्वास्थ्य शिविरमा बिरामी जाँच गर्दा कल्पलता सुब्बालाई ‘यस्तो घिनलाग्दो पेसा किन रोजेँ हुँला’ भन्ने लागेको थियो। २०४३ सालमा भर्खर पिसिएल नर्सिङ पास गरी सेभ द चिल्डे«नमा आवद्ध थिइन् उनी। संस्थाले महिनैपिच्छे गाउँगाउँमा शिविर राख्ने हुँदा त्यहाँ जानुपर्थ्यो। शिविरमा विभिन्न खालका बिरामी आउँथे। कुनै बिरामी मुखबाट जुका बान्ता गर्थे भने कुनै बिरामी जाँच गरिदिनुपर्यो भन्दै कपडामा दिसा पोको पारेर ल्याउँथे।
भर्खर नर्सिङ पास गरेर काम गर्न सुरु गरेकी कल्पलतालाई त्यस्तो देख्दा निकै घिन लाग्थ्यो। ‘सुरुसुरुमा त बान्ता आउला जस्तो हुन्थ्यो। त्यो बेलामा किन नर्सिङ पेसा रोजेछु जस्तो लाग्थ्यो,’ उनले आफ्नो पहिलो अनुभव साटिन्। तर विदेशीहरु भने घिन नमानी नजिकबाट फोटो खिच्थे। त्यस्तो घिनलाग्दो दिसाको पनि किन फोटो खिचेको होला भनेर उनलाई अचम्म लाग्थ्यो।
इटहरीमा जन्मिएकी कल्पलता एसएलसी उत्तिर्ण गरेपछि के पढ्ने भन्ने अन्योलमा थिइन्। के पढ्दा राम्रो हुन्छ ? भनेर नर्सिङ पेसामै रहेकी फुपुकी छोरीसँग उनले जिज्ञासा राखिन्। फुपुकी छोरीले पढाइ सकिनासाथ जागिर पाउन सजिलो हुन्छ भन्दै नर्सिङ पढ्न सुझाव दिएको सुनाउँछिन्, कल्पलता।
फुपुकी छोरीको सुझावअनुसार उनले विराटनगर नर्सिङ कलेजबाट पिसिएल नर्सिङ पढ्न सुरु गरिन्। तर त्यतिबेला नर्सिङ कस्तो विषय हो ? के काम गर्नुपर्छ ? भन्नेसम्म थाहा थिएन उनलाई। कल्पलता भन्छिन्, ‘नर्सिङ पढ्न सुरु गरेपछि प्राक्टिकलमा जाँदा पो नर्सले बिरामीको सेवा गनुपर्र्ने रहेछ भन्ने थाहा भयो।’
पिसिएलको पढाइ सकिनासाथ उनलाई सेभ द चिल्ड्रेनमा आवद्ध भई काम गर्ने मौका मिलेको थियो। त्यहाँबाट विभिन्न गाउँमा शिविरमा जानुपर्थ्यो। अफिस धनकुटाबाट ५/६ घन्टासम्म पैदल हिँडेर शिविर पुग्नुपर्थ्यो। ‘साथीहरुसँग हिँडेर शिविर जान त रमाइलै हुन्थ्यो, तर पानी परेका बेला जङ्गलको बाटोमा जुका लाग्ने हुँदा जान नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो,’ कल्पलताले अनुभव सुनाइन्।
१४ महिना सेभ द चिल्ड्रेनमा काम गरेपछि लोकसेवा पास गरेर सरकारी नर्स बनेकी कल्पलता हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छिन्।
उनको पहिलो पोस्टिङ विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भयो। त्यहाँ काम गर्दा बिरामीले निकै दुःख दिएको तितो अनुभव छ उनीसँग। ‘एउटा पाउडर औषधि हुन्थ्यो, पानी जस्तो झोल (डिस्टिल वाटर) मा घोलेर बिरामीलाई सुईको माध्यमबाट दिनुपथ्र्याे,’ उनले भनिन्, ‘औषधि डिस्टिल वाटरमा घोलेर लगाइदियो, एकै छिनमा बिरामीहरु हाम्रो औषधि नर्सले राखेर हामीलाई पानी दियो भन्दै झगडा गर्न आउँथे। जति सम्झाए पनि नबुझ्ने। उनीहरुकै समुदायको बुझ्ने मान्छेमार्फत बुझाउनुपथ्र्यो।’ उनले कोशी अञ्चल अस्पतालमा १० वर्ष काम गरिन्।
कल्पलतालाई वीर अस्पतालमा डायलाइसिस वार्डमा केही वर्ष काम गर्ने मौका मिलेको थियो। त्यहाँ काम गर्दा बिरामीले उपचारका लागि जीवनभर अस्पताल धाउनुपरेको देखिन्। अन्य रोगका बिरामी उपचारपछि निको भएर घर जान्थे तर मिर्गौलाका बिरामी आजीवन अस्पतालमा धाउनुपर्ने बाध्यता हुन्थ्यो। ‘सम्पत्ति पनि सकिने, स्वास्थ्यमा सुधार पनि नआउने। शारीरिक र मानसिक दुवै पीडा भोग्न बाध्य बिरामी देखेर निकै दुःख लाग्थ्यो,’ उनी भन्छिन्।
लामो समय उपचारमा बस्नुपर्ने भएकोले कुनै बिरामीले जीवनदेखि हरेस खाएर आत्महत्या गरेका घटना समेत उनले देखेकी छिन्।
एक जना बिरामी थिए, उनी पेसाले शिक्षक थिए। मिर्गौला फेल भएका उनी अस्पताल आइरहन्थे। डोनर नभेटिएकाले प्रत्यारोपण हुन सकेको थिएन, त्यसैले डायलाइसिस गराइरहेका थिए। त्यो बेला डायलाइसिस गर्दा थुप्रै पैसा खर्च हुन्थ्यो। हप्तैपिच्छे अस्पताल धाउनुपर्दा उनी चिन्तित थिए। उपचार गर्दागर्दा सम्पत्ति पनि सकिने, रोग पनि निको नभएर आफ्नो मृत्यु भयो भने परिवारका सदस्य के खाएर बाँच्छन् भनेर निकै चिन्तित थिए। त्यसैले उनले आत्महत्या गर्ने मन बनाएको कल्पलतालाई सुनाए। कल्पलताले ‘तपार्इं शिक्षक जस्तो मान्छे, यसरी हरेश खानु हुँदैन, सहयोगका लागि संघसंस्थामा पहल गर्नुस्’ भनेर सम्झाएकी थिइन् ती बिरामीलाई।
पछि शिक्षक संघबाट डोनर पाएर उनले मिर्गौला प्रत्यारोपण गरेका थिए। ‘अहिले पनि तपाईंले गर्दा नयाँ जीवन दिनुभयो भन्दै बेलाबेलामा भेट्न आउँछन्’, कल्पलताले सुनाइन्।
वीर अस्पतालको इमर्जेन्सीमा निकै वर्ष काम गर्ने अवसर पाएकी थिइन् उनले। त्यहाँ काम गर्दा धेरै बेवारिसे बिरामी आउँथे, जसलाई आफू कहाँ बस्छु र नाम के हो भन्नेसम्म पनि याद हुँदैनथ्यो।
वीरमा काम गर्दाका केही घटना अहिले पनि उनी स्मरण गर्छिन्। गाडीले ठक्कर दिएर घाइते भएका अन्दाजी ३० वर्षका एक जना भाइ अस्पतालमा भर्ना गरिएको थियो। बेहोस अवस्थामा ४ महिना अस्पतालमा बस्दा पनि ती बिरामीलाई भेट्न कोही पनि अस्पताल आएनन्। ४ महिनापछि होसमा आउँदा सपनाबाट बिउँझेजस्तै ‘म कहाँ छु’ भनेर उनी अचम्ममा परेका थिए। कल्पलताले तिमी ४ महनादेखि बेहोस थियौ भनेपछि उनले श्रीमती गर्भवती भएकोले धन कमाउन काठमाडौं आएको सुनाए। काठमाडौं आएको एक हप्तामा नै बाटो काट्ने क्रममा ट्रकले हानेको र त्यसपछि के भयो आफूलाई थाहा नभएको उनलाई बताएका थिए।
होसमा आएपछि श्रीमतीलाई सम्झिँदै उनी घर गएका थिए। ‘मैले स्याहार गरेको हुनाले तपार्इंलाई घिउ ल्याईदिन्छु भन्दै घर गएका ती भाइ पछिसम्म पनि घिउ बोकेर मलाई भेट्न आउँथे,’ कल्पलताले भनिन्।
जुस खुवाएर बेहोस बनाई लुटेर त्यत्तिकै बाटोमा छोडिदिएका बिरामी पनि थुप्रै पटक भेटेकी छिन् उनले। ती बिरामी विशेषगरी वृद्धवृद्धा बढी हुन्थे। उनीहरुलाई बाटो हिँड्ने मान्छेले भेट्टाएर अस्पतालसम्म पुर्याइदिन्थे। निको भएपछि घर–ठेगाना केही थाहा नभएका उनीहरुको नाम कल्पलताको टिमले पत्रिकामा छपाइदिन्थ्यो। पछि छोरा छोरीहरु आएर खुसी हुँदै आमाबुबा घर लैजान्थे।
कुनै बिरामीलाई आफ्नै परिवारले अस्पतालमा बेवारिसे बनाएर छोडिदिने गरेको उनले सुनाइन्। उनी त्यस्ता बिरामीको राम्रो रेखदेख गर्थिन्। बेबारिसे बिरामीको सेवा गर्न पाउँदा आनन्द आउने बताउँछिन् कल्पलता। उनी त्यस्ता बिरामीको सेवा गर्छिन्, आफूले सक्ने सहयोग गर्छिन् र अरु साथीलाई पनि सहयोग गर्न आग्रह गर्छिन्। भन्छिन्, ‘यदि हामीले अशक्तहरुको सेवा ग¥यौं भने मन्दिरमा गएर धर्म गरिराख्नुपर्छ जस्तो लाग्दैन।’