काठमाडौं– वीर अस्पतालको ओपिडी भवनको चौथो तला।
कोठा नम्बर ४३१ को बाहिर हातमा फाइल बोकेका बिरामीको भीड छ।
कोठाभित्र पनि केही बिरामी लाइनमा छन्।
कोठाभित्र एक डाक्टर बिरामी जाँचिरहेका छन्।
बिरामीले ल्याएका फाइल र स्वास्थ्य रिपोर्ट हेर्दै उनी सुझाव दिइरहेका छन्।
यी डाक्टर वीर अस्पतालमा कार्यरत भने होइनन्।
उनी हुन्, भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एन्ड बोनम्यारो ट्रान्सप्लान्ट विभागका निर्देशक डा दिनेश भुरानी।
र, उनले वीर अस्पतालमा हेरिरहेका बिरामी हुन् रक्त क्यान्सर भएका नेपाली।
डा भुरानीले वीर अस्पतालमा बिहान १० बजेदेखि ४ बजेसम्म ७० जना बिरामीको निःशुल्क जाँच र उपचार गरे।
डा भुरानी विगत तीन वर्षदेखि यसैगरी नियमित नेपाल आउँछन् र रक्त क्यान्सर भएका नेपाली बिरामीको नियमित जाँच र उपचार गरेर फर्किन्छन्।
डा भुरानी हरेक २ महिनामा आफ्नै खर्चमा नेपाल आउँछन्। वीर अस्पतालको एउटा कोठामा रक्त क्यान्सर भएका बिरामीको निःशुल्क जाँच गर्छन् र फर्किन्छन्।
रक्त क्यान्सर भएका बिरामीले नियमित फलोअप गर्नुपर्ने हुन्छ।
डा भुरानी तिनै बिरामीको फलोअप जाँचका लागि वर्षमा ६ पटक नेपाल आउँछन्।
डा भुरानीले यसरी निःशुल्क रुपमा नेपाली बिरामीलाई सेवा दिन सुरु गरेको तीन वर्ष पुगेको छ।
भन्छन्, ‘नेपाली बिरामीले दिने माया र सम्मानले छुट्टै आनन्द आउँछ, खुसी मिल्छ। म त्यसकै लागि यहाँ आउँछु।’
वर्षमा साढे २ करोड नेपाली रुपैयाँ जोगिँदै
डा भुरानीले फलोअप जाँच गर्ने बिरामी पहिला राजीव गान्धीमै उपचार गरेका बिरामी हुन्। सुरुसुरुमा सबै बिरामी फलोअपका लागि हरेक २ महिनामा राजीव गान्धीमा नै पुग्ने गरेका थिए।
फलोअपका लागि ७० देखि ८० जना बिरामी नेपालबाट भारत धाउनुपर्दा बिरामीसँगै जाने आफन्तले पनि दुःख पाउने गर्थे भने खर्च पनि बढी हुन्थ्यो।
यो कुरा डा भुरानीलाई मन परेको थिएन।
त्यसपछि उनले सोचे, ‘८० जनाले भारत आएर दुःख पाउनुभन्दा त आफू एक जना नेपाल पुगेर सबैको जाँच गर्छु।’
उनले धेरै पहिलेदेखि नै नेपालमा आएर फलोअप जाँच गर्ने सोच बनाइरहेका थिए।
तर, तीन वर्षअघि मात्र उनले सोचेअनुसार नेपाल आएर बिरामीलाई निःशुल्क उपचार सेवा दिने व्यवस्था मिल्यो।
त्यसपछि उनी हरेक दुई महिनाको फरकमा नेपाल आइरहेका छन्।
डा भुरानीले हरेक पटक नेपालमा आउँदा ७० देखि ८० जना बिरामीको जाँच गर्ने गरेका छन्।
उनले वीर अस्पतालमा आएर नेपाली बिरामीको जाँच गर्दा करिब साढे दुई करोड नेपाली रुपैयाँ जोगिएको बिरामीहरु बताउँछन्।
डा भुरानीसँग जाँच गराइरहेका बिरामीहरुका अनुसार एक पटकका फलोअपका लागि दिल्ली जानुपर्दा कम्तीमा पनि ५० हजार खर्च हुन्थ्यो। बिरामीसँगै अर्को एक जना व्यक्ति पनि जानुपर्ने, होटलमा बस्नुपर्ने बाध्यता हुन्थ्यो।
यो आधारमा हेर्दा एक जना बिरामीले वर्षमा ६ पटक भारत जानुपर्दा कम्तीमा पनि तीन लाख खर्च गर्नुपर्ने हुन्थ्यो भने ८० जना बिरामी जानुपर्दा करिब २ करोड ४० लाख खर्च हुन्थ्यो।
तर, डा भुरानीले सेवा दिन थालेपछि बिरामीको उक्त खर्च जोगिएको छ।
बिरामी र आफन्तले भारतमा आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ।
वीर अस्पतालमा फलोअप जाँच गर्न जाने बिरामीले अस्पतालको ओपिडी टिकट भने काट्नुपर्ने हुन्छ।
वीर अस्पतालमा उनीसँगै फलोअप जाँच गराइरहेका डा ध्रुवप्रसाद सिंह डा भुरानीको यो सेवाबाट निकै प्रभावित छन्। भन्छन्, ‘उहाँले म जस्ता झन्डै एक सय बिरामीलाई ठूलो सहयोग गर्नुभएको छ। उहाँको यो मनकारी सेवाका कारण हामीलाई निकै सहज भएको छ।’
‘नेपालमा आएर बिरामी जाँच्न पाउँदा आनन्द लाग्छ’
राजीव गान्धीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ३० देखि ३५ प्रतिशत नेपाली रहेको डा भुरानीले जानकारी दिए। डा भुरानीले राजीव गान्धीमा सेवा दिन सुरु गरेको सन् २००७ देखि हो। त्यसयता उनले अस्पतालमा धेरै नेपालीको उपचार गरेका छन्।
नेपाली बिरामीले डाक्टरलाई गर्ने व्यवहार र मायाले आफूलाई नेपाल आएर सेवा गर्न तानेको बताउँछन् उनी।
‘अस्पतालमा उपचार गर्न आउने नेपाली बिरामीको माया र उहाँहरुले उपचारपछि गर्ने व्यवहार मलाई निकै मन पर्छ,’ उनले भने, ‘झन् अहिले नेपालमा आएर फलोअप जाँच गरेपछि उनीहरुले गर्ने सम्मानले मनमा छुट्टै आनन्द आउँछ, सन्तुष्टि मिल्छ।’
पछिल्लो समय डाक्टरहरु पैसामुखी भएको आरोप लागिरहेको छ नि भन्ने प्रश्नमा डा भुरानी भन्छन्, ‘पैसाभन्दा पनि महत्वपूर्ण सन्तुष्टि र खुसी हो। मेरो परिवार पाल्न र खुसी राख्न राजीव गान्धीले पुग्नेगरी तलब तथा सुविधा दिएको छ।’
नेपाली बिरामीको अनुहारमा देखिने खुसीले मिल्ने सन्तुष्टि कहीँ पनि नपाइने बताउँछन् उनी।
नेपालले क्यान्सर उपचारको क्षेत्रमा प्रगति गर्दै गएकोमा खुसी व्यक्त गर्दै डा भुरानीले यहाँको सेवाको विस्तार र विकासमा समेत सहयोग गर्न तयार रहेको बताए।