हान्टाभाइरस विशेषगरी मुसाबाट सर्ने भाइरस हो। यो भाइरस मुसाको दिसा, पिसाब, र्याल आदिबाट मानिसमा सर्छ। भारतमा केही वर्षयता हान्टाभाइरस देखिँदै आएको छ। केही दिन अगाडि मात्र पनि एक प्रसिद्ध भारतीय पत्रिकाले एक जना बालिकाको मृत्यु हान्टाभाइरस 'पुल्मोनरी सिन्ड्रोम' को कारणले भएको हुनसक्ने भनेर अस्पतालको भनाइलाई उधृत गर्दै लेखेको थियो।
यो भाइरसले आक्रमण गरेपछि सुरुमा फ्लु जस्तो लक्षण देखिने र पछि गएर फोक्सोको कडा संक्रमण हुँदै बिरामीको मृत्यु समेत हुने गर्छ। यसको मृत्यु दर ३८ प्रतिशतसम्म हुने देखिएकोले यसलाई गम्भीर संक्रमण रोगको रुपमा लिन सकिन्छ। हान्टाभाइरसलाई सामान्यतया: दुई समूहमा विभाजित गरिएको छ, जसमा हान्टाभाइरस 'पुल्मोनरी सिन्ड्रोम' र 'हेमोरेजिक विथ रेनल सिन्ड्रोम' पर्छ। यी दुवैका बारेमा भारतमा केस रिपोर्टहरु भइसकेका छन्।
हालै अमेरिकी सिडिसीबाट प्रकाशित हुने विश्वविख्यात मेडिकल जर्नलमा एक विदेशी नेपाल भ्रमण गरेर उसको देश फर्किएपछि हान्टा भाइरस 'पुल्मोनरी सिन्ड्रोम' प्रमाणित गरिएको कुरा प्रकाशित भएको छ। नेपालमा यो भाइरस मानिसमा लक्षणको आधारमा शंका गर्न सक्ने ठाउँ प्रशस्त हुने गरिए तापनि प्रयोगशाला प्रमाणित हुने गरेको देखिँदैन।
नेपालमा जताततै मुसाको संख्या अत्यधिक हुने भएकोले हान्टा भाइरस नहोला भन्ने ठाउँ पनि छैन। सो संक्रमित विदेशीले पनि आफू नेपाल बसाइको क्रममा आफू बस्ने ठाउँमा मुसा अत्यधिक देखिएको कुरा उल्लेख गरेका छन्। सुरुमा सो बिरामीलाई सामान्य रुपमा उपचार गरी घर पठाइए पनि पछि छातीमा कडा संक्रमण भई सघन उपचार गर्नु परेको थियो र सोही सिलसिलामा प्रयोगशाला जाँच गर्दा हान्टाभाइरस 'पुल्मोनरी सिन्ड्रोम' भएको प्रमाणित भएको थियो।
हान्टाभाइरस 'पुल्मोनरी सिन्ड्रोम' कडा र श्वास-प्रश्वासमा अवरोध ल्याउने प्राणघातक रोग मानिन्छ। यो सामान्यतया: संक्रमित मुसाको दिसा, पिसाब वा र्याल छोई त्यही हात नाक, मुखमा लगे यो रोग सर्ने गर्छ। संक्रमित मुसाले टोक्दा पनि सर्न सक्छ। तर यो तरिका भने दुर्लभ मानिन्छ। संक्रमित मुसाको दिसा, पिसाब वा र्यारलमा परेको खानेकुरा खाँदा पनि सर्न सक्ने हुन्छ। त्यस्तै हान्टा भाइरस संक्रमित मुसाको दिसा, पिसाब वा र्याल सुक्ने क्रममा वाष्पीकरण हुँदा भाइरस हावामा फैलने र श्वास लिँदा शरीरमा प्रवेश गर्ने र यो रोग सर्ने गर्दछ। तसर्थ सर-सफाइमा काम गर्नेहरु यसको विशेष जोखिममा पर्ने गर्दछन्।
संक्रमण भएको एकदेखि आठ हप्तामा यसका लक्षणहरु देखिन सुरु हुन्छ। सुरुमा उच्च ज्वरो आउने, शरीर थकित हुने, शरीरका मांसपेसी दुख्ने, पेट दुख्ने, टाउको दुख्ने, काम्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, चक्कर लाग्ने आदि हुने गर्छ। धेरै बिरामी लक्षणमा आधारित उपचार गरेर घर फर्किने गर्दछन्, तर यसको चारदेखि दस दिनमा फेरि लक्षणहरु देखिन वा फर्कन सक्छ। यो पहिलो चरणभन्दा कडा हुने गर्छ। पछिल्लो चरणमा अत्यधिक खोकी लाग्ने र श्वास-प्रश्वासमा कडा अवरोध आउने गर्छ र छाती बेस्सरी कस्सिएको महसुस हुने गर्छ। यसको निदान भने प्रयोगशाला परीक्षणपछि मात्र गर्न सकिने छ।
सन् २०१५ मा प्रकाशित एक अनुसन्धानले काठमाडौँमा ज्वरोका बिरामीमा रगत जाँच गर्दा १.६ प्रतिशतमा हान्टा भाइरस इन्फेक्सन भएको देखाएको थियो तर त्यो 'हेमोरेजिक विथ रेनल सिन्ड्रोम' गराउने हान्टा भाइरस थियो। यो हान्टाभाइरस विशेषगरी युरोप र एसियामा नै देखिने गर्छ। तर हालै नेपाल भ्रमण गरेका विदेशीमा देखिएको भने 'पुल्मोनरी सिन्ड्रोम' हो, जुन दक्षिण अमेरिकी देशहरुमा बढी देखिने गर्छ।
नेपालमा हान्टाभाइरसका बारेमा खासै कतै खोजिनीति गरेको, चासो लिएको वा जाँचको लागि नियमित पठाउने गरेको भने पाईंदैन। अहिले पनि बर्सेनी ठूलो संख्याका ज्वरोका बिरामीमा कुन संक्रमणको कारणले हुने गर्छ भनेर थाहा हुँदैन।
अझ नेपालमा निमोनियाको कारणले बर्सेनी हजारौं बिरामी अस्पताल भर्ना हुने वा आइसीयुसम्म पुग्ने गरेको पाइन्छ, जसमा अधिकांशको कारण भने थाहा नहुने वा चासो दिने गरेको पाईंदैन। गाउँ होस् वा सहर, नेपालमा मुसा जहाँ त्यहीँ देखिने हुँदा ज्वरोका बिरामी र उपचार गर्ने चिकित्सकले हान्टाभाइरस संक्रमणको बारेमा पनि सोच्ने बेला आएको छ। तर योभन्दा पहिले हान्टा भाइरस पत्ता लगाउने परीक्षणको सुविधा भने सर्वसुलभ रुपमा उपलब्ध हुनु जरुरी हुन्छ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)