बुटवलमा नाम कहलिएका डाक्टर हुन् राजेन्द्रप्रसाद खनाल। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत डा खनालले गरेको उपचारमा यो क्षेत्रका बिरामीहरुले औधि विश्वास गर्छन्। घन्टौंसम्म पालो कुरेर भए पनि उनैसँग उपचार गरेर फर्किन्छन् बिरामी।
गुल्मीको पिपलधारा जुम्लादीमा जन्मिएका डा खनाल सानैदेखि पढाइमा अब्बल थिए। गुल्मीमा अक्षराम्भ गरेका खनालको बाल्यकाल तथा विद्यालय समय भने तराईमा बित्यो।
खनालका बुबा घनश्याम खनाल स–परिवार कपिलवस्तुको मोतिपुरमा बसाइँ सरेपछि उनको बाल्यकाल कपिलवस्तुमा बितेको हो। उनले स्थानीय जनज्योति माविबाट एसएलसी उत्तीर्ण गरे। एसएलसीमा प्रथम स्थान हासिल गरी उत्तीर्ण भएका खनाल उच्च शिक्षाका लागि भने काठमाडौं पुगे।
इन्डियन आर्मीबाट रिटायर्ड बुबाको छोरालाई डाक्टर बनाउने सोचअनुसार खनाललाई काठमाडौंको अमृत साइन्स कलेजमा आइएससीमा भर्ना गरिदिए। आइएससीमा प्रथम भएका खनाल एबिबिएस अध्ययनका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएसको पहिलो व्याचमा भर्ना भएका खनाल त्यहाँ पनि उत्कृष्ट नतिजा ल्याउन सफल भए। साढे ५ वर्ष प्रतिष्ठानमा अध्ययन गरेका खनालले एक वर्ष धरानस्थित प्रतिष्ठानमै काम गरे।
प्रतिष्ठानमा पढ्दै काम गर्दै गरेका खनाललाई धरान छाड्न पटक्कै मन थिएन। त्यहाँको मनमोहक र सुविधा सम्पन्न अस्पतालमा पढ्न र काम गर्न पाउँदा सर्वस्व नै त्यही ठानेका उनको जीवनमा एक्कासि परिवर्तन आयो।
लोकसेवाबाट सरकारी जागिरमा प्रवेश गर्ने र औषधि उपचारको अभावमा छट्पटाइरहेका रहेका आम नागरिकलाई सेवा गर्ने उनको इच्छा थियो, त्यो पनि विकट क्षेत्रमा। उनमा पलाएको सोचले मूर्त रुप पायो। उनी लोकसेवा उत्तीर्ण भए र चिकित्सा सेवामा ७औं तहमा सरकारी सेवामा प्रवेश पाए।
हुम्लामा ७औं तहको चिकित्सकदेखि लुम्बिनी प्रादेशिक अस्पतालको मेसुसम्म
सरकारी सेवामा प्रवेश पाएका डा खनालको पहिलो पोस्टिङ विकट मानिएको हुम्लास्थित सिमिकोट जिल्ला अस्पतालमा भयो। दुर्गममै गएर बिरामीको सेवा गर्ने उनको अठोट हुम्लामा पुगेर पूरा भयो।
१८ वर्ष अगाडि हुम्लाबाट सरकारी सेवा सुरु गरेका खनाल विभिन्न अस्पतालमा काम गर्दै अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिरहेका छन्।
हुम्लामा रहँदा उनले उपचार तथा प्रशासनिक काम दुवै एक साथ गरे। डा खनालले आफू जन्मिएको जिल्ला गुल्मीमा पनि सेवा गर्ने मौका पाए। उनी भन्छन्, ‘२०५९ सालमा गुल्मीमा पोस्टिङ भएर गएँ, जिल्लामा विशेषज्ञ डाक्टर नभएको बेला सेवा गर्ने मौका पाएकाले जिल्लाबासीलाई आफ्नो क्षमताले भ्याएसम्म सेवा गरें। जिल्लाबासी पनि निकै खुसी हुनु भयो।’
गुल्मीमा रहँदा गाँउगाँउबाट जटिल खालका बिरामी उपचारका लागि आउने गरेको उनले सुनाए। ‘कानमा केराउका दाना अड्किएकादेखि बच्चा अड्किएर रुदै, कराउँदै महिलाहरु आउने गर्थे। फ्याक्चरका बिरामी त कति हो कति,’ उनले भने, ‘सडक र सवारी साधनको अभावमा जिल्लाबाहिर पठाउन गाह्रो निकै मिहिनेत गरेर बिरामीको उपचार गर्थें।’
आफू पनि त्यही जिल्लाको भएकाले होला स्थानीयको विश्वास निकै जितेका थिए उनले। गुल्मीमा रहँदा थुपै्र अप्ठ्यारा रोगहरुको निदान गरेको उनी बताउँछन्।
हुम्ला र गुल्मीमा ३÷४ वर्ष काम गरेपछि स्नातकोत्तर (एमडी) अध्ययनका लागि उनी पुनः काठमाडौं लागे। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको एक जनाको लागि मात्र लिइएको स्नातकोत्तर प्रवेश परीक्षामा रेडियोडाइग्नोसिस विषयमा छनोट भएका डा खनालले जागिरकै क्रममा एमडी गरे।
भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पताल र जसलोक अस्पतालमा पुगेर एड्भान्स रेडियोलोजी अध्ययन गरेका खनाल त्यसपछि आठौं तहमा बढुवा भई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा रेडियोलोजी विभागमा वरिष्ठ अधिकृत भएर काम गरे। कोसी अञ्चल अस्पतालमा काम गरेपछि उनको बढुवा नवौं तहमा भयो।
बढुवा भएसँगै कन्सल्ट्यान्ट रेडियोलोजिस्टको रुपमा तत्कालीन लुम्बिनी अञ्चल अस्पतालमा सरुवा भयो। नवौं तहमा आएका लुम्बिनी अञ्चल अस्पताल आएका खनालले काम गर्दै जाँदा १०औं तहमा बढुवा भयो। त्यसको ५ वर्षपछि ११औं तहमा बढुवा भयो। ११औं तहमा बढुवा भएको दुई वर्षमा मेसुमा नियुक्त भएका छन् उनी।
कर्मचारी समायोजनमा संघमा समायोजन भएसँगै प्रदेश ५ सरकारको क्याबिनेट (मन्त्रिपरिषद्) बाट हालै प्रदेशको दोस्रो गौरवको परियोजनाको रुपमा राखिएको लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त भएका हुन्।
मेसुमा नियुक्त भएपछि उनमा जिम्मेवारी पनि बढेको छ। अहिले उनले अस्पतालको व्यवस्थापनका साथै उपचार समेत गर्दै आएका छन्। बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमै ४ वर्ष अगाडि ९ महिनासम्म निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको पदमा बसेर काम गरेको अनुभवका कारण आगामी दिनमा काम गर्न सहज हुने विश्वास उनले लिएका छन्।
नमुना अस्पताल बनाउने अठोट
मेसुमा नियुक्त भएपछि डा खनाल अस्पताललाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने अध्ययनमा लागेका छन्। उनले अस्पताललाई सबैको रोजाइमा पर्ने गरी कामको सुरुवात गर्न लागेको बताए।
‘प्रदेश सरकारको दोस्रो गौरवको आयोजनाको रुपमा अस्पताललाई राखेर सरकारले मलाई प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त गरेको हो,’ खनालले भने, ‘सरकारले दिएको जिम्मेवारीलाई पूरा गर्न म कटिवद्ध छु।’ सरकारले स्वीकृति दिएको ३ सय र अस्पताल विकास समितिको तर्फबाट १ सय गरी ४ सय बेडको स्वीकृति पाए पनि अहिले २ सय ५० बेडमा अस्पताल सञ्चालनमा रहेको छ। सुरुमा सरकार र विकास समितिले स्वीकृति लिएको ४ सय बेड पूर्ण रुपमा सञ्चालनमा ल्याउने त्यसपछि अस्पतालको गुरुयोजना बनाएर अगाडि बढ्ने सोचका साथ काम भइरहेको उनको भनाइ छ।
इमरजेन्सी सेवा र प्रसूति कक्षलाई सुधार गर्दै जाने उनले बताए। त्यसका साथै जनताको चासो र गुनासोका आधारमा सेवा सुधार गर्दै जानुका साथै दीर्घकालीन गुरुयोजना बनाएर अस्पतालको विकासमा कटिबद्ध रहने उनको भनाइ छ।
अस्पतालमा आउने अति विपन्न परिवारलाई उपचारमा निःशुल्क गर्ने, डाक्टरलाई उत्प्रेरणा प्रदान गर्ने, डाक्टरलाई १० देखि ३ बजेसम्म अस्पतालमा नियमित काम गर्ने वातावरण मिलाउने काममा आफू लागि रहेको बताए। अस्पतालमा सुधार गर्ने उद्देश्य अनुसार रेडियोलोजी विभाग बिहान ७ देखि बेलुका ७ बजेसम्म सुचारु गर्दै आएको उनले बताए।
डा खनाल ६ महिना भित्रमा अस्पतालको सेवामा चुस्तता ल्याउने बताउँछन्। ३ वर्षमा अस्पतालले स्वरुप फेर्ने उनको विश्वास छ।
‘सहरको शोभाको रुपमा रहने गरी अस्पतालको विकास गर्छौं,’ मेसु खनालले भने, ‘अस्पतालको सेवामा मात्रै होइन, सौन्दर्यमा पनि त्यत्तिकै सुधार गर्छौं।’