बालबालिकाले चकचक गर्नु सामान्य हो । तर, सामान्यभन्दा बढी चकचक गर्न थाल्यो भने उसलाई कुनै समस्या छ भन्ने बुझ्नु पर्छ । यस्तो समस्यामा बालबालिकालाई स्थिर रहन गाह्रो हुन्छ । चकचक गरी हिँडिरहनु पर्ने, जिस्कनु पर्ने, अरुको कुरामा ध्यान नजाने, रिसाउने, झगडा गर्न खोज्ने हुन्छ। बालकमा यो समस्या बालिकामा भन्दा ७–८ गुणा बढी पाइन्छ । ७ वर्षको उमेरबाट यो समस्या देखिन थाल्छ । स्कूल पढ्ने बच्चाहरु बढी चकचके हुन्छन् । घरमा परिवारको सदस्यबाट, स्कुलमा शिक्षक र साथीहरुबाट यस्ता समस्याका लक्षणहरु थाहा पाउन सकिन्छ ।
लक्षण
– एउटा काम सक्न नपाउँदै अर्को थाल्ने
– अरुको कुरा नसुन्ने
– बाहिरी वातवरणबाट छटपटी हुने
– एउटै ठाउँमा बसिरहन नसक्ने
– घरमा वा स्कुलमा एउटा ठा“उबाट अर्को ठाउँमा हिँडिरहने
– धेरै बोल्ने
– सोच्दै नसोची काम गर्ने
– पर्खेर बस्न नसक्ने आदि
यस्ता बालबालिकालाई परिवारका सदस्यबाट आउने जानकारी, स्कूलबाट लिने जानकारी तथा नजिकै गएर अवलोकन गर्दा समस्या पत्ता लगाउन सकिन्छ । यो समस्या भएका बालबालिका अन्य बालबालिका भन्दाबढी चञ्चल र चकचके हुन्छन् । अलिअलि चकचक गर्नु बालबालिकामा सामान्य नै मानिन्छ तर बालबालिकाले सामान्यभन्दा बढी चकचक ग¥यो भने उसमा समस्या छ भन्ने बुझ्नुपर्छ ।
के कारणले यो समस्या देखिन्छ?
यो समस्याको एउटै मात्र कारण छैन । बच्चा जन्मँदा लामो प्रसव पीडा, टाउकोमा सूक्ष्म रुपमा हुने चोट, रसायनको गड्बडी र घरमा हुने अस्वस्थ वातावरण कोलाहल आदि यसका कारण हुन् । धेरैजसो यस्ता समस्या भएका बालबालिकालाई वयस्क हुँदासम्म ठिक भइसक्छ । केही बालबालिकामा भने वयस्कपछि पनि रहिरहन्छ । यस्तो समस्याको उपचारका लागि एम्फेटामिन, मिथाइल फेनिडेट जस्ता औषधि प्रयोग गरिन्छ । तर, मनावैज्ञानिक उपचारको महत्व यसमा बढी छ ।
(डा सेडाईं नशा तथा मनोरोग विशेषज्ञ हुन्)